त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपाल
खण्डकाव्यकार माधव घिमिरे (१९७६–२०७७) एक सय एक वर्षको दीर्घजीवन बाँचेर आठ दशकभन्दा बढी नेपाली साहित्यको सेवा गर्ने विशिष्ट साहित्यिक प्रतिभा हुन् । यस लामो साहित्ययात्रामा उनी सदैव समयका चापहरू सुन्दै आफूलाई तदनुकूल ढालेर अगाडि बढे तर आफ्नो मूल राजमार्ग कहिल्यै त्यागेनन् । उनी नेपाली साहित्यको आधुनिक कालखण्डका विशिष्ट प्रतिनिधि कवि हुन् । उनले राणाशासनकालको उत्तरार्ध अवधि देखे, २००७ सालदेखि २०१६ सालसम्मको राणा–काँग्रेसको शासनकाल भोगे, २०१७ सालदेखि सुरु भएको ३० वर्षे पञ्चायती व्यवस्थाको सदुपयोग गरे, २०४६ सालदेखि सुरु भएको संवैधानिक राजतन्त्रको अनुभव पनि गरे, २०५२ सालदेखि १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वकाल पनि देखे र २०६३ सालपछिको सङ्घीय गणतान्त्रिक नेपालका करिब १४ वर्षहरूको अनुभव पनि गरे । यसरी उनले नेपालको राजनीतिक परिवर्तनले ल्याएका पाँचवटै कालखण्डको लामो समयचक्रमा समाहित हुँदै आफ्नो लामो साहित्ययात्रा सफलतापूर्वक सम्पन्न गरे । उनी नेपाली साहित्यका त्यस्ता प्रतिभा हुन् जसको नाममा छुट्टै युग कहिल्यै मानिएन तर उनको कवितायात्रा सुरु भएदेखि उनी बाँचुन्जेल प्रत्येक कालखण्डमा उनी सदैव अग्रणी र प्रतिनिधि कविका रूपमा सम्मानित रहिरहे ।
वि.सं.१९९२ सालमा गोरखापत्रमा प्रकाशित ज्ञानपुष्प शीर्षकको कविता कवि माधवप्रसाद घिमिरेको प्रथम प्रकाशित रचना थियो भने वि.सं. १९९४ सालमा प्रकाशित नवमञ्जरी उनको प्रथम प्रकाशित कवितासङ्ग्रह थियो । (प्रभात, (सम्पा.), २०७०, पृ.४०१) । त्यसपछि उनले निरन्तर फुटकर कविता र खण्डकाव्यात्मक प्रबन्धकाव्यहरूको लेखन गरिरहे तर पुस्तकाकार कृति भने २०१२ सालपछि मात्र प्रकाशित हँदै आएका देखिन्छन् ।कवि माधवप्रसाद घिमिरेले लोकलय र शास्त्रीय छन्दमा मात्र गीत र कविताहरू रचे । उनका केही गीतिनाटक पनि प्रकाशित छन् । शास्त्रीय छन्दका कविता र खण्डकाव्यहरू उनका प्रमुख काव्यिक उपलब्धि हुन् । नयाँ नेपाल (२०१३), गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३), धर्तीमाता (२०३०), राहुल यशोधरा (२०३५),बालकुमारी (२०४०), गौँथली र गजधम्मे (२०५७), र इन्द्रकुमारी (२०५७) गरी उनका करिब एक दर्जनखण्डकाव्यहरू प्रकाशित छन् भने उनले १९९६ सालमा कृष्णभक्ति, १९९८ सालमा जीवन सङ्गीत र१९९९ सालमा सुदामा चरित्र शीर्षकका खण्डकाव्य पनि लेखेका थिए तर ती प्रकाशित भएनन् भन्ने जानकारी पनि पाइन्छ (पोखरेल, २०३९, पृ.८२) । यसबाहेक उनकाशकुन्तला (२०३२), मालती मंगले (२०३५), विषकन्या (२०५०), देउकी (२०५०), अश्वत्थामा (२०५३) र हिमालपारि हिमालवारि (२०५४) गरी आधा दर्जन गीतिनाटक प्रकाशित छन् । कविता, खण्डकाव्य, गीत र गीतिनाटकबाहेक उनले निबन्ध र कथाहरूको सिर्जना गरेर पनि नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएको पाइन्छ ।
खण्डकाव्यकार माधव घिमिरेको कवित्व स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी रचनाशिल्पको संश्लेषणबाट उत्कृष्ट बनेको पाइन्छ । परिष्कृत शैलीमा कोमल कविता लेख्ने उनी प्रकृतिको कोखमा जन्मे, राजभक्तिको आँगनमा हुर्के, देशभक्तिको मैदानमा कुदे र वेला वेलामा जनताको जीवनतिर पनि फर्के । खासमा यथार्थलाई आदर्शतर्फ बढाउनमा, आदर्शलाई प्रगाढता दिलाउनमा र नित्यनवीन कल्पनाशील आविष्कार गर्नमा उनको कवि सक्रिय रहिआएको छ । उनको कवित्वको मूल्याङ्कन यसरी पनि गरिएको छ :
वर्गीय पीडाभन्दा व्यक्तिपीडा र व्यक्तिगुणको साधारणीकरण उनका कविताकाव्यको खास रचनाधर्मिता देखिन्छ । लालित्यपूर्ण भाषा, प्रवाहमय छन्दविधान र शास्त्रीय छन्दमा उत्तरोत्तर मधुर सङ्गीतनिर्माण उनको उच्च काव्यिक शैली रहेको छ । उनका कविताकाव्य हिन्दु संस्कृति र आदर्शवादले अनुप्राणित छन्, नेपाली लोकजीवनबाट प्रभावित छन्, प्रकृतिप्रति कृतज्ञ छन्, राष्ट्रियताको अनुरागले जीवन्त छन् र मानवीय संवेदनाले सिञ्चित छन् । रसपरिपाक उनका कविताकाव्यको सर्वोच्च प्राप्ति हो । (ज्ञवाली, २०७०, पृ.१०४)
खण्डकाव्यकार माधव घिमिरेको खण्डकाव्यकारितालाई विषय बनाएर धेरै समालोचकहरूले लेखरचना र पुस्तकाकार कृतिसमेत प्रकाशन गरेका छन् भने स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका अनेक शोधार्थीहरूले उनका सृजनामाथि शोधकार्य गर्दै आएको पाइन्छ । उच्च कवित्व, गुणात्मक रचनाधर्म र कविताकाव्यहरूको मात्रात्मक उपस्थिति पनि प्रशस्त भएकाले उनी पाठक, समालोचक र अनुसन्धाताहरूका निम्ति अध्ययनको विषय बन्दै आएका छन् ।
२.खण्डकाव्यकार घिमिरेका मुख्य प्रवृत्तिहरू
माधव घिमिरे भावप्रबल खण्डकाव्य लेख्ने सशक्त खण्डकाव्यकार हुन् । उनले विभिन्न विषयमा अनेक खण्डकाव्य लेखेका छन् भने परिष्कृत शिल्पविधानका साथ स्वच्छन्दतावादी भावधाराको कलात्मक अभिव्यक्ति दिएका छन् । थोरै शब्द र पदपदावलीमा तथा सुगठित र सङ्क्षिप्तशैलीमा लेख्नु पनि उनको विशेषता हो भने राष्ट्रियता, देशभक्ति र प्रकृतिप्रेम पनि उनका खण्डकाव्यका उल्लेखनीय पक्ष हुन् । सामाजिक तथा वैयक्तिक यथार्थलाई आध्यात्मिक चेतनाको आलोकमा अभिव्यक्त गर्नुका साथै नैतिक तथा मानवीय मूल्यका पक्षमा सन्देश दिँदै लेख्नु पनि उनको काव्यप्रवृत्ति देखिन्छ । उनका खण्डकाव्यगत मुख्य प्रवृत्तिहरूलाई तल सङ्क्षेपमा केही बुँदाहरूमा प्रस्तुत गरिएको छ ।
२.१ विषयगत विविधता
खण्डकाव्यकार माधव घिमिरेले अनेक विषयमा खण्डकाव्य लेखेका छन् । खास गरी लोकप्रसिद्ध आख्यानलाई लिएर तिनमा आफ्नो कल्पना र वैचारिकता प्रदान गरी काव्यिक सृजना गर्नु उनको विषयचयनगत रुचि देखिन्छ । राजेश्वरी खण्डकाव्यको मूल स्रोत नेवारी समुदायमा प्रचलित लोकगाथा ‘सती बिज्याय माल’को आख्यान हो । यसमा राजा रणबहादुर शाहकी जेठी रानी राजेश्वरीको कारुणिक अन्त्यसम्बन्धी लोकगाथा र इतिहासलाई विषय बनाइएको छ । इतिहासप्रसिद्ध विषयलाई लिएर लेखिएको अर्को महत्त्वपूर्ण खण्डकाव्यराष्ट्रनिर्मातापनि हो । यसमा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेपालएकीकरण अभियानलाई मुख्य विषय बनाई पृथ्वीनारायण शाह र उनका महत्त्वाकाङ्क्षी र लोभी भाइबिच भएको विचारको द्वन्द्व प्रस्तुत गरिएको छ । गौरी र पापिनी आमाउत्पाद्य वा काल्पनिक विषयमा तयार पारिएका खण्डकाव्य हुन् । पापिनी आमा खण्डकाव्यमा नेपाली समाजमा नारीप्रति देखिने विचार र व्यवहारको विभेद तथा उनीहरूले भोग्नुपरेका उपेक्षा र दुःखलाई विषय बनाई कुमारी आमाको मनस्थिति र अन्धविश्वासी नेपाली समाजमा कुमारी आमाले सहनुपर्ने अवहेलना र जटिल परिस्थितिको चित्रण गरिएको छ भने गौरीमा पत्नीशोकलाई काल्पनिक रूपमा कारुणिक भावप्रगाढताका साथ अभिव्यक्त गरिएको छ । धर्तीमाता भने वैदिक स्रोतमा आधारित खण्डकाव्य हो । यो “अथर्ववेद द्वादश काण्डअन्तर्गतको पृथ्वीसूक्तको अनुवाद हो” (आचार्य र गौतम, २०६१, पृ.१४३) । राहुल यशोधरा सिद्धार्थ गौतम र यशोधरालाई विषय बनाई तयार पारिएको खण्डकाव्य हो भने इन्द्रकुमारी पृथ्वीनारायण शाहकी जेठी रानी इन्द्रकुमारीको विरहवेदनालाई विषय बनाई तयार पारिएको इतिहासविषयक खण्डकाव्य हो । यसरी खण्डकाव्यकार घिमिरेले ऐतिहासिक, सामाजिक, पौराणिक र काल्पनिक गरी अनेक विषयमा खण्डकाव्य लेखेको देखिनाले उनको एउटा प्रवृत्ति विषयगत विविधताको अभिव्यक्ति दिनु देखिन्छ ।
२.२ स्वच्छन्दतावादी भावधारा
खण्डकाव्यकार घिमिरे भावधाराका दृष्टिले संस्कृत कवि कालीदास र बङ्गाली कवि रवीन्द्रनाथ टैगोर तथा नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित र अभिप्रेरित कवि हुन् । त्यसैले उनका खण्डकाव्यमा यी व्यक्तित्वहरूका स्वच्छन्दतावादी रचनाहरूको प्रभाव पाइन्छ । खास गरी उनले महाकवि देवकोटाबाट प्रभावित भई स्वच्छन्दतावादी भावधारामा रचना गरेका छन् । “स्वच्छन्दतावाद मूलतः एक नव्य कल्पनाशील दृष्टिकोणबाट जीवन र प्रकृतिलाई हेर्ने प्रवृत्ति हो जसले प्रायः सबै कलारूपहरूलाई प्रभावित पारेको छ” (मिश्र, सन् १९९६, पृ.२३८) । अतीतप्रति मोहित हुँदै रहस्यवादी अभिव्यक्ति दिनु, सौन्दर्यप्रति चर्को आकर्षण राख्नु, प्रकृतिलाई ज्ञानको स्रोत र समस्त जीवनको आश्रयका रूपमा ग्रहण गर्नु, जीवन र प्रकृतिको समीकरण गर्दै अभिव्यक्ति दिनु, भावुक प्रेम र रागात्मक सौन्दर्यले तानिनु, आत्मपरकता तथा हार्दिकतामा विश्वास गर्नु, आडम्बर र कृत्रिमताको विरोध गर्नु, मानवतावादी भाव व्यक्त गर्नु, भावगत तरलतामा प्रस्तुत हुनु, अभिव्यक्तिगत स्वच्छन्दताको वकालत गर्नु एवं सहज र स्वतःस्र्फूत अभिव्यञ्जना गर्नु स्वच्छन्दतावादी भावधारामा लेख्ने कविहरूको विशेषता हो । घिमिरेका सबै खण्डकाव्यमा यस्ता विशेषता पाइन्छन् । त्यसैले स्वच्छन्दतावादी भावधारामा रचना गर्नु पनि खण्डकाव्यकार घिमिरेको केन्द्रीय प्रवृत्ति देखिन्छ ।
२.३ परिष्कारधर्मी रचनाशिल्प
खण्डकाव्यकार माधव घिमिरे भावधारामा स्वच्छन्दतावादी भए पनि अभिव्यक्तिको शिल्पमा भने परिष्कारवादी प्रवृत्तिका देखिन्छन् । उनका रचनाहरू आत्मसंयमका साथ परिष्कृत भाषाशैलीमा रचिएका छन् । परिष्कारवादीहरूँआफ्नो कार्य र तद्विषयक सबै कुराहरू पूर्णतया सजग–सचेत तथा तिनमाथि बौद्धिक नियन्त्रण” (जोशी, २०५४, पृ.६)का साथ गर्छन् । प्रौढता र संयम परिष्कारवादी साहित्यलेखनका मुख्य शैली हुन् । यसमा “विशेषका सट्टा सामान्यलाई…सार्वभौमिकतालाई र व्यक्तिका सट्टा जातिलाई महत्त्व दिइएको हुन्छ; अनि यसमा कल्पना र तर्कका बीच तथा वस्तु र शिल्पका बीच समानुपातिक सामञ्जस्य कायम गरिएको हुन्छ” (श्रेष्ठ, २०५१, पृ.९२) । खण्डकाव्यकार माधव घिमिरेका सबैजसो खण्डकाव्यमा परिष्कारवादी रचनाधर्मअनुरूप नै भाषा, भाव र शैलीको परिष्कार पाइन्छ । उनी आफ्ना काव्यहरू बारम्बार परिमार्जन गर्दै, जाँची जाँची, चित्त बुझेपछि मात्र प्रकाशन गर्छन् । गौरी खण्डकाव्य २००४ सालमा लेखिएको थियो तर प्रकाशन २०१५ मात्र भयो भने पापिनी आमा२०१३ मा लेखिएको थियो तर प्रकाशन २०१७ मा मात्र भयो । उनका अन्य खण्डकाव्य पनि लेख्नासाथ छापिएनन्, परिष्कार गरेपछि मात्र छापिए । उनका कृति प्रकाशित गर्ने संस्थाको अभाव नभई उनको बारम्बार परिमार्जन र परिष्कार गरेर मात्र छाप्ने स्वभावका कारण प्रकाशनमा ढिलाइ भएको देखिन्छ । आफ्नो केन्द्रयकथ्यले भाषिक तथा काव्यिक रूपमा मौलिकता र विशिष्टता प्राप्त गरेपछि मात्र कृति प्रकाशन गर्ने प्रवृत्ति सबैजसो खण्डकाव्यका सन्दर्भमा देखिएकाले परिष्कारधर्मी रचनाशिल्प उनको अर्को केन्द्रीय काव्यप्रवृत्ति देखिन्छ ।
२.४ सङ्क्षिप्ततामा विस्तृतता (मितव्ययी अभिव्यक्तिशिल्प)
थोरै शब्दमा गम्भीर भावको अभिव्यक्ति दिनु खण्डकाव्यकार घिमिरेको अर्को काव्यप्रवृत्ति देखिन्छ । उनी थोरैभन्दा थोरै शब्द खर्च गरी कथ्यलाई पूर्ण बनाएर अभिव्यक्ति दिन्छन् । उनको कथन सूत्रात्मक र सूक्तिमय हुन्छ । आफ्नो कवितालेखनको उद्देश्य कुनै पनि विषयको कविताकाव्यलाईथोरै शब्दमा पूर्ण अभिव्यक्ति दिनु हो भन्ने कुरा ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ’ जस्ता कवितात्मक अभिव्यक्तिमा पनि उनले प्रस्तुत गरेका छन् । उनको अभिव्यक्ति ऊनको डल्लो जस्तो सानो देखिन्छ तर भाव र विचार फुकाउँदै गयो भने त्यसभित्र धेरै लम्बाइ र गहिराइ भेट्न सकिन्छ । उनका सबैजसो खण्डकाव्य आकारप्रकारका दृष्टिले साना छन् तर तिनमा अभिव्यक्तिगत पूर्णता रहेको छ । यस्तो हुनुमा उनको मितव्ययी अभिव्यक्तिशैली प्रमुख कारण रहेको छ । त्यसैले सङ्क्षिप्ततामा विस्तृतताको अभिव्यक्ति दिनु पनि खण्डकाव्यकार घिमिरेको प्रमुख काव्यप्रवृत्ति देखिन्छ ।
२.५ प्रकृतिको काव्यिक प्रयोग
खण्डकाव्यकार माधव घिमिरेले फुटकर कवितामा जस्तै खण्डकाव्यहरूमा पनि प्रकृतिको बहुआयामिक उपयोग र प्रयोग गरेका छन् । कथ्यको प्रभावकारिता र सौन्दर्यात्मक सम्प्रेषणका निम्ति उनले प्रकृतिको काव्यिक उपयोग गरेको देखिन्छ । उनले आत्मपरक तथा वस्तुपरक दुवै प्रकृतिको प्रयोग गरेको पाइन्छ भने स्वच्छन्दतावादी प्रकृतिप्रयोगको प्रवृत्तिलाई विशेष रूपमा प्रयोग गरेको देखिन्छ । इन्द्रियसंवेद्य, यथार्थपरक, दृश्यमूलक, आलङ्कारिक, मानवीकृत र बिम्बात्मक तथा प्रतीकात्मक गरी उनले अनेक स्वरूपमा प्रकृतिको चित्रण गरेका छन् । प्रकृति र मानवको अन्तर्सम्बन्धलाई देखाउँदै उनले मूलतः राष्ट्रिय (नेपालका खोलानाला, पहाडपर्वत, हिमाल, लेकबेँसी, वनपाखा, बस्ती, तालतलैया, नदनदी, फलफूल, चराचुरुङ्गी, आकाश, चन्द्रसूर्य आदि) को चित्रण)गरेका छन् । कुनै पनि खण्डकाव्य प्रकृतिको चित्रण र सादृश्यविना नरचिएको देखिनाले प्रकृतिको प्रयोग गर्नु पनि उनको केन्द्रीय काव्यप्रवृत्ति देखिन्छ ।
२.६ मानवतावादको अभिव्यक्ति
माधव घिमिरे मानवतावादी खण्डकाव्यकार हुन् । मानवता मानव हुनुको वा मनुष्य बन्न चाहिने गुणहरूको परिचायक भाव हो भने मानवतावाद मानिसका प्रकृति, प्रतिष्ठा आदर्श आदिमा विश्वास गर्दै मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारको सिद्धान्त हो (पोखरेल, त्रिपाठी र अन्य (सम्पा), २०७५, पृ.१००८) । खण्डकाव्यकार घिमिरेले यसै मान्यताअनुरूपवर्ग वा जातका आधारमा नभई मानवमात्रलाई हेर्ने दृष्टिकोणका आधारमा मानवताको वकालत गर्दै खण्डकाव्यहरू लेखेका छन् । ह्रासोन्मुख मानवीय मूल्यप्रति चिन्ता र मानवीय मूल्यको उदात्तीकरण गर्दै लेख्नु उनको विशेषता देखिन्छ । उनले खण्डकाव्यहरूमा विश्वबन्धुत्वको पक्षधरता (मान्छे मान्छे सबै एकै हुन्, जातीय वा अन्य भेदभाव उचित हुन्न भन्ने विचार) महत्त्व दिएर व्यक्त गरेका छन् । यस क्रममा मान्छेका सुखदुःखप्रतिको संवेदनशीलता एवं समानता र नैतिक मूल्यका साथ मानवमात्रको स्वतन्त्रताको खोजी गर्नु उनको रुचिको विषय बनेको पाइन्छ । उनका खण्डकाव्यहरूमा पीडित नारीका दुखानुभूतिको कारुणिक उद्घाटन पाइन्छ भने उत्पीडित नायिकाप्रतिको सहानुभूतिका माध्यमले उनी व्यथित र उत्पीडनमा परेका नारीप्रति सहानुभूति व्यक्त गर्छन् । पापिनी आमा, राजेश्वरी जस्ता खण्डकाव्यमा उनको मानवतावादी भाव उर्लेर प्रकट भएको छ । प्रायःजसो खण्डकाव्यहरूमा उनी अमानवीय प्रवृत्ति (ईष्र्या, कुण्ठा, निराशा आदि) का विरुद्ध आशावादी मानवीय प्रवृत्तिमा जोड दिँदै मानवतावादी अभिव्यक्ति दिइरहेका देखिन्छन् । त्यसैले मानवतावादको अभिव्यक्ति दिनु पनि उनको केन्द्रीय काव्यप्रवृत्ति देखिन्छ ।
२.७ राष्ट्रियता र देशभक्ति
खण्डकाव्यकार माधव घिमिरेका रचनाहरूको खास विशेषता राष्ट्रियता र नेपालको सार्वभौमिकताको पक्षमा स्वर मुखरित गर्नु पनि हो । उनका अधिकांश गीत र कवितामा पनि यो स्वर प्रखर रूपमा प्रस्तुत भएको पाइन्छ । खण्डकाव्यका कुरा गर्दा पनि उनका केही खण्डकाव्यमा देशभक्ति र राष्ट्रियताको मार्मिक अभिव्यक्ति पाइन्छ । राजेश्वरीमा जनता र देशप्रति नायिका राजेश्वरीले प्रकट गरेका भावनामा यस्तो स्वर पाइन्छ भने राष्ट्रनिर्माता खण्डकाव्यको केन्द्रीय कथ्य नै देशभक्ति र राष्ट्रिय अखण्डता देखिन्छ । अन्य खण्डकाव्यहरूमा पनि कविका रूपमा बोल्ने अवसर पाउनासाथ घिमिरेले देशभक्तिका भाव व्यक्त गरेका छन् । खास गरी सबैजसो खण्डकाव्यमा नेपालको राष्ट्रिय प्रकृतिको चित्रण उनले गरेका छन् र नेपाली राष्ट्रिय प्रकृतिको चित्रणका क्रममा उनको देशभक्ति र राष्ट्रियताको भाव मुखरित भएको देखिन्छ । उनका प्रायःजसो खण्डकाव्यमा नेपाल र नेपालीको मौलिकतामा जोड दिइएको छ, नेपाली माटोको सुगन्धको खोजी गरिएको छ, नेपाल र नेपालीप्रति सकारात्मक सोच व्यक्त गर्दै नेपालीजाति हुनुको गौरवबोध प्रकट गरिएको छ । यस क्रममा राष्ट्रिय सुरक्षाप्रति उनको गम्भीर चासो पाइन्छ भने उनी नेपाली जातीय पहिचान, राष्ट्रिय एकता र अखण्डतामा जोड दिइरहेका देखिन्छन् । उनका खण्डकाव्यहरूले एकातिर नेपालका वीर पुर्खाहरूको योगदान र आदर्शको उदात्तीकरण गरेका छन् भने अर्कातिर नेपालको सांस्कृतिक बिरासत र ऐतिहासिक गौरवको महिमागान गरेका छन् । यसै गरी देशको विकासप्रति उनको गम्भीर चासो देखिन्छ भने देशविकासका निम्ति सन्देश पनि पाइन्छ । नेपालका मौलिक संस्कृतिहरूको संरक्षण र संवद्र्धन गर्दै संस्कृति र संस्कारका नाममा देखिने दुर्बलता हटाएर संस्कृतिलाई ग्रहणीय र अनुकरणीय बनाउँदै जानुपर्नेमा जोड दिइएको पाइन्छ । यी सबै अभिव्यक्तिको केन्द्रमा नेपालप्रतिको गौरवबोध र नेपाली राष्ट्रियताप्रतिको पक्षधरता रहेका छन् । त्यसैले राष्ट्रियता र देशभक्ति पनि खण्डकाव्यकार माधव घिमिरेको उल्लेखनीय काव्यप्रवपृत्ति देखिन्छ ।
२.८ बद्ध लयात्मकता
खण्डकाव्यकार घिमिरेले सबै खण्डकाव्यहरू बद्ध लयमा लेखेका छन् । उनले आफ्ना काव्यिक तथा गीतिरचनाका निम्ति लोकलय तथा शास्त्रीय लयलाई रोजेको देखिन्छ । उनी युवक छँदै राणाकालमा नै गोपालप्रसाद रिमालले मुक्त लयका कवितालेखनको ऐतिहासिक यात्रा सुरु गरे र त्यसको प्रभावमा महाकवि देवकोटा, महानाटककार बालकृष्ण सम जस्ता रिमालका अग्रज कविसमेत परे । मुक्त लयका कवितालेखनको प्रभाव आधुनिक लयका रूपमा विस्तार भयो तर माधव घिमिरेले मुक्त लयका कवितालाई कविता स्वीकार गर्न गाह्रो माने । जीवनको अन्तिम कालखण्डमा पनि उनले गद्यकविता कविता होइन नै भनिरहे भने आफूले आजीवन बद्ध लयविधान गरी कविता लेखिरहे । उनका सबै खण्डकाव्य बद्ध लयमा र खास गरी पिङ्गलशास्त्रीय छन्दहरूमा रचिएका छन् । लोकलयमा उनले गीतिछन्द, बालोरी, झ्याउरे आदि लयको प्रयोग गरेको पाइन्छ भने शास्त्रीय छन्दहरूमा मन्दाक्रान्ता, शार्दूलविक्रीडित, उपजाति र अनुष्टुप् जस्ता छन्दहरूलाई परिष्कृत रूपमा प्रयोग गरेको देखिन्छ । पापिनी आमा, मालती मंगले, देउकी, हिमालपारि हिमालवारि (२०५४) आदिमा उनले लोकलयको र गौरी, राजेश्वरी, राष्ट्रनिर्माता आदिमा शास्त्रीय लयको प्रयोग गरेका छन् । यस अर्थमा उनी बद्ध लयका छन्दवादी कवि देखिन्छन् । शास्त्रीय छन्दका कवितालाई शास्त्रीय मानकअनुरूप सचेततापूर्वक प्रयोग गरेकाले उनलाई छन्दका कालिगढ पनि भनिन्छ । त्यसैले उनको एउटा खण्डकाव्यीय प्रवृत्ति बद्धलयमा लेख्नु पनि हो भन्न सकिन्छ ।
२.९ आध्यात्मिक र नैतिक सन्देशप्रवाह
माधव घिमिरे वैचारिक खण्डकाव्यकार पनि हुन् । उनका सबै खण्डकाव्यमा उनको निजी जीवनदृष्टि पाइन्छ । उनले सामाजिक तथा ऐतिहासिक यथार्थका साथै पौराणिक तथा लोकोक्तिगत यथार्थलाई विषय बनाएर लेखेका खण्डकाव्यहरूमा उनको वैचारिकता आध्यात्मिक चिन्तनबाट अनुप्राणित भई प्रकट भएको पाइन्छ । उनी आदर्शवादी विचारधाराका कवि देखिन्छन् । उनको मानवतावाद पूर्वीय दर्शनहरूबाट बढी प्रभावित छ । उनी सर्वदर्शनका विद्यार्थी भएकाले पनि उनका खण्डकाव्यहरूमा पूर्वीय आदर्शवादी दर्शनको अभिव्यक्ति आएको देखिन्छ । उनको मूल वैचारिकता भने अध्यात्मवादी मानवतावाद हो जसमा उनले पाठकलाई विश्वबन्धुत्वको मानवतावादी सन्देश दिनुका साथै अध्यात्ममुखी नैतिक सन्देश प्रवाह गरेको देखिन्छ । उनका खण्डकाव्यहरूका नायक–नायिकाहरू तथा अन्य मुख्य पात्रहरूईश्वरीय सत्ताप्रति आस्थावान् देखिन्छन् । ईश्वर, मान्छे र प्रकृतिको त्रिकोणात्मक सम्बन्धलाई आदर्शवादी दर्शनका आलोकमा हेर्दै उनले वैयक्तिक अनुशासन, चारित्रिक सुधार तथा मानवीय मूल्यको उदात्तताको खोजी गरेका छन् । उनका खण्डकाव्यमा जब जब स्वयं कविले व्यक्त हुने अवसर पाउँछ तब तब उनीभित्रको धार्मिक–आध्यात्मिक विश्वास अभिव्यक्त भएको देखिन्छ । यी आधारमा हेर्दा आध्यात्मिक वैचारिकता र नैतिकता पनि उनको उल्लेख्य काव्यप्रवृत्ति देखिन्छ ।
२.१० अन्य काव्यप्रवृत्ति
मधव घिमिरे रसवादी कवि भएकाले उनका सबै खण्डकाव्यहरू रसात्मक छन् । गौरीमा करुण रसको परिपाक पाइन्छ भने राजेश्वरीमा करुण र वीर रसको परिपाक पाइन्छ । राष्ट्रनिर्माता वीररसात्मक छ भने पापिनी आमामा पनि करुण रसको आधिक्य छ । उनका अन्य खण्डकाव्यहरू पनि रसप्रबल भएकाले रसकेन्द्री खण्डकाव्य–सृजन पनि उनको काव्यप्रवृत्तिमा पर्छ । शैलीको कुरा गर्दा उनका खण्डकाव्यका पात्रहरूआपसमा संवाद गर्छन्, एक्लै आत्मालाप पनि गर्छन् भने कतिपय खण्डकाव्यमा आख्यानको विकासक्रम पनि नाटकीय समेत पाइन्छ । त्यसैले नाटकीय र संवादात्मक अभिव्यक्ति दिनु पनि उनका काव्यप्रवृत्ति हुन् भन्न सकिन्छ ।
३. इन्द्रकुमारी खण्डकाव्य र यसमा अभिव्यञ्जित नारीसंवेदना
इन्द्रकुमारीइतिहास विषयक खण्डकाव्य हो । नेपालको राजनीतिक इतिहासमा अत्यन्त चर्चा पाएकी मकवानपुरे राजकुमारी इन्द्रकुमारी यसकी नायिका हुन् । प्रस्तुत खण्डकाव्यको नामकरण नायिकाको नामका आधारमा राखिएको छ । नायिका इन्द्रकुमारी मकवानपुर राज्यको राजपरिवारकी त्यस्ती व्यथित राजकुमारी हुन् जसले विवाहित भएर पनि अविवाहिताको जस्तो जीवन जिउनुपरेको थियो । यो कृति तिनैको कारुणिक संवेदनाको उच्छ्वासले मार्मिक वाणी प्राप्त गरेको खण्डकाव्य हो । प्रस्तुत खण्डकाव्यका सम्बन्धमा खण्डकाव्यकार घिमिरेले “कसैका जवानीका दिन शून्यवत् बित्नुजति ठूलो क्षति के हुन सक्छ र ? त्यही शून्यलाई आँसुका थोपामा परिवर्तन गर्ने प्रयत्न हो इन्द्रकुमारी” (खत्री, २०७२, पृ.३३५) भन्ने भनाइ व्यक्त गरेको पाइन्छ ।
प्रस्तुत खण्डकाव्यकी नायिका इन्द्रकुमारी गोर्खाली राजा पृथ्वीनारायण शाहद्वारा तत्कालीन नेपाल एकीकरण हुनुपूर्वको मकवानपुर राज्यकी राजकुमारी हुन् । गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो पहिलो विवाह यिनै राजकुमारीसँग गरेका थिए । तर यिनी पृथ्वीनारायण शाहकी जेठी महारानी भएर पनि कहिल्यै पतिसँग बस्न पाइनन् । आफ्नो कुनै दोष नहुँदानहुँदै पनि आजीवन चरम मानसिक यातना र कुण्ठा भोग्न विवश पारिएकी विरही इन्द्रकुमारी दुई राज्यका अहङ्कारको बिचमा नराम्रोसँग चेपिएर बाँच्न विवश उच्चकुलीन नारीको चरित्रमा प्रतिबिम्बित छिन् ।
नेपाल एकीकरण हुनुपूर्व मकवानपुर राज्य स्वतन्त्र राज्यका रूपमा रहेकोथियो । त्यस समयमा मकवानपुरको राजपरिवारमा कुनै अन्य राज्यको राजा वा राजकुमारले त्यस राज्यकी राजकुमारीको बिहे गरेपछि बिहे गरेकै दिन बेहुलीलाई आफ्नो राज्यमा लैजान नपाउने चलन थियो । बिहेपछि बेहुला पक्ष त्यसै दिन आफ्नै राज्यमा फर्कनुपथ्र्यो र पुनः अर्को साइतमा बेहुली लिन बेहुलीको जन्मघरमा जानुपथ्र्यो । यही परम्परालाई आधार बनाई पृथ्वीनारायण शाहलाई बिहेको दिन इन्द्रकुमारी लैजान दिइएन । तर बेहुली लिन दोस्रो पटक आउनुपर्ने जस्तो द्विरागमनको कुरामा पृथ्वीनारायण शाहको चित्त बुझेन । उनी बिहे गरेकै दिन आफ्नी महारानी भइसकेकी इन्द्रकुमारीलाई गोर्खामा लैजान चाहन्थे तर इन्द्रकुमारीका दाजु त्यो मान्न तयार भएनन् । यसै द्वन्द्वको चरम पीडा इन्द्रकुमारीले भोग्नुपर्यो ।
गोर्खाका राजा पृथ्वीनारायण शाह बिहेपछि आफू अपमानित भएको अनुभूति गरी गोर्खा फर्के तर उनी इन्द्रकुमारीलाई लिनका लागि मकवानपुर कहिल्यै आएनन् । गोर्खाका राजा पृथ्वीनारायण शाहकी जेठी महारानी भएर पनि इन्द्रकुमारीले गोर्खा दरबारमा प्रवेश पाइनन् । पति नेपाल एकीकरणको विजययात्रामा थिए तर महारानी इन्द्रकुमारी उनको साथ थिइनन् । पतिको विजययात्रामा सहयात्री बन्न नपाउँदाको पीडाले पनि उनी आहत बनिरहिन् । पति हुँदाहुँदै पनि विधवा जस्ती, यौवन भएर पनि यौवनहीनाजस्ती तथा अधिकारी भएर पनि अधिकारविहीन जस्ती इन्द्रकुमारी पतिसँगको स्वाभाविक सहवासबाट आजीवन वञ्चित भइन् । उनी भोजनहरूको माझमा बसेर पनि भोकी नै भइन्, पानीको माझमा रहेर पनि तिर्खाइरहिन्, मधुकलशपूर्ण युवती भएर पनि स्वाद चाख्न नपाई जीवन बिताइन् भने नारी भएर पनि मातृत्वहीन बनिन् ।
उमेरका दृष्टिले हेर्दा बिस वर्षका पृथ्वीनारायण शाहले सोह्र वर्षकी इन्द्रकुमारीसँग बिहे गरेका थिए । इन्द्रकुमारीका त्यसपछिका बिस वर्ष रित्तै बिते । जवानीका बिस वर्ष प्रणयको अनुभूति र यौनको आस्वादनविना पति वा पुरुषसँगको सहवासविना बिताउनुपर्दाको पीडा र कुण्ठालाई शब्दले मात्र सही रूपमा व्याख्या गर्न सकिन्न । बिहे नै नभइदिएको भए अर्को राजकुमार वा अर्को राजासँग बिहे गर्न सकिन्थ्यो तर सामन्ती संस्कृतिले गर्दा एकपटक विवाहित भइसकेकी उनले त्यस युगमा अर्को बिहे गर्न पाउनु सम्भव थिएन । यस्तो कारुणिक र वेदनाजन्य जीवन भोग्नुपर्दा इन्द्रकुमारीको मनमा उठेका ज्वारभाटा र दारुण करुणाका झरी के कस्ता थिए हुनन् भन्ने प्रश्न सहजै उठ्छ । प्रस्तुत खण्डकाव्यले सोही प्रश्नको काव्यिक उत्तर दिन्छ । २०५७ सालमा प्रकाशित यस खण्डकाव्यले तिनै व्यथित नारीका हृत्कम्पन, गुम्फन, उफान र जिजीविषाका नाजुक क्षणहरूको काव्यिक अभिव्यञ्जना गरेको छ ।
इन्द्रकुमारी कुल पच्चिस पृष्ठहरूमा सङ्गठित लघु आकारप्रकारको खण्डकाव्य हो । यसमा जम्माजम्मीमा पच्चिसवटा कविता छन् र प्रत्येक कविता सोह्र हरफमा प्रस्तुत गरिएका छन् । प्रत्येक कविताको पहिलो श्लोकको एक अंश नै त्यस कविताको अन्तिम श्लोकको पनि अंश बनेको छ । अनुष्टुप् छन्दमा रचिएका यी सोह्रहरफे कविताहरू एकअर्कासँग अन्तर्सम्बन्ध राख्दै विरही महारानी इन्द्रकुमारीको मनोरचनाको उद्घाटन गर्नमा केन्द्रित छन् । प्रत्येक भागले व्यथित इन्द्रकुमारीको प्रणयवेदना र उत्तप्त मनोवेदनाका उच्छाल उफानहरू प्रस्तुत गर्छन् ।
इन्द्रकुमारीदुई राज्यको दम्भ र अहङ्कारको आगोले झुल्सिएकी निर्दोष नारीको आँसुको कथा हो । यो कथा मान्छेका जिजीविषा र अप्राप्तिगत पीडाको अनौठो संयोजन बनेको छ । एकातिर तीव्र चाहना छ भने अर्कोतिर विफलता छ । चाहना र विफलताका बिचमा अँचेटिएर इन्द्रकुमारीको मन क्षण क्षण रोइरहन्छ । मनोवेदनाले पलपल उद्विग्न बनेकी इन्द्रकुमारी थाहै नपाई उत्तेजित बन्छिन् र थाहै नपाई उदास बन्छिन् । उनका रहर र कहर दुवैलाई कविले अत्यन्त कुशलतापूर्वक अनि उच्च कालिगढीका साथ उद्घाटित गरेका छन् । प्रणयसौन्दर्यको हरियाली, मिलनको लालिमा र बिछोडको तडपलाई काव्यको प्रारम्भमै सौन्दर्यबोधका साथ यसरी प्रस्तुत गििरएको छ :
यसै गरी दोस्रो पृष्ठमा यसै अनुभूतिको अर्को अभिव्यक्ति पाइन्छ जसमा कविले विवाहित भएर पनि अविवाहितासरह बस्न बाध्य पारिएकी इन्द्रकुमारीको कारुणिक मनोव्यथा प्रस्तुत गरेका छन् :
डोलीमा चढ्न बाँकी नै सात फेरो घुमे पनि । (पृ.२)
कुनै पनि व्यक्ति राजकुमार वा अन्य पदको हुनुपूर्व मान्छे हुन्छ । उसका संवेदना मान्छेका संवेदना हुन्छन् । राजकुमारी होस् कि भिखारिन, प्रत्येक युवतीमा मायालु पुरुषको प्रणयसौन्दर्य र मिलनको आनन्दरस प्राप्त गर्ने रहर हुन्छ । जुनसुकै युवायुवतीमा यौवनेच्छा र यौनेच्छाको पूर्ति गर्ने र प्रणयरागको सन्तुष्टि पाउने चाहना हुन्छ । प्रणयरागको उत्कर्षमा पुगेर प्रिय व्यक्तिसँगको प्रथम सहवासका लागि छट्पटिएको यौवनले प्रिय वा प्रियासँगको प्रथम मिलनमा प्राप्त गर्ने रोमाञ्चको कल्पना मात्रले पनि युवायुवतीको निधारमा पसिना निकाल्न सक्छ । जवानीमा त्यही अनुभूति गर्न नपाउँदाको पीडा निश्चय नै यातनामय हुन्छ । नायिका इन्द्रकुमारीले त्यही दुःखद अनुभूति आजीवन गरिरहनुपर्यो र सम्पूर्ण जवानीका दिन यही कुण्ठा भोग्नुपर्यो ।प्रस्तुत खण्डकाव्य पत्रलेखनको शैलीमा रचिएको छ । यसमा प्रणयको रोमाञ्चले भिज्न नपाएकी, आनन्दप्रदायक सहवासपीडाको अनुभव गर्न नपाएकी अनि पलपल जीवनबोध र मृत्युबोधको द्वैध हृत्कम्पन भोगिरहेकी नारीको अनौठो पीडालाई प्रणयसौन्दर्यको उच्च रागात्मकताका साथ प्रस्तुत गरिएको छ । त्यस्तो अभिव्यक्ति दिँदा कविले पङ्क्ति पङ्क्तिमा करुणा र अन्तर्चीत्कारको दीर्घजीवी अभिव्यञ्जना दिएका छन् । यस्तो अभिव्यक्तिका केही उदाहरण यसप्रकार छन् :
सर्माएर पसिनाले भिजेकी सुन्दरी बनी । (पृ. ३)
बत्ती हेरिरहे झैँ छ— के लेखी पत्रमा भनी
कलेजीभित्र लेखेको उत्रन्न पत्रमा पनि । (पृ. ३)बिम्झी बिहान शैय्या कि तिम्रै प्रीति सोच्दछु
किन ढाँटूँ तिमीलाई– कि मेरै मृत्यु सोच्दछु । (पृ. ६)
इतिहासकी पात्र इन्द्रकुमारी यस खण्डकाव्यका सन्दर्भमा मनोवैज्ञानिक चरित्रका रूपमा विवेच्य पात्र हो । खोजेका कुरा यथार्थ जीवनमा पाउन नसक्दा व्यक्तिको मन कुण्ठित हुन्छ र त्यस अप्राप्तिको क्षतिपूर्ति कल्पना र सपनाबाट पूरा गर्ने प्रयत्न गर्छ । उसको अदम्य जिजीविषा र त्यसको प्राप्त्याशाले चर्को मनोकुण्ठा बनेर पल पल उसलाई घोच्न थालेपछि थाहै नपाई ऊ मनोरोगी बन्दै जान्छ । केही गरी मनोरोगी बनेन भने पनि उसलाई उदासीले घप्लक्कै छोप्छ । इन्द्रकुमारी पनि त्यस्तै उदासीले छोपिएकी मनोवैज्ञानिक पात्र हो । विपनाका हरेक क्षणमा खल्लो खल्लो अनुभूति गर्ने इन्द्रकुमारी सपनाका नौलखा हार लाएर उड्छिन्, सजिएको डोलीमा चढेर घुम्छिन् । उनीभित्र राजाकी दुलही भएर झल्लरी छाता ओढी हिँड्ने इच्छा छ तर त्यस्तो गर्न पाउने अधिकारी भएर पनि उनले त्यो इच्छा कहिल्यै पूरा गर्न पाउँदिनन् ।
त्यसैले सपनाबाट बिउँझनासाथ उनी आफू भुइँमा खसेको पाउँछिन् । विपनाले उनको मनोकाङ्क्षामाथि निर्मम प्रहार गर्छ, उनका चाहनाको क्रूर हत्या गर्छ र उनको सुक्सुकाउँदो यौवन र कल्कलाउँदो शरीरलाई विरहको झुसिल्किराले चिल्छ, चिलिरहन्छ ।
खण्डकाव्यकार माधव घिमिरेले यस खण्डकाव्यमार्फत विरही नायिका इन्द्रकुमारीका रहर र पीडाका माध्यमबाट सर्वसाधारण नेपाली युवतीहरूका रहरको पनि उद्घाटनगरेको देखिन्छ । शिष्ट प्रणयसौन्दर्यको कल्कलाउँदो अनुभूति गर्ने इन्द्रकुमारीका रहरभित्रयसप्रकारका रहरहरूको उद्घाटन भएको पाइन्छ । बिहे गरेर पतिको घरमा जानु पनि प्रत्येक नेपाली युवतीको एक रहर हुन्छ । ऊ चाहन्छे— आफ्ना इन्द्रधनुषी रहर बोकेर पतिको घरको आँगनीमा उभिन पाइयोस् अनि उसको पति बेचैनीका साथ उसैको आगमनको प्रतीक्षा गरिरहेको होओस् । त्यस्तो प्रतीक्षामा आतुर पतिलाई देख्नासाथ उसको हृदय आनन्दले प्रफुल्ल होओस् । आफ्नो स्वागतमा मुस्कुराएका पतिका अधर अनि चञ्चल बनेका पतिका आँखा देख्न पाएर आफ्ना सारा वेदनाहरू भुल्न पाइयोस् । आम नेपाली युवतीहरूले यी र यस्तै सुन्दर परिकल्पना गरेका हुन्छन् । यस्तै रहर यस काव्यकी नायिका इन्द्रकुमारीले गरेकी छन् तर उनको रहर पूरा हुँदैन । काँडेघारीको जीवनयात्रामा परेर छिया छिया हुँदै उनी सपना देख्दा विपनाका रहरतर्फ बढ्छिन् तर विपनामा विपरीत दिशामा पुगेर नराम्रोसँग पछारिन्छिन् तथा मानसिक रूपमा चोटिल बनिरहन्छिन् । उनलाई सपनाले हौस्याउँछ र विपनाले निराश बनाउँछ र असन्तुष्ट र आकुल मनमा असह्य वेदना फैलिरहन्छ ।
अन्य प्राणीका तुलनामा मान्छे आशावादी प्राणी हो । ऊ आशैआशमा जीवनयात्रा गर्छ तर सधैँ सधैँ आशामा झुन्डिँदै हिँड्दा पनि आशा कहिल्यै पूरा नहुँदाको उसको जिन्दगी नारकीय भन्दा पनि नारकीय खालको हुने गर्छ । इन्द्रकुमारीको जिन्दगी बाहिरबाट त्यस्तो नलागे पनि वस्तुतः त्यस्तै प्रकारको बन्न पुगेको छ । फ्रायडवादी रचनाकार भए ऊ यस अवस्थालाई यौनकुण्ठाले ग्रस्त मनोरोगी पात्र तयार पार्नमा केन्द्रित हुने थियो । फ्रायडवादी रचनाकारले प्रस्तुत गरेको भए इन्द्रकुमारी विक्षिप्त र यौनकुण्ठित नारीका रूपका रूपमा देखाइन्थिन् । उनका शरीरभरि माउसुली र सर्पहरू सल्बलाइरहेका देखाइन्थ्यो अनि उनले असामान्य क्रियाकलापहरू गरेको देखाइन्थ्यो । तर कवि माधव घिमिरे फ्रायडवादी स्रष्टा होइनन् । उनको मनोविज्ञानको वेत्ता कविले इन्द्रकुमारीको जटिल मनोरचनालाई संयमित, धैर्यशाली, शिष्ट र सौम्य बनाएर प्रस्तुत गरेको छ ।
इन्द्रकुमारी रसात्मक काव्य हो । यसका अनेक श्लोकहरू ध्वनिमा बोल्छन् । ध्वन्यात्मक अभिव्यक्तिद्वारा प्रणयभावको उच्च कलात्मक रसास्वादन गराउन सक्षम कविले यसमा मधुर लालिमा बोकेका लालित्यपूर्ण शब्दावलीमा कथ्यलाई सुन्दर वाणी प्रदान गरेका छन् । इन्द्रकुमारी पृथ्वीनारायण शाहको छविलाई कल्पेर बारम्बार उत्साहित हुन्छिन्, क्षण क्षणमा प्रणयभावले आत्मविभोर बन्छिन् अनि यथास्थितिको बोध भएपछि आँसुमा नुहाउँदै सुँक्सुँकाउँछिन् । उनले भोग्ने पल पलको यो द्वन्द्व र कठोर यथार्थबोध प्रस्तुत गर्नेश्लोकहरूमध्ये केही यसप्रकार छन् :
मुस्कुराई सखी भन्छे— बैँसको सुषमा थियो । (पृ. ११)अहो ! आनन्द यो कस्तो एकली हुनुमा पनि
सम्झिएर कसैलाई भल्भली रुनुमा पनि । (पृ. १२)
कसैकी हुनुको पीडा भयो नहुनु क्यै पनि
अहो ! मध्याह्नको छाया बिलाई मउलैमुनि । (पृ. २१)
इन्द्रकुमारीको यो दुर्दशाको कारक को हो ? वस्तुतः उनलाई यस्तो दुःखमा पुर्याउनेहरू उनकै आफन्त हुन् । आफ्नै गोडाको पानी खाएर दाजुले नै उनलाई आँसुको दाइजो दियो । आजीवन रच्छे गर्ने प्रतिज्ञा गर्दै अग्निको वरिपरि सात फेरो घुमेर सिन्दूर हालिदिने पतिले उनलाई एक दिन पनि साथ दिएन । राजघरानाहरूको आडम्बरी र छुसी अहङ्कारले कोमल फूलका नरम पत्रहरूलाई पालैपालो एक एक गरेर झुल्साउँदै लगे । तिनीहरूको फोस्रो अभिमानले रसपूर्ण जीवनमा डढेलो लगाइदियो । साँढेको जुधाइमा परेर बाच्छाको बेहाल भएको जीवनको मार्मिक कथा बनेकी इन्द्रकुमारीको जीवनका सर्वोत्तम मानिने क्षणहरू जीवनकै सर्वाधिक पीडाका क्षणका रूपमा परिणत भए ।वस्तवमा आफूले नगरेको अपराधको दण्ड लगातार २० वर्षसम्म भोग्नुपर्दाको कहाली लाग्दो जीवन हो इन्द्रकुमारीको जीवन । तर पनि उनीभित्र आफ्नो यौवन र स्वाभिमानको हत्या गर्ने हत्याराहरूका विरुद्ध कुनै घृणा छैन; छ त केवल दुःखबोध । आफ्नो अवहेलना गर्ने र आफूलाई त्याग्ने पतिप्रति तथा आफ्नो जीवन नर्क तुल्याइदिने दाजुप्रति उत्पन्न भएको वितृष्णा कतै पनि चर्को गरी प्रकट भएको छैन । आफूलाई विरहवेदनाको काँडेघारीमा अलपत्र पारेर अहङ्कारको तुष्टि गर्ने तथाकथित पति पृथ्वीनारायण शाहप्रति उनको मनमा उल्टै प्रेम छ, श्रद्धा छ र शुभकामना मात्रै छ । निश्चय नै केही गुनासो छ । त्यस गुनासोमा पनि आफ्नो पतिलाई साथ दिन नपाएको गुनासो मात्र छ;आफ्नो स्वार्थपूर्तिको गुनासोले उनी बीभत्स बनेकी छैनन् । कवि घिमिरेले यस्तो चरित्रमा इन्द्रकुमारीलाई प्रस्तुत गरेर आदर्शवादी चरित्रका रूपमा उनको उदात्तीकरण गरेका छन् ।
इन्द्रकुमारीलाई कवि घिमिरेले असाधारण युवतीका रूपमा बिम्बित गरेका छन् । आफूलाई आजीवन वैधव्यको जीवन बिताउन विवश तुल्याउने त्यस्तो पतिलाई त घृणा पो गर्नुपथ्र्यो, श्राप पो दिनुपथ्र्यो । उस्तै नारी भएको भए आफूले भोग्नुपरेको विरह, वेदना र पीडा उसले पनि भोग्नुपरोस् भन्दा हुन्, भन्छन् पनि । उनले यस्तो भनेकै भए पनि नाजायज मान्न सकिन्नथ्यो तर इन्द्रकुमारीले त्यस्तो केही भनेकी वा गरेकी छैनन् । उल्टै उनी पतिका सबै दुःखकष्टहरू आफूमाथि आइलागून् तर पतिलाई कहिल्यै दुःख नपरोस् भन्ने कामना सच्चा हृदयले गरिरहन्छिन् । त्यसै अवधिमा विभिन्न राज्यहरूमा त्यस्ता पत्नी पनि थिए जो पतिसँगै बस्न पाएर पनि पतिको हत्या गर्न षड्यन्त्रहरू रच्थे । राजाका रूपमा रहेको आफ्नै पतिलाई मारेर राजगद्दी हत्याउन चाहने पत्नीहरूसमेत रहेको त्यस समयमा आफ्नो जीवनरसलाई पल पल सुकाउँदै आफूलाई निर्ममतापूर्वक मारिरहेको जीवनघातक पतिको सुख र समृद्धिको कामना गर्ने इन्द्रकुमारी वास्तवमै आदर्श हिन्दु नारीको प्रतिनिधित्व गर्ने उच्चतम रूप हुन् । उनको यो उदात्त प्रेम र उच्च सौन्दर्यकामना प्रशंसनीय छ ।
तर इन्द्रकुमारीमा यस्तो क्षमताशील र धैर्यशाली चरित्रको विकास कसरी सम्भव भयो ? सायद उनलाई त्यस्ती नारी बन्न सक्ने शक्ति हिन्दु आदर्शवादले दिएको हो; त्यो हिन्दु आदर्शवादले, जो शिव र पार्वतीको, सीता र रामको अनि सावित्री र सत्यवान्को कथा भनेर थाक्दैन र जतिसुकै ठुला अन्याय भोग्नुपरे पनि पत्नीले गर्नुपर्ने कर्तव्य भन्दै पतिव्रताको आदर्श र उदेकलाग्दो धर्मगाथा सुनाइरहन्छ । सच्चा पतिव्रता नारीले अर्को जन्ममा भए पनि पतिप्रेम पाइछाड्छे भन्ने किसिमका अन्धविश्वासमा हुर्किएकी इन्द्रकुमारीले त्यस अन्धविश्वासलाई विश्वासपूर्वक निर्वाह गरेकी छिन् । यथार्थ बुझेर प्राप्त गरिने आनन्द एउटा कुरा हो र अज्ञानतावश गरिने आनन्दबोध अर्को कुरा हो । वास्तवमा इन्द्रकुमारी पनि अज्ञानताको छायामा अज्ञात आनन्दबोधमा परेर जीवनयात्रा गर्ने मानिसको भिडमा देखिएकी ऐतिहासिक पात्र बनेकी छन् ।
प्रस्तुत खण्डकाव्यकी नायिका इन्द्रकुमारी राग र विरागको चपेटामा परे पनि अन्ततः मुक्तिको खोजमा फर्किएकी नायिका देखिन्छिन् । तर उनले प्राप्त गरेको जस्तो लाग्ने मुक्ति मोक्ष वा महापरिनिर्वाणजस्तो होइन, न त सामन्ती शोषणविरुद्धको वर्गीय क्रान्ति र मुक्तिजस्तो नै हो । यो त प्रेममुक्तिको आदर्श चाहना हो । अप्राप्त प्रेमबाट मुक्ति, अतृप्त सौन्दर्यको पानबाट मुक्ति, जिजीविषाको तिर्खाबाट मुक्ति, फ्रायडेली तात्पर्यमा भन्दा यो यौनेच्छाको अतृप्तिबाट तृप्तितर्फ गएर हुने मुक्ति पनि हो ।
यथार्थमा इन्द्रकुमारी अहङ्कारले च्यापिएको जीवनपीडाबाट मुक्ति चाहन्छिन् । माइतीहरूका कानेखुसी र अधिकाररहित पत्नीत्वबाट मुक्ति चाहन्छिन् । त्यस्तै उनी अतृप्त मातृत्वबाट अनि प्रियतमको दूरत्वबाट मुक्ति चाहन्छिन् । उनको मुक्तिको चाहना जायज भएकाले पाठक उनीप्रति पूर्णतः सहानुभूतिशील बन्दछ । पृथ्वीनारायण शाहप्रति गहिरो अनुराग र विरहको कष्टदायक अनुभूतिबिच उनको मनोदशा जे जस्तो बनेको छ, त्यसलाई यस काव्यमा अत्यन्त कलात्मकताका साथ उतारिएको छ । उनको मनोदशाको प्रतिबिम्बन यसरी गरिएको छ :
मेरो ईश्वर ! छायामा कसरी छरियौ तिमी ? (पृ. १२)मुक्तिको छट्पटी जस्तो वेदना छैन क्यै पनि
किन हो ! रमिता हेर्छौ हिर्दयै छैन झैँ बनी ? (पृ. १४)
अहो ! मलाई छोडेर सधैँ मैतिर धाउँछौ
छाया खोजेर पानीमा कहाँ आखिर पाउँछौ ! (पृ. १७)
वस्तुतः इन्द्रकुमारी खण्डकाव्य नारीका पीडा, तिनका करुणा, तिनका भावुकता र वेदनाजन्य अनुभूतिले भिजेर तयार भएको आख्यानकाव्य हो । इतिहासको बलिवेदीमा निर्ममतापूर्वक बली चढाइएकी यौवनाको यथार्थ जीवनमा आधारित यस आख्यानमा कविको मानवीय संवेदनशीलताले विशेष स्थान प्राप्त गरेको छ । मान्छे दुःख पर्दा रुन्छ र रुँदा आँसु खस्छन् तर जब वेदना पराकाष्ठामा पुग्छ तब आँसु बग्दैनन्, बरु मन नै पत्थर बन्छ र आँसु आँखाभित्रै सुक्छन् । जब सौन्दर्य नै कुरूप बन्छ, जब प्रेम नै पीडा बन्छ अनि जब भावना नै वेदना बन्छ तब जीवनपीडाले उत्कर्ष प्राप्त गर्छ भने मान्छेको जीवन महातुफानपछिको नीरव एक्लोपनजस्तै शून्य शून्य बन्न पुग्छ । इन्द्रकुमारीले २० वर्षको विरहपछि शून्यबोध गरेकी छन् । अब उनलाई कुनै घाउले पनि दुख्दैन, कुनै चोटले पनि दुख्दैन, कुनै प्रेमले तान्दैन, कुनै लोभले लोभ्याउँदैन, कुनै आक्रोशले आक्रोशित तुल्याउँदैन, कुनै मोहले अन्धो बनाउँदैन र कुनै आकर्षणले प्रभावित पार्दैन । पीडानुभूतिको यही उच्च शून्यतामा पुगेर इन्द्रकुमारी खण्डकाव्यले उत्कर्ष पाएको छ ।इन्द्रकुमारीको प्रणयरागको चरमोत्कर्ष कठोर अन्त्यमयी देखिएर पनि अन्तर्तहमा चरम कारुणिक बनेको छ । कठोरताभित्रको यस कारुणिक चरमोत्कर्षलाई तलको उद्धरणले स्पष्ट पार्छ :
बाडुल्की अब लाग्दैन तिमीले सम्झिए पनि । (पृ. २३)
४. निष्कर्ष
खण्डकाव्यकार माधव घिमिरे नेपाली भाषामा बद्धलयमा उच्चकलात्मक सृजनाहरू गर्ने अग्रणी कवि हुन् ।उनीद्वारा रचिएको इन्द्रकुमारी ऐतिहासिक विषयवस्तुमा आधारित नायिकाप्रधान खण्डकाव्य हो । आलङ्कारिक तथा ध्वन्यात्मक भाषाशैलीमा रचिएको यो काव्य करुणरसात्मक छ । अकृत्रिम सौन्दर्यविधानको साधनासहित रचिएको यस काव्यमा कविको रागात्मक भावुकताले परिष्कृत आराधना प्राप्त गरेको छ । व्यक्तिजीवनको संवेदनालाई नारीपीडाको कारुणिक रसले भिजाएर मानवीय साधारणीकरणसम्म पुर्याइएको यस काव्यमा कविको आफ्नो जीवनबोधको अनुराग र हिन्दु संस्कृतिप्रतिको उनको मोहले पनि ठाउँ पाएका छन् । यस काव्यमा कविले दुःखभित्रबाट काव्यिक सौन्दर्यको खोजी गरेका छन् । यो खण्डकाव्य त्यस्तो आख्यान बोकेर आएको छ जसले भावुक पाठकलाई आफूमाथि आफ्नै विश्वास उठेको अवस्थामा हुँदा अनुभूत गरिने चरम वेदनाको बोध गराउँछ । काव्यका ठाउँ ठाउँमा प्रकृतिका सुकोमल उपकरणहरू मनोरम र मूर्त बिम्ब बनेर आएका छन् । तिनको सार्थकताले काव्यलाई उच्चकलात्मक बनाएको छ ।प्रस्तुत खण्डकाव्य सुख भन्ने कुरा धनसम्पत्तिबाट मात्र प्राप्त हुन सक्दैन भन्ने कुरा बुझाउन पनि सफल छ । राजदरबारमा जन्मेका राजकुमार राजकुमारीले खाने, लाउने र बस्ने तथा समाजमा प्राप्त गर्ने प्रतिष्ठा देखेर अन्य मानिसलाई उनीहरू सुखी छन् भन्ने लाग्न सक्छ तर यथार्थ त्यस्तो हुँदैन । मन अशान्त भयो भने र मानिसिक पीडामा परियो भने बाहिर देखिने सबै सुखसुविधा दुःखका कारक बन्न जान्छन् भन्ने कुराको उदाहरण इन्द्रकुमारीको जीवन हो ।
नायिका इन्द्रकुमारीको दुःख त्यस्तो दुःख हो जो बाहिर देखाउन मिल्दैन र भित्रभित्रै सहन पनि सकिन्न । यस किसिमको दुःख शब्दव्याख्येयभन्दा अनुभूतिबोध्य बढी हुन्छ । यस्तो पीडा पीडानुभूति गर्नेले मात्र सही रूपमा अनुभूत गर्न सक्छ । यस्तो अनुभूति कलावादी सौन्दर्यचिन्तक क्रोचेको अभिव्यञ्जनासम्म बन्न सक्छ, इलियटको निर्वैयक्तिक अभिव्यक्ति बन्न सक्दैन । कविवर माधव घिमिरेले तैपनि अभिव्यञ्जनागत बिम्बको अनुमानित प्राक्कल्पना गरेर अभिव्यक्तिगत भाषिक रूपान्तरणका लागि काव्यिक प्रयत्न गरेका छन् र हुन सक्नेसम्मको सफलता प्राप्त गरेका छन् । प्रणयरस र नैसर्गिक अधिकारबाट वञ्चित नारीको चर्को मनोद्वन्द्व तथा विवाहित नारीले अविवाहित नारीसरह भोग्नुपरेको विरह र कारुणिक संवेदनाको उत्कृष्ट अभिव्यक्ति यस खण्डकाव्यको केन्द्रीय प्राप्ति देखिन्छ ।
सन्दर्भ सामग्री सूची
आचार्य, कृष्णप्रसाद, गौतम, नारायण (२०६१). आधुनिक नेपाली खण्डकाव्य र महाकाव्य. काठमाडौँ : दीक्षान्त पुस्तक प्रकाशन ।
खत्री, विष्णुकुमार (२०७२). माधव घिमिरेको खण्डकाव्यकारिता : विश्लेषण र मूल्याङ्कन. काठमाडाँ : बृहस्पति पुस्तक प्रकाशन ।
घिमिरे, माधवप्रसाद (२०५७). इन्द्रकुमारी (काव्यसङ्कलन). ललितपुर : साझा प्रकाशन ।
जोशी, कुमारबहादुर (२०५४). पाश्चात्य साहित्यका प्रमुख वाद. चौथो संस्क. काठमाडाँ : साझा प्रकाशन ।
ज्ञवाली, रामप्रसाद (२०७०). खण्डकाव्य समालोचना. (२०७०). काठमाडौँ : ऐरावती प्रकाशन ।
पोखरेल, बालकृष्ण, त्रिपाठी, वासुदेव, पराजुली कृष्णप्रसाद, शर्मा, गोपीकृष्ण र भट्टराई, हर्षनाथ (२०७५). नेपाली बृहत् शब्दकोश. काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
पोखरेल, भानुभक्त (२०३९). कवि माधव घिमिरे र उनका काव्यचिन्तन. काठमाडौँ : साझा प्रकाशन ।
प्रभात, विष्णु (२०७०). सम्पा. साहित्यकार–कलाकार परिचय कोश. काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
मिश्र, भागीरथ (सन् १९९६). पाश्चात्य काव्यशास्त्र : इतिहास, सिद्धान्त और वाद. वाराणसी : विश्वविद्यालय प्रकाशन ।
श्रेष्ठ, ईश्वरकुमार (२०५१). पूर्वीय एवं पाश्चात्य साहित्य समालोचना : प्रमुख मान्यता, वाद र प्रणाली. काठमाडौँ : साझा प्रकाशन ।