ईश्वरी भट्ट
न्यू ह्यामसायर, अमेरिका
मनभरिका शब्द सुमन तिमीलाई
तनभरिका स्नेह र स्मृति तिमीलाई
आऊ फेरि आऊ जन्म फेरि जन्म
फेरि पनि स्वागत छ यहाँ तिमीलाई ।
मनमुग्ध भाव र भाकाहरू कस्ले सिर्जन्छ
नेपालीका कानभरि मन्त्रमुग्ध कस्ले पार्छ
आऊ फेरि पनि आऊ यो सागरमा
सबलाई तिम्रा अझओजस्वी सास्वत रचना सुनाऊ ।
जे दियौ त्यतिले मात्र नभई अझै
रसास्वादन चाहन्छन् नेपाली
अब फेरि अर्को गौरी सजाऊ तिम्रो मिठासमा
जलचर, थलचर सबै नाच्नेछन् गाउँने छन्
फेरि पनि नेपाल र नेपाली उस्तै रमाउने छन् ।
आऊ माधव आऊ काव्यै काव्यले सजाऊ
गीतैगीतले सजाऊ सिङ्गो धर्ती नाचोस्
हाम्रो सान विश्वमा अझै बेजोड बनोस्
नेपाली मन मस्तिष्क विश्वले चाखोस् ।
आऊ फर्क फेरि फर्क तिमी आउनुपर्छ
तिम्रो स्वागत मनैबाट तिम्रै सुवासले गर्छ
जन्मेपछि थाहा छ मर्नुपर्छ त्योत के
फेरि आएपछि पो अझ मान बढ्छ ।
आऊ नबिर्सी आऊ यो बुध्दको देशमा
सगरमाथाको देशमा देवगणको भेषमा
सुटुक्क आऊ हिजोजस्तै कृति कमाऊ
बरु नाम फेरेरै भने पनि आऊ यहीँ रमाऊ ।
हे राष्ट्रकवि हे युगकवि धर्तीमाझ आऊ
सुकेको छैन भागीरथाको कलम यो फेरि समाऊ
हिजोभन्दा अझै राष्ट्रभक्तिको धुन घन्काऊ
स्वर्गभन्दा मर्तेलोकमै रमाऊ फेरि आऊ ।