अनुराधा पौडेल समाजसचेत नारी हुन् । साहित्यसागरले प्रस्तुत गर्दै आएको समसामयिक स्तम्भका लागि यसपटक उनको फेसबुक स्टाटसलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ ।सम्पा. |
सन् २००२ मा पासपोर्टको म्याद सकियो, काठमान्डुमा सङ्घर्षरत थें । अघिल्लोपल्ट काठमान्डुबाटै पासपोर्ट लिएकी थिएँ । काठमान्डुबाटै पासपोर्ट निकालम् भनेको त जिल्ला प्रशासनले तपाईंको नागरिकता लमजुङ रहेछ उतै जानू भन्यो । त्यसपछि लमजुङको सदरमुकाम बेँसीसहर पुगेँ । त्यहाँ चाहिँ तपाईंको बिहे चितवनमा भएको रहेछ र साथमा बच्चा पनि रहेछ उतै जानू भने । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवन पुगेँ त्यहाँ चाहिँ तपाईंका श्रीमान् विदेशमा हुनुहुँदो रहेछ अब पासपोर्ट लिन तपाईंका सासूससुराको सिफारिस र नाता प्रमाणित कागज चाहिन्छ भने ।
बच्चालाई छुट्टै पासपोर्ट बनाउने भए नाबालिग प्रमाणपत्र र नाता प्रमाणित दुबै चाहिन्छ भने । अनि बच्चा, वृद्ध हुनुभएका सासूससुरा लिएर जिल्ला प्रशासन कार्यालय गएँ । त्यहाँ लिखत बनाउन ‘लेखापढी’ गर्न जानेका मानिस हुँदा रहेछन् चउरमा । फोटो खिचेर, कागतमा ल्याप्चे ठोक्न लगाएर लेखापढीको कागजात बनाईदिए । भित्र अफिसमा कागत पुर्याएपछि ‘आफ्टरनूनमा’ आउनू भने । वृद्ध सासूससुरा बाहिरको खाना खानुहुन्थेन, चियाबाहेक । त्यै चियाका भरमा उहाँहरूलाई चिसोमा कुराईराखें । आफ्टरनूनमा भित्र छिरेपछि हाकिम सापले चश्मा फुकालेर टेबुलमा राख्दै ससुरा बालाई भन्नुभयो , ‘बा बुहारीलाई पासपोर्ट निकाल्न सिफारिस किन गर्नुभयो ?’ बाले भन्नुभयो , ‘छोरो विदेशां छ यिनी पनि उतै जान्छु भन्छिन् ।’
अनि हाकिमले बालाई हेर्दै भने, ’बा अचेल चेलिबेटी बेचबिखन हुन्छ । छोरा विदेशमा रहेछन् । तपाईंलाई के ग्यारेन्टी छ तपाईंकी बुहारी छोराभएकै ठाममा जान्छिन् भनेर ? यिनलाई अरूले फकाएर साउदीतिर पठाईदिन सक्छन् , यिनी फकिन सक्छिन् । नाबालक नाती रहेछ । यिनले धोका दिईन् भने नाती तपाईंले पाल्नपर्छ । छोरो विदेशां रैछ झन् । नाबालिग परिचयपत्रमा नाता प्रमाणित गर्नुभएको छ । आफ्नो जिम्मेवारी त थाहा होला नि ?’
बुबाले मलाई पुलुक्क हेर्नुभयो र मेरो अनुहार पढ्नुभयो । अनि भन्नुभयो, क्यारम् त नि बुहारीले धोका दिइन् भने मेरो नाती मै पाल्छु ।
सासूआमालाई त बिचरा नाता प्रमाणित कागज बनाईदिएर बरबादै गरियो कि भने जस्तो लायो रे ।
तपाईंलाई लाग्यो होला मैले प्रतिकार गरेँ । केही बोलेँ ।
अहँ मैले केही गरिन । मैले म पत्रकार हुँ महिला इस्यूमा लेख्छु पनि भनिन । मैले पत्रकारको नाम बेचेर काठमान्डुबाटै पासपोर्ट लिन सक्थें, गरिन ।
हाकिम सापसँग विवाद गरेँ भने हाकिम सापले मेरो अफिसां आएर ठूला कुरा गर्नी म छानबिन गरेर पासपोर्ट दिन्छु पछि आउनु भन्थे ।
मेरो मात्रै होईन, सासूससुरा र बच्चाको अर्को दिन पनि खाईदिन सक्थे । फेरि ज्याक लाउने मान्छे खोज्न पर्ने हुन्थ्यो ।
घाँटीघाँटी अपमानित भएर मैले र बच्चाले पासपोर्ट लियौँ ।
तिनी हाकिम सापले म जस्ता कतिलाई अपमान गरे होलान् ।
म आशा गर्छु, तिनकी छोरी बुहारी अरबमा बेचिएका छैनन् । बरु नेपाली पासपोर्टमा संसार डुलिरहेका छन् ।
हाकिम साप म अहिले संसारको जुनसुकै कुनामा एक्लै यात्रा गर्न सक्छु ।
किनभने, म अरूको बहकावमा लाग्दिन, ठीक बेठीक मै छुट्टाउँछु । नेपालमा महिलाका लागि केही गर्छौ भने ठीक र बेठीक छुट्टाउन सक्ने बनाउ ।
दुई हिँड्डुल गर्नु मेरो स्वतन्त्रता हो । मलाई मन लागेका बेला म जहाँसुकै जान्छु ।
सुन्दैछु नेपालमा तिमी जस्तै खोपडीबिहीनहरूले नयाँ कानून ल्याउँदैछौ जहाँ महिलाहरू विदेश जाँदा परिवारको सिफारिस लिनैपर्छ ।