माधव घिमिर (जीवनकालः १९७६–२०७७) नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधाराका प्रयोक्ता कविका रूपमा चिनिन्छन् । उनका अन्य कृतिहरूमा झैँ बाल कविताहरूमा पनि स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छ । स्वच्छन्दतावाद अंग्रेजी साहित्यमा सत्रौं शताब्दीमा सर्वप्रथम जर्मनमा भित्रिएको थियो भने नेपाली साहित्यमा चाहिँ शास्त्रीयतावादी र परिष्कारवादी धारापछि वि.सं. १९९१ देखि कवितामार्फत यो धारा प्रयोगमा आएको देखिन्छ । १९९१ सालदेखि २०१६ सालसम्म नेपाली कविताको केन्द्रीय धाराको रूपमा यस धाराले प्रतिष्ठा प्राप्त गर्यो र यस धाराका अग्रणी व्यक्तित्वको रूपमा लक्ष्मीप्रसाद देवकोटापछि माधव घिमिरेलाई लिन सकिन्छ ।
माधव घिमिरेका बालकविताहरूमा स्वच्छन्दतावादी धाराका मूलभूत प्रवृत्ति भित्रपर्ने आत्मपरकता वा वैयक्तिक भावाभिव्यक्तिको प्रयोग पाइन्छ । उनका बालकविताहरूलाई हेर्दातिनमा वस्तुताका सट्टा आत्मपरकताको वा वैयक्तिक भावाभिव्यक्तिको पद्धतिको प्रयोग गरिएको स्वच्छन्दतावादी रमणीयता पाइन्छ । उनले जुन विषय वा भावलाई बालक समक्ष सम्प्रेषित गर्नु छ त्यसको वस्तुपरक चित्रण नगरी सो वस्तुगत विषयका सम्बन्धमा आफ्ना मनमा पैदा हुने खालका रमाइला कल्पनाको चित्रण गरेको पाइन्छ र त्यो आत्मपरक अनुभूतिको अभिव्यक्ति जस्तो हुन पुगेको छ त्यसैले स्वच्छन्दतावादी आत्मपरक कल्पनशीलताको अभिव्यक्ति उनका बाल कविताको वैशिष्ट्य बनेको छ । जस्तैः
दिनमा र रातिमा
घाम छायाको अक्षर
लेख्छन् मेट्छन् । ईश्वर (घामपानीपृ.२ )
स्वच्छन्दतावादको अर्को महत्वपूर्ण पक्ष हो प्रकृति प्रेम ।प्रकृति प्रति मानिसले देखाउने माया ममता नै प्रकृति प्रेम हो । कवितात्मक भाषामा प्रकृतिप्रेम भन्नाले प्रकृतिको चित्रण भन्ने बुझिन्छ । माधव घिमिरेले आफ्ना बालकविताहरूमाप्रकृतिलाई पनि मानव सरह जीवित बनाएर प्रकृति पनि बालकसँग खेलेको, सुतेको, उठेको आदि कल्पना गरेका छन् ।घिमिरेका बाल कवितामा माटो र मुटुको सम्बन्ध पाइनु नै प्रकृतिप्रेम हो । उनका यस्ता बाल कविताहरूमा ‘घामपानी’, ‘पानी परपर’, ‘यो घर कसको आलेको ’, ‘बस बस माहुरी’, ‘हिमचुली’, ‘नदी’ (घामपानी बाल कविता सङ्ग्रह), ‘बालालहरी’, ‘बिजुली’, ‘सयपत्री’, ‘जूनकीरी’ (बाला लहरी), ‘लोरी’, ‘प्रभाती’, ‘हेर बाच्छी हाम्री’, ‘लुली लुली पाखुरी’ (सुनपंखी चरी), ‘फूलैफूलको तरेली’, ‘बाह्रमासा’, ‘केरा’ (बिजुले र बिजुला) आदि पर्दछन् । यिनमा स्वच्छन्दतावादी प्रकृति चित्रणको मोहकता पाइन्छ; जस्तैः लोरी बाल कवितालाई साक्ष्यका रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
फुलबारी भरि
सुते फुलु फुलु
झुलु नानी झुलु । (सुनपङ्खी चरी,पृ. १३)
३) मानवतावाद
स्वच्छन्दतावादको अर्को प्रबल पक्ष हो मानवतावाद । माधव घिमिरेका बाल कविताहरूमा मानवतावादको पनि प्रयोग पाइन्छ । एक मानवले अर्को मानवलाई निःस्वार्थ रूपमा गर्ने सेवालाई नै मानवता भनिन्छ । आजका मानिसमा मानवता हराउँदै गइरहेको छ । मानिसमा मानवता हराउँदै गयो भने उसमा दानवीय प्रवृत्तिको विकास हुन्छ । भोलिका कर्णधारका रूपमा रहेका बालकहरूमा मानवता नहराओस् भनेर उनले आफ्ना बालकवितामा मानवतावादको प्रयोग गरेका छन् । यस्तो मानवतावादी भावात्मक विचारको प्रयोग भएका उनका यस्ता बालकविताहरू यी हुन् – ‘भोटेसेलो’, ‘भकभके’, ‘राष्ट्रिय गीत’ (घामपानी), ‘बाल लहरी’ (बाला लहरी), ‘के पीर पर्यो बोल् बोल’, ‘बाँडीचुँडी खाने हो’, ‘लाटो साथी’, ‘सारंगीमा राइँ राइँ’, ‘पम्फा मैयाको कथा’ (बिजुले र बिजुला) । लाटो साथी कवितालाई उदाहरणका रूपमा यहाँ प्रस्तुत गरिएको छ; जस्तैः
नगिज्याओ हाइ !
छैनन् आमा पनि
यसका बाबा पनि
आँसु पुछिदिने
पीर बुझिदिने
रुन्छ चुप्प चुप्प
आँसु तप्प तप्प । (बिजुले र बिजुला, पृ. १६)
कति मीठो कुर् कुर्
किन तर्सिस् ढुकुर ! कसको डरले ?
मान्छे हान्छ मट्याङ्ग्रा, त्यसको डरले
नडरा हे ढुकुर ! मीत लाउँछु तँसित
खेल्न आइज मँसित
स्वच्छन्दतावाद यान्त्रिकता, जडता र बन्धनका विरुद्ध मुक्ति र स्वच्छन्दताको चाहनाको उपज पनि हो । माधव घिमिरेका बाल कवितामा पनि यान्त्रिकता, जडता र बन्धनका विरुद्ध मुक्ति र स्वच्छन्दताको चाहना पाइन्छ । यस्ता बाल कविताहरूमा ‘बालालहरी’, ‘ढिकी जाँताको सवाई’, ‘मै मिरीमिच्चे म्याँ म्या बु्रक’ (घामपानी), ‘बुख्याचा’ (सुनपङ्खी चरी), ‘बाँदरको वेहोर’, ‘हैन त्यस्तो के छ र ?’ (बिजुले र बिजुला) पर्दछन् । उदाहरणका रूपमा ‘बुख्याचा’ बाल कविताका केही पङ्क्तिलाई लिन सकिन्छ :
खेत मेरो हो भनी चेत चाहिँ दिएनौ
मलाई किन झुक्यायौ ? मेरो चित्त दुख्या छ । (सुनपङ्खी चरी,पृ. ३१)
प्रखर देशभक्ति एवम् राष्ट्रिय चेत भन्नाले आफ्नो देशप्रतिको अगाध माया भन्ने बुझिन्छ । प्रखर देशभक्ति एवम् राष्ट्रिय चेत पनि स्वच्छन्दतावादी धाराका मूलभूत मान्यता हुन् भने माधव घिमिरेका बाल कविताहरूमा यीसँग सम्बन्धित प्रवृतिहरू पाइन्छन् । उनले रचेका यस्ता बाल कविताहरू हुन् — ‘यो घर कसको आलेको’, ‘राष्ट्रिय गीत’ (घामपानी), ‘लहै खेली खेली’ (सुनपंखी चरी), ‘चन्द्रसूर्य झण्ड हेर फरर’, ‘त्यहाँ ज्योति बल्यो’, ‘कलाकार अरनिको’ (बिजुले र बिजुला) । ‘कलाकार अरनिको’ कविताका केही पङ्क्तिलाई उदाहरणका रूपमा लिन सकिन्छ :
मलाई जस्तै नेपाल हेर्ने त्यसलाई रहर
भुलायो मेरै कलाले मलाई कसरी फर्कूं म
बालक–कालको नेपालको माया कसरी बिर्सू म ! (बिजुले र बिजुला,पृ. ३९)
विश्वभरका मानवहरू आफ्नै भाइ भतिजा अथवा नातेदार सरह हुन् भन्ने भावनाको अभिव्यक्ति नै विश्व बन्धुत्वको भावना हो । अन्तर्राष्ट्रिय सचेतता र विश्वबोधका साथै भातृत्वप्रेम पनि स्वच्छन्दतावादी धाराका मान्यताअन्तर्गत नै पर्दछन् । माधव घिमिरेका बाल कविताहरूमा अन्तर्राष्ट्रिय सचेतता र विश्वबन्धुत्वको भावना पनि पाइन्छ । उनका यी प्रवृत्तिहरू भेटिने बाल कविताहरू हुन्— ‘चिप्ले किरो’, ‘भोटेसेलो’, ‘लहै खेली खेली’, ‘फोनमा बोल्ने म हो ?’, ‘हुलाकी हुलाकी’ आदि । उदाहरणका लागि चिप्ले किरो बाल कवितालाई लिन सकिन्छ :
घुम्न निस्केँ नौला नौला वन–खेत–फाँट
अर्कालाई घोच्नेभन्दा आफू सोच्ने सच्चा
कसैलाई घच्चा नलाई गर्नु आफ्नो रक्षा ।
स्वच्छन्दतावादी धारामा सामाजिक आर्थिक रूपान्तरणकारी क्रान्तिचेतलाई पनि जोडदार रूपमा व्यक्त गरिन्छ । माधव घिमिरेका बाल कवितामा पनि स्वच्छन्दतावादी परिवर्तनकारी क्रान्तिचेतको प्रयोग पाइन्छ । यस्ता बाल कविताहरूमा ‘नदी’, ‘हिमचुली’ (घामपानी), ‘बुख्याचा’ (सुनपंखी चरी) आदि पर्दछन् ।
ढुङ्गा र मुढा तटमा पछार्छिन्
बाढसी र पैह्रासित गड्गडाई
थर्काउँछिन् पर्वत् राजलाई । (घामपानी,पृ. २४)
प्रकृतिलाई ईश्वरीय सत्ताको रूपमा व्याख्या गर्ने स्वच्छन्दतावादी प्रवृत्ति पनि पाइन्छ । यस्ता बाल क(वितामा ‘हिमचुली’,‘घामछायाँ’आदि पर्दछन् । यसै गरी उनका बाल कवितामा स्वच्छन्दतावादी सृष्टिगत र जीवनगत रहस्यबोध पनि पाइन्छ । उनले रचेका यस्ता बाल कविताहरूका उदाहरण ‘घामपानी’, ‘सुनपंखी चरी’ आदि हुन् ।
एक अर्कालाई हेरी छक्कै परुन् सारा । (घामपानी, पृ. २०)
वास्तवमा प्रकृतिको मानवीकरण स्वच्छन्दतावादी शिल्पकौशलगत मुख्य प्रवृत्ति हो र यस दृष्टिले हेर्दा माधव घिमिरेका बाल कवितामा प्रकृतिलाई विषयवस्तु बनाएर त्यसको मानवीकरण पनि गर्ने बालोपयोगी उत्कृष्ट कौशल भेटिन्छ । उनका बालकवितामा प्रकृति स्त्री वा पुरुष र बालकको रूपमा चित्रित छन् । यसरी प्रकृतिलाई मानवीकरण गरेर लेखिएका बाल कविताहरू हुन् : ‘घामपानी’, ‘तारा’, ‘बस बस माहुरी’, ‘कमिलारानी’, ‘हिमचुली’, ‘नदी’, ‘बिजुली’, ‘सयपत्री’, ‘लोरी’, ‘प्रभाती’, ‘हाम्री बहिनी टुल्की’, ‘घामका छोराछोरी’, ‘घाम छाया’, ‘चन्द्रसूर्य झण्डा हेर फरर’, ‘बिजुले र बिजुला’ आदि ।
निष्कर्ष
स्वच्छन्दतावादी धारालाई अँगालेर परिष्कृत अनि सरल भाषाशैलीमा घिमिरेले आफ्ना बाल कविताहरूको रचना गरेका छन् । त्यसैले उनी स्वच्छन्दतावादी धाराका त्यस्ता कवि पनि हुन्, जसको शैली चाहिँ परिष्कृत र संयमित देखा पर्छ । वास्तवमा स्वच्छन्दतावादी आत्मपरक विचित्र कल्पनालाई परिष्कृत र सघन शैलीमा व्यक्त गर्ने एक कुशल स्वच्छन्दतावादी कविका रूपमा घिमिरे प्रसिद्ध छन् । उनको त्यो प्रवृत्ति बाल कविताका सृजनात्मक तहमा पनि अझ आकर्षक र मोहक रूपमा झल्किन पुगेको पाइन्छ ।यी सम्पूर्ण कुराले उनी स्वच्छन्दतावादी धाराका बाल कविताका स्रष्टा हुन् भन्ने पनि सिद्ध गर्दछन् र उनी रोचक बाल कविताका रचयिता पनि हुन् भन्ने निष्कर्ष दिन्छन् ।
घिमिरे, माधव (२०१२). घामपानी (दो.सं.), काठमाडौँ : जोरगणेश छापाखाना, माधवप्रसाद घिमिरे ।
… (२०२५). बाला–लहरी, काठमाडौं : साझा प्रकाशन ।
… (२०५३). सुनपङ्खी चरी, काठमाडौँ : एकता बुक्स डिस्ट्रिव्युटर्स ।
… (२०५८). बाललीला, भक्तपुर : पाठ्यक्रम विकास केन्द्र ।
… (२०६३). बिजुले र बिजुला, ललितपुर : साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०६५ ख). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २, काठमाडौं : साझा प्रकाशन ।