सुमोद आचार्य शिक्षासेवी व्यक्तित्व हुन् । हामीले समसामयिक अभिव्यक्तिमा उनको फेसबुक स्टाटसलाई छानेका छौँ । उनको स्टाटस संस्कृत भाषाको शिक्षा पद्धतिसँग सम्बन्धित छ । साहित्यसागरको यस पटकको समसामयिक स्तम्भमा उनको विचार जस्ताको तस्तै समेटेका छौँ ।
-सम्पा. |
नेपाल संस्कृत विश्वविद्यालयमा चारवर्षे स्नातक तहको नयाँ पाठ्यक्रम बन्न लागेका सन्दर्भमा यस विश्वविद्यालयका प्राध्यापकहरूमाझ विद्युतीय माध्यमबाट विचारविमर्श गरी सुझाबहरू तयार गरिएका थिए।
१. संस्कृत विश्वविद्यालयले अहिले बनाउन लागेका पाठ्यक्रमले दीर्घकालसम्म संस्कृत शिक्षालाई असर गर्ने हुँदा यसलाई हतार गरी बनाउन उचित हुँदैन र विज्ञहरूसँग पर्याप्त छलफल तथा परामर्श गरेर अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता पाउन योग्य बनाई अन्तिम रूप दिनुपर्छ भन्ने सुझाब दिइएको थियो।
२. संस्कृत नपढी कक्षा १० उत्तीर्ण विद्यार्थी संस्कृततर्फ कक्षा ११ मा भर्ना हुँदा संस्कृतको जग बस्न नपाउने स्थिति छ। ६ महिनाको संस्कृत-प्रशिक्षणबाट प्राक्शास्त्री उत्तीर्ण गरी शास्त्री (स्नातक) तहमा भर्ना हुने विद्यार्थीमा पनि संस्कृत भाषाको ज्ञान सबल हुन गाह्रो हुने देखिन्छ।
१ कक्षादेखि १२ कक्षासम्म १२ वर्ष अनिवार्य अङ्ग्रेजी पढेर आएका विद्यार्थीलाई स्नातक तहमा २०० पूर्णाङ्कको अनिवार्य अङ्ग्रेजी पढाउन पर्ने मानिएका अवस्थामा ६ महिनाको संस्कृत भाषाप्रशिक्षण मात्र लिएर शास्त्रीमा प्रवेश गर्ने विद्यार्थीलाई १०० पूर्णाङ्कको मात्र र त्यो पनि साहित्य-परक अनिवार्य संस्कृत १ पत्र मात्र पढाएर शास्त्री तह उत्तीर्ण हुने व्यवस्था गर्दा संस्कृतको शिक्षण अत्यन्तै अपूर्ण रहने देखिन्छ।
यस परिस्थितलाई पनि ध्यानमा राखी संस्कृतको ज्ञान राम्रो हुन सक्ने गरी शास्त्रीको पाठ्यक्रम बनाउन उचित हुन्छ। आवश्यकतानुसार समग्र शास्त्री तहमा २२०० पूर्णाङ्क राखेर भए पनि चारवर्षे शास्त्रीमा संस्कृत-भाषा-शिक्षण र संस्कृत-वाङ्मय-शिक्षणलाई पर्याप्त पूर्णाङ्क दिइनुपर्छ।
३. त्रिभुवन-विश्वविद्यालयमा चारवर्षे स्नातक तहमा अतिरिक्त मूल विषय (Elective) मा २०० पूर्णाङ्कका २ पत्रहरूको व्यवस्था भएजस्तै संस्कृत विश्वविद्यालयमा पनि अतिरिक्त मूल विषयको व्यवस्था गर्नुपर्छ।
४. अनिवार्य नेपाली, नेपाल अध्ययन आदि विषयमा पनि संस्कृतमूलक पाठ्यवस्तु राख्नुपर्छ।
५. शास्त्रीय मूल विषय वेद, व्याकरण, साहित्य, ज्योतिष आदिमा सम्बद्ध अन्य विषयहरूको परिचयात्मक ज्ञान दिने व्यवस्था हुनु वाञ्छनीय हुन्छ।
६. आधुनिक विषय समूहमा पर्ने मुख्य विषयहरू अर्थशास्त्र, राजनीतिशास्त्र, गणित, अङ्ग्रेजी आदिमा पनि संस्कृत वाङ्मयसँग सम्बद्ध ती ती विषयको केही पूर्णाङ्क हुनुपर्छ । तिनमा १०० पूर्णाङ्क अथवा न्यूनतम ५० पूर्णाङ्क भए पनि संस्कृत-मूलक विषयवस्तु पढाउनु उचित हुन्छ। (विस्तृत तल फोटोमा)
यो सुझाबपत्र २०७७।६।२२ मा विद्युतीयमाध्यम ईमेलबाट उपकुलपति कार्यालयमा प्रस्तुत गरिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिज्यू समक्ष प्रस्तुत सो सुझाबपत्र सम्पूर्ण संस्कृतप्रेमीहरूका जानकारीका निम्ति यहाँ प्रस्तुत गरिएको छ-