झरीमा गर्मीमा शरदपछि हेमन्त ऋतुमा
म फक्रेका देख्थेँ कवि र कविता नै प्रकृतिमा
कतै गाएँ नाचेँ मन बहकिँदा लोकलयमा
बन्यो छाती चौडा प्रखर कविताका विषयमा ।
अहो ! त्यो चौतारी घर कि वरछाया नबुझिने
पुगे जस्तो लाग्ने अझ पर कता हो नपुगिने
कि हो छाया मात्रै अनुपम तिलस्मी क्षितिजको
कि हो माया मात्रै अविजित कला राष्ट्रकविको !
छ हात्ती लस्केको अथक तर यात्रा अविरल
म घोडा दौडेको सडकतिर जात्रा प्रतिपल
तमासे हाँसेका कवि र कविताका प्रकरण
सुनेझैँ देखेझैँ वरण रण या रम्य रणन !
ल जाऊँ गोरेटा कति कति खने राष्ट्रकविले
लजाऊँ स्रष्टा हो उपर पर नेटोतिर पुगे
नथाकेका वेला मृग मरिच देखिन्छ कि भनी
त्यही द्यौरालीमा कवि कलम भेटिन्छ कि भनी ।
अहो ! भद्रं कर्णे शतक शृणुताम् भन्नु कसरी !
छ इच्छा त्यस्तै नै तर म बिचरो सुन्नु कसरी !
नलेखी के गर्ने कटु अकविता लेख्नु कसरी !
अँधेरोमा मैले विपुल सविता देख्नु कसरी !
टिपौँ हामी नौला ललित जनबोली अलिकता
गरौँ साथी बान्की वरण रस सौन्दर्य कविता
बिहानीको सन्ध्यासँग पनि कुनै विस्मय छ र ?
त्यहीँ पुग्दा लाग्छन् रवि कि चँदुवा मेघउपर !
काठमाडौँ
राष्ट्रकवि
ठाकुर शर्मा भण्डारी
साहित्य–ता–रा–जन–भावना हौ
यो राष्ट्रमा उज्ज्वल साधना थ्यौ
हिमालजस्तो गरिमा उचाइ
झर्ना झरेभैmँ कविता चलाइ ।१।
साहित्य पायौँ रसपूर्णताको
जीवन्तता थ्यो भव–भावनाको
यो दिव्य आलोक स्वराष्ट्र–गान
पाई रमायौँ कविता विधान ।२।
आलोक छर्ने कवि सूर्यजस्तै
आनन्दको रश्मि छ चन्द्रजस्तै
कवीन्द्रको अन्तर भाव रास
आशा भरोसा कवि–ता–प्रकाश ।३।
साहित्यमा देख्दछु ‘घामपानी’
रम्थ्यौ सदा बालक–धर्म जानी
सौन्दर्य नेपाल बुझेर लेख्यौ
काव्यात्मको ज्योति समग्र पोख्यौ ।४।
‘राजेश्वरी’ सुन्दर साधना हुन्
‘गौरी’ सबैकी मन–भावना हुन्
जहाँ छ खुल्ने करुणानुभूति
काव्यात्मका माधव धन्य मूर्ति ।५।
अस्तित्वको खातिर लड्न सक्ने
अन्तर्यको गान गरेर हिँड्ने
यो राष्ट्रको वैभवमा रमायौ
आनन्दको नन्दन राग ल्यायौ ।६।
स्वतन्त्र काव्यामृतमा विशिष्ट
सम्मानको मान गुथ्यौ विचित्र
काव्यत्ममा भो गहिरो कुदाइ
हृत्केन्द्रमा बस्न सक्यौ सजाई ।७।
मुस्कान मिल्थ्यो मनमा सजाएँ
यो लेखनीमा शुभभाव ल्याएँ
अनन्त आस्था छरिँदा पवित्र
सुशान्त यात्रातिर भो सुचित्र ।८।
आस्था छ आनन्द गुरुत्व–आस्था
विस्तार छन् दृष्टि विचार आस्था
अनन्त आस्था छ अनन्त भाव
अनन्ततामा मिलूँ साथसाथ ।९।
अनेकमा एक स्वराभिधान
सर्वत्र पायौ परिपूर्ण मान
जीवन्त आस्था कविता विधान
श्रद्धा बिसाएँ कवि पूर्णतामा ।१०।
२०७७ असोज ४