लालगोपाल सुवेदी
लालगोपाल सुवेदी (२०२७ जेठ २०, हालको हरिनास गाउँपालिका, क्याक्मी , स्याङ्गजा, सुपुत्र : मेघनाथ सुवेदी र मिठु सुवेदी) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको प्रथम रचना सरस्वती माता शीर्षकमा २०३८ सालमा रचना भएको थियो भने प्रथम प्रकाशित कविता आमाको ममता ( बालक पत्रिका , वि. सं.२०४१) हो । सुवेदी चालीसको दशकमा लेखन आरम्भ गरी पचासको दशकमा राष्ट्रिय स्तरमा स्थापित भएका कवि तथा गीतकार हुन् । बालकविताबाट लेखन आरम्भ गरेका सुवेदीले बालकविता, बालनिबन्ध, छन्द एवम् गद्य कविता, गीत, लेख, निबन्ध, व्याकरण ,सिर्जनात्मक लेखन, समीक्षा, समालोचनालगायतका विधामा कलम चलाएका छन् । उनका रचना राष्ट्रिय स्तरमा प्रकाशित हुने गोरखापत्र , मधुपर्क, युवामन्च, गरिमा, कान्तिपुर, नया पत्रिका , कविता, मिर्मिरे लगायतका पत्रिकाहरूमा फुटकर रूपमा प्रकाशित छन् । २०४५ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएपछि त्यसपछाडिका वर्षहरूमा पनि प्रायः हरेक वर्ष राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उनी पुरस्कृत बन्दै गए । कालीप्रसाद रिजाल , सरुभक्त श्रेष्ठ , दिनेश अधिकारीहरूझैँ उनी प्रज्ञा प्रतिष्ठानबाट ३ पटक पुरस्कृत भए भने अन्य डेड दर्जन जति प्रतियोगितामा कहिले गीत लेखन, कहिले छन्दकविता, कहिले गद्य कवितामा हरेक वर्षजसो पुरस्कृत भइरहे । पुरस्कारबाटै जीवन यापन गर्दै अध्ययन गर्ने उनको विद्यार्थी जीवन संघर्षशील देखिन्छ ।त्यसपछि विद्यालयमा पढाउने र विश्वविद्यालयमा पढ्ने कार्यलाई एकैसाथ अगाडि बढाउने क्रममा उनी मेरो विद्यार्थी बन्न आइपुगे र एम् . ए . नेपालीमा प्रथम श्रेणीमा प्रथम भए । त्यसवापत उनले महेन्द्र विद्यभूषण ख ( वि. सं. २०५४),लारी स्वर्ण पदक ( विं. सं.२०५४) प्राप्त गरे । राम्रो विद्यार्थी र राम्रो सर्जक पनि हुँदा उनले कविता महोत्सवमा प्रथम ( प्रज्ञा प्रतिष्ठान वि. सं.२०५६), गीत रचनामा प्रथम ( रेडियो नेपाल वि. सं २०५१),राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार २०५८), युवा वर्ष मोती पुरस्कार (वि. सं.२०५९ नेपाल सरकार) लगायत दर्जनअधिक पुरस्कार पाएका छन् । उनका डेढ दर्जन जति कृतिहरू प्रकाशित छन् फूलको देशमा (पद्य कवितासङ्ग्रह २०५७), पुतलीलाई जामा (बालकवितासङ्ग्रह २०६१), देवताजस्तै नेपाली मन्दिरजस्तै नेपाल (बालकवितासङ्ग्रह २०६१) पानी , योगमाया र इन्द्रेनी (काव्य २०७१), सबाल्टर्न पात (काव्य २०७२), अग्नि आतङ्क ( पद्य कवितासङ्ग्रह २०७२), छायालाई माया नगर्नुहोस् ( गद्य कवितासङ्ग्रह २०७२) फूलका दुःख (गीतसङ्ग्रह २०७२), भूगोलभन्दा माथि (गीतसङ्ग्रह २०७२), रोटीको दन्त्यकथा (२०७६) जस्ता सिर्जनात्मक कृतिहरू प्रकाशित छन् । यी सिर्जनात्मक कृतिहरू सम्बन्धित विधाका इतिहासमा उल्लेख्य छन् । उनका पाठ्यपुस्तक र समीक्षाका कृतिहरूको संख्या पनि त्यत्तिकै उल्लेख्य छ । उनका त्यस्ता कृतिहरूमा नेपाली कविताको सिद्धान्त र विकासक्रम (२०५७), निबन्ध र अभिव्यक्तिकला (२०६१), केही निबन्ध केही अभिव्यक्ति (२०६१), नानीका निबन्ध र चिठी (२०६१), नेपाली बोधमाला भाग १(२०६१),नेपाली बोधमाला भाग २ (२०६१), नेपाली बोधमाला भाग ३ (२०६१), नेपाली व्याकरण र अभिव्यक्ति (२०६४) पर्दछन् । निबन्ध, व्याकरण, समालोचना र समीक्षामा समेत कलम चलाए पनिसुवेदी मूलतः कवि तथा गीतकार नै हुन् । सानै उमेरदेखि बालकवितामा कलम चलाउँदै आएका उनका बालरचना बालक, कोपिला, मुना, साथी लगायतका पत्रिकामा प्रकाशित भएको पाइन्छ । उनले २०५० सालतिर आइपुग्दा पद्य कविता ,गद्य कविता, गीत रचनामा निकै परिपक्वता हासिल गरेको देखिन्छ । ६० को दशक वरिपरि उनी निबन्ध , सिर्जनात्मक लेखन र व्याकरणकेन्द्रित लेखन तथा प्रकाशनमा बढी सक्रिय भएको पाइन्छ । कवि सुवेदी वि. सं २०६६ मा अमेरिकातिर लागे पनि कविता तथा गीत लेखनमा झन् बढी सक्रिय बनेको पाइन्छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को विभिन्न पदमा रही सक्रिय बन्दै आएका उनले गद्य, पद्य र गीति रचनाका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशनमा ल्याएका छन् । -सम्पा.
बालककालमा पढेका गीत तथा कविताहरूमा माधव घिमिरेका गीत तथा कविता नै सबैभन्दा बढी कण्ठ छन् मलाई । मेरा कविता तथा गीतका प्रशंसकहरूका अनुसार म माधव घिमिरेसँग निकटवर्ती छु रे । जब म आफ्ना कविता तथा गीतहरू पढ्छु मलाई पनि त्यस्तै लाग्छ । हो ,मलाई भाषिक सरलता मन पर्छ । मलाई पद लालित्य मन पर्छ । मलाई शाब्दिक कोमलता मन पर्छ । कसरी भावकहरूको हृदय स्पर्श गर्न सकिन्छ भन्ने कुरालाई नै म पनि अत्यन्त महत्व दिने गर्छु ।
आफू पहाड़ी परिवेशमा जन्मे हुर्केकाले मलाई पनि पहाडी प्रकृति आकर्षक लाग्छ । मैले आफूले जीवनमा जे देखेँ , भोगेँ, पढेँ तिनै कुरालाई नै विषय बनाएर आजपर्यन्त कविता तथा गीत लेखिरहेछु ।मेरा यी विशेषता नै घिमिरेका पनि विशेषता हुन् । म अमेरिका आउनुपूर्वका मेरा धेरै कविता देशप्रेमसँग सम्बन्धित रहेछन् । जानी वा नजानी मेरो अचेतन मनले घिमिरेलाई नै बढी मात्रामा पछ्याएको रहेछ । गुरुहरू भन्ने गर्नुहुन्थ्यो माधव घिमिरेका जस्तै राम्रा कविता लेख्यौ भने तिमीले कविता प्रतियोगिताहरूमा पुरस्कार जित्छौ । यसैले मैले पनि मिहिनेत गरेर कविताहरू लेख्न थालेँ ।
माधव घिमिरे सय हरफ लेखेर त्यसलाई दश हरफमा ओराल्दा रहेछन् । म भने एउटै कविता तयार पार्न धेरै समय लगाउने गर्छु ।यो मेरो सानैदेखिको बानी हो । यसरी आफैलाई मन परेपछि मात्रै त्यसलाई कविताको रूपमा बाहिर ल्याउने बानीले गर्दा मलाई धेरै फाइदा पनि भयो । माधव घिमिरे पनि आफूलाई मन नपरेसम्म रचना सार्वजनिक गर्दारहेनछन् । मभन्दा पनि धेरै प्रतिभाशाली कविहरू जसले दर्जनौँ कृति गरेका थिए तिनलाई पनि उछिन्दै पुरस्कारहरू जित्न सक्नुको रहस्य पनि यही रहेछ –संख्यात्मकताई नभएर गुणात्मकताई महत्त्व दिनु ।
म मात्र हैन माधव घिमिरे पथमा हिँड्ने कविहरू धेरै छन् । यदि विद्यार्थी कालमा नै मैले गौरी पढेको भए म पनि करुण भाव उमार्ने गतिलै कवि बन्ने थिएँ कि भन्ने लाग्छ आज । म सुरुमा कमर्शको विद्यार्थी थिएँ, पछि मात्रै नेपाली साहित्यको विद्यार्थी हुन पुगेँ । यसैले माधव घिमेरेका पुस्तकाकार कृति पछिल्लो चरणमा पढेँ मैले । कोर्समा राखिएका रचना करैले पढेँ , रचनाहरूले छुन थालेपछि रहरले पढेँ ।
हुन त सय वर्षको उमेरमा घिमिरेका रचनाहरूको संख्या थोरै हो । तिनै रचनाहरूको गुणात्मक पक्ष केलाउने हो भने धेरै हो । जति लेखिन्छ ती सबै गुणात्मक हुनुपर्छ भन्ने मान्यता राख्छन् घिमिरे ।घिमिरे पथमा हिडेकैले मैले पनि सानोतिनो परिचय बनाउन सफल भएको हुँ भन्ने लाग्छ –काव्यगुणहरूको समानताहरूका आधारमा । मेरो अचेतन मनमा घिमिरे विनानिम्तोका पटक पटकका पाहुना भएछन् । यदि मन छुनकै लागि काव्यकर्म गर्ने हो भने सरल र हृदयस्पर्शी कविता हाम्रो ध्येय हुनुपर्दोरहेछ । इमान्दारितापूर्वक भन्नुपर्दा मेरा कविताहरूको विश्वविद्यालय नै हुन् घिमिरे । मेरो अचेतनले बनाएको श्रद्धेय काव्यगुरू त घिमिरे नै हुन् ।