नारी अस्तित्व खोसिएको, त्यो भुमिबाट उठौं !
आखामा उर्लिएका आँसुका छाल पुछेर उठौं !!
समाजले तिम्रो गर्भासयसंग बिरोध गर्दा !
थुप्रै असत्यहरुबाट एउटा सत्य ओकल्न उठौं !!
चिसो बोराको ओछ्यानमा, लाग्दोहोला कति डर !
तिम्रो रजस्वला संगै त्यो छाउपडी उघारेर उठौं !!
हुम्लाको त्यो बहुपति प्रथा बिर्सेको छैन आज पनि !
तराइको दाइजो र बोक्सीको निहुमा जल्न छोडी उठौं !!
नबिर्स बार्पाककी त्यो फूलमायाको कथा पनि !
महिला हिँसा र उत्पीडनलाइ पन्छाएर अब उठौं !!
लक्ष्मी परियार जस्ता कयौ चेली कुटिएरै मारिए !
अन्याय र कुसस्कारको बिरुद्दमा खम्बा भइ उठौं !!
तिम्रो नाङ्गो शरिर अनि भोको पेटको आलोचनासंग !
कयौं पटक बलात्कार त्यो मन च्यातेर अब उठौं !!
बिर्सेको छैन उमा सिंहलाइ पत्रकार भनेर मारेको !
अत्याचारको पोल खोल्दै , कलम तिखार्दै फेरी उठौं !!
दंदकालमा उजाडिएका ति हजारौ सिउँदोलाइ सोधी हेर !
रंगहीन ती चेलीहरुको फेरी बुलन्द आबाज बनेर उठौं !!
न्यायकै खोजीमा प्राण त्यागे नन्द प्रसाद अधिकारीले !
ढुकढुकी लिएर बाँचेकी गंगामायाको आवाज बनि उठौं!!
हाम्रै छोरी निर्मला स्वर्गबाट रुदै कति धिक्कार्दैछिन !
बलात्कारीको लिंग काट्न धारिलो हतियार लिइ उठौं!!
थाकेको अनुहार लिएर दशधारा रसाउने नारी हामी !
महिला हुनुमा गर्व मान्दै संसात्भारिका दिदीबहिनी उठौं!!
दिक्षा बस्नेत
महिला सम्योजक
NRN NCC of USA 2019-21