मणि नेपाली पनेरु
क्यालिफोर्निया, युएसए
क्यालिफोर्निया, युएसए
मणि नेपाली पनेरु ( सन् १९६३ जुन ६ गोरखा , सौरपानी, भुवाने, सुपुत्रः गंगाधर पनेरु र डिलकुमारी पनेरु) साहित्य र समाजसेवामा सक्रिय प्रतिभा हुन् । उनी अहिले सान्सफ्रान्सिसकोको वे एरिया अमेरिकामा बसोबास गर्छन् । सानैमा माता पिताको काखबाट बन्चित भएर बाल्यकाल संघर्षमय रूपमा बिताए पनि उनले आफूलाई बुझ्ने जान्ने भएपछि आफू , परिवार र समाजका विविध पक्ष विकास गर्न सके । त्रिभुवन विश्वविद्यालयबाट एम. ए. एम. एड पनेरुले नेपालको २०४६ को परिवर्तनमा देवकोटाको पहाडी पुकार काव्य प्रकाशन गरेर व्यापक प्रचार गरेका थिए । बाल्यकालदेखि नै पनेरुमा साहित्यिक एवम् कलाप्रति रुचि थियो । उनी बुढानिलकण्ठ स्कुलमा रहँदा, त्यहाँको पहिलो पत्रिका रश्मीको प्रधान सम्पादक तथा नाट्य समूहको सभापति थिए । उनले सन् १९७६ मा पहिलो एकल चित्रकला प्रदर्शन गरी नेपालको पहिलो एकल प्रदर्शन गर्ने बाल कलाकारको श्रेय पनि प्राप्त गरेका थिए । उनको सम्पादनमा प्राञ्जल नामक साहित्यिक पत्रिका पनि निस्किएको थियो । उनी गोरखामा स्थापित पृथ्वी साँस्कृतिक परिवारको सहसंस्थापक, नेपाल सुकुम्वासी बेरोजगार समाजको महासचिव तथा उन्नतिशील नेपाली समाजको संस्थापक अध्यक्षको हैसियतले नेपाली समाजमा बहुमुखी सेवा गरेका छन् । उनले विभिन्न सन्दर्भमा विभिन्न देशको भ्रमण गरेका छन् । उनी अमेरिका पुगेदेखि नै हेल्पिङ ह्यान्ड अफ द हिमालयज नामक संस्थाको सचिवको हैसियतले सेवा पुर्याउँदै आएका छन् । उनी लायन्स क्लबसँग पनि सम्बन्धित छन् । उनी नेपाल विश्व सहयोग संघको संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्षको रूपमा परिचित छन् । उनी पटक पटक एन. आर. एन. एको नेतृत्वमा पनि रहिसकेका छन् । साहित्यतर्फ उनको गहिरो रुचि छ । उनको GOD WIFE उपन्यास प्रकाशित छ भने कविता कथा र लेख रचनाहरूविभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । उनी चित्रकार पनि हुन् । साहित्य सागर.नेट सञ्चार माध्यमका संस्थापक पनेरु साहित्यकारहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रतिभा हुन् । -सम्पा.
मलाई मेरो आफ्नै जीवन एक रोचक उपन्यासझैँ लाग्छ । बाउन्न हन्डर, त्रिपन्न ठक्कर खाँदै सङ्घर्षमय जीवन जिउँदै आएको छु, अनगिन्ती उतार चढाव भोगेको छु, कहिले प्रसान्त महासगारको मरियाना खाइमा त कहिले सगरमाथाको चुचुरोमा । आज दुःखका कुरा नगरौँ । मेरो आत्मकथात्मक उपन्यास गड वाईफ पढ्नेहरूले बुझेका छन् । जस्मा मेरो दुःखसुखको यथार्थ वर्णन गरिएको छ ।
प्रसङ्ग त्यो महान दिनको स्मरण हो, जब म सगरमाथाको चुचुरोमा पुगेको–पुगेको थिएँ जस्ले मेरा अनगिन्ती असफलता हुँदाहुँदै पनि मेरो जीवन सार्थक बनाएको अनुभव गराउँछ । हो, म राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग सगरमाथाको चुचुरोमा पुगेको थिएँ त्यो दिन । यो मिति २०५२ कार्तिक १४ गतेको कुरो हो ।
चितवनको रत्ननगरमा उन्नतिशील नेपाली समाजको आयोजनामा प्रथम राष्ट्रउद्घोष दिवसको सुअवसरमा मलाई यो अभूतपूर्व संयोग मिलेको थियो । जुन मेरो जीवनमा सर्वाधिक सफल र खुसीका क्षणमध्ये एक रहेको छ । प्रिय मित्रहरू डा.रामप्रसाद ज्ञवाली, डा.लक्ष्मी पाठक, साहित्यकार छायादत्त न्यौपाने, रामजी पौडेल, रघुनाथ अधिकारीलगायतको संयुक्तप्रयासमा स्थापित यो उन्नतीशील नेपाली समाज नामक संस्थाको मूल उद्देश्य,राष्ट्रियताको संरक्षण र संबद्र्धन गर्नु रहेको थियो ।
अङ्ग्रजहरूको आक्रमणपूर्व विशाल नेपाललाई सम्झाउने एङ्लो–नेपाल युद्दको सुरु भएको दिनलाई स्मरण गर्दै राष्ट्र उद्घोष दिवस मनाइएको थियो । सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रमुखअतिथि हुनुहुन्थ्यो । डा.जयराज आचार्य, विशिष्ट अतिथि हुनुहुन्थ्यो । नेपालका, राष्ट्रिय विभूतिहरू, वीर पुर्खाहरू तथा सहिदहरूका ठुलाठुला तस्विरहरू, राष्ट्रियताका भावना जगाउने खाले प्लेकार्डहरू, बिभिन्न जनजातिका झाँकी र बाजागाजासहित नगर परिक्रमा गरिएको थियो । त्यस दिन चितवनको नेपाल माध्यमिक विध्यालयको प्राङ्गणमा अत्यन्त भावनात्मक र उच्चस्तरीय सभा भएको थियो । संस्थाको संस्थापक अध्यक्षको हैसियतले मैले सो गरिमामय सभाको सभापतित्त्व गरेको थिएँ । सो अवसर आफैँमा एक सुनौलो स्मरण बनेर रहेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग दिनभरिजसो अन्तरक्रिया गर्ने मौका मिलेको थियो । जति जति म उहाँसँग कुरा गर्थेँ, त्यति नै म उहाँसँग प्रभावित हुन्थेँ, प्रेरित हुन्थेँ । म र मेरा साथीहरूले राष्ट्रियताको बिषयमा गरेका प्रयासहरूलाई उहाँले मुक्तकण्ठले प्रसंशा गर्दा म हर्षविभोर भएको थिएँ । कार्यक्रम अवधिमा हामीले गरेका सांस्कृतिक कार्यक्रमहरूमा उहाँले रचना गरेका धेरै गीतहरू बजेका थिए ।
प्रमुखअतिथिका रूपमा कविवरको धाराप्रवाह भाषण सुन्नलायक थियो । उहाँले वीचवीचमा कविताहरू पनि भन्दै कहिले हँसाउँदै यति मिठो बोल्नुभयो कि सयौँ व्यक्तिहरूको सभा शान्त भएर बसेको थियो । कुरा बुझ्नेले पनि नबुझ्नेले पनि उहाँलाई सुनिरहेका थिए । उहाँले भन्नुभयो राष्ट्रियता भनेको देशको आत्मा हो । यो कुनै अमूर्त चीज होइन । राष्ट्रियता भनेको सिङ्गो देशहो, मेचीदेखि महाकाली हो, हिमाल हो, पहाड हो तराई हो । यहाँ रहने हरेक जात जाति भाषाभाषी, नेपाली राष्ट्रियताका महत्त्वपूर्ण अवयवहरू हुन् । तपाईंहरूले वीर पूर्खाहरूलाई ब्युँताउनुभएको छ, हाम्रा पूर्खाहरूको स्मरणले मात्र पनि हामीलाई नयाँ उत्साह भरिदिन्छ । नयाँ जोस, जाँगर भरिदिन्छ । आज झाँकीमा प्रस्तुत सबै साँस्कृतिक पक्षहरू हाम्रा राष्ट्रियता हुन्, यहाँका हरेक व्यक्ति राष्ट्रियता हो र हरेक प्राकृतिक तत्त्वहरू, हावापानी सबैराष्ट्रियता हो । ती भनाइबाट म राष्ट्रकविसँग यति प्रभावित छु कि आज पनि मेरा रोम रोम बिउँझन्छन् ।
सम्झँदा घिमिरेको सिङ्गो जीवन एउटा राष्ट्रियताको खानीझैँ लाग्छ । उहाँका प्रत्येक बोलीमा, भावनामा र रचनामा राष्ट्रियता झल्केको हुन्थ्यो । त्यसैले नै लाग्छ ती अभिव्यक्ति र चिन्तनले नै उहाँ राष्ट्रकवि हुनुहुन्छ । सदा अजर अमर राष्ट्रकवि नै रहनुहुन्छ । उहाँको सम्मानमा साहित्य सागरको यो घिमिरे विषेषाङ्क उहाँलाई सादर समर्पित गर्दछु ।