सुरेन उप्रेती
अटवा, क्यानडा
कति ठूलो भएछौ
नेपथ्यबाट आएको आवाजले झस्क्यायो
आवाज आए तिर आँखा दौडाएँ ।
सून्य छ सम्शान झैं।
आँखा मिचेर हेरें
कानलाई छामेर सुनें
कतै कोही देखिएन ।
फेरी पाइला अगाडि बढाएँ
केराको पातमा बर्षिएको दर्के झरी झैं
आवाजहरु कानमा ठोक्किन थाले
शहरमा बस्छौ अरे
धेरै पढ्यौ रे,
घर गाडी जहान परिवार
नाम र दाम कमायौ रे !
आवाज सँग अझ नजिक हुँन खोजें
नामका अगाडि पनि
अनेक उपाधी थप्यौ रे,
साम्सद,मन्त्री, प्रधानमन्त्री,
राष्ट्रपति, सचिव,
इन्जिनियर, वकिल, डाक्टर,
पत्रकार, साहित्यकार,
बुद्धिजिवि, प्राध्यापक ,
व्यापारी बैज्ञानिक
खै के के हो के के !
म त यही छु ।
कती पनि बदलिन सकिन
तिमीले बामेसरेको सिकुवा
तिमीले लडिबुडी गरेको मझेरी,
ताते गरेको आँगन,
नपत्याए हेर त मेरा छातीमा
तिम्रा साना पाइलाका डोवहरु !
तिमीले झूम्राका पूतली र गोल
बनाएर खेलेको बारीको डिल,
डोरी नाघेको, देउसी भैलो खेल्दै
नाचेको आँगन !
आमा सँग मावल जान नपाउँदा
रुँदै लडिबुडी गरेका थियौ नी !
तिमीले के सम्झन्थ्यौ यी सब कुरा !
तिम्रो तोते वोली
अझै गुन्जी रहेको छ ।
नपत्याए कान थापेर सुन त
यो हावालाई !
बिहानको सूर्यलाई सोधे हुन्छ
तिम्रो वाल्यकाल,
हिंउदे कठाङग्रिने जाडोले
विहानीलाई लुग्लुग कमाएका बेला
उ त्यो पारी डाँडामा
सूर्यले पहिलो पाइला टेक्दा
तिमी सिउसिउ गर्दै
काखिमा हात च्यापेर
बारीमा ढोडबाल्न
हिंड्दै हुन्थ्यौ नी !!
मेरा आँखा आँशुमा पौडिंदै रहेछन्
दुई हातहरुले टाउको समाएर,
म थचक्क बसेंछु,
जन्म भूमिमा पाइलाका डोबहरु खोज्न !!!!