समसामयिक स्तम्भमा हामीले फेसबुक वा ट्विटरका समसामयिक साहित्यिक विषयलाई समेट्ने योजना बनाएका छौँ । लेखनाथ पौडेलको जन्मजयन्तीका अवसरमा प्रा. केशव सुवेदीले पोस्ट गरेको स्टाटसलाई नै यसपटकको समसामयिक विषयका रूपमा प्रसततु गरेका छौँ । यस अभिव्यक्तिमा लेखनाथ पौडेलको कविताको वर्तमान राजनीतिको सहसम्बन्ध खोजिएको छ ।
-सम्पा. |
आजभोलि नेपाली राजनीतिक वृत्तमा उहिल्यै कविशिरोमणि लेखनाथद्वारा अभिव्यक्त एउटा डिस्कोर्स निकै चर्चामा छ :
ईंट काठको बटुली रास
यो घर ठाडो पार्ने खास
सकल बिलाए कर्मी ज्यामी
ओत बसेका छौं सब हामी।।
यसका अगिल्ला तीन पाउले त निकै महत्त्व पाए।हो पनिस कर्मीले जस्तै कार्यकर्ताका भावना बटुलेर नेता बनाइएका हुन्। तर चौथो पाउको आशय चाहिं बिर्सिएजस्तो लाग्यो। त्यसैकारण अब ढिलोचांडो उनै लेखनाथको यससँगैको अर्को डिस्कोर्सको पनि त टुङ्गो लाग्नैपर्ने होला :
तिमीले भन्छौ यो घर मेरो
म पनि कहन्छू यै घर मेरो
वास्तव तिम्रो हो वा मेरो
खूब लगाऊ मनमा फेरो।।
लेखनाथले त भनेकै थिए तर नेपाली राजनीतिमा यस्ता भनाइलाई कसले टेरपुच्छर लगाओस् :
छोड़ सबै त्यो रीस र राग
पुछिद्यौ दिलको कालो दाग
मिलिजुली सबले घाम र पानी
छल्नैपर्दछ आखिर नानी।।