- संस्मरण
सुवासचन्द्र न्यौपाने स्रष्टा द्रष्टा एवम् सञ्चारचेतना भएका लेखक हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको राजेन्द्र सुवेदी विषयक भावनात्मक संस्मरणलाई समेटिएको छ । यस संस्मरणले सुवेदीको साहित्यिक र शैक्षिक व्यक्तित्वको उजागर गरेको छ ।
-सम्पा. |
कहिलेकाहीँ मृत्युका समाचारले मलाई निकै भावुक बनाउँछ । जीवन र मृत्युलाई सामान्य स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गर्नुपर्छ भन्ने मान्यता राख्ने म आज भने निकै भावुक भएको छु । धेरै मृत्युका घटनाहरू सुनिरहे पनि आजको जस्तो आँखाबाट आँसु आएको थिएन मृत्युका समाचारले । आज भने मेरा आँखा नरसाइ छोडेनन् । मन भरिएर आयो । भारी मन लिएर धेरै बेर एक्लै टोलाइसहेँ । किन मैलै जन्म र मृत्युको यो स्वाभाविक प्रक्रियालाई आज आत्मसात गर्न सकिनँ ।
आज मेरा आदर्श गुरु, मेरो जीवनका पथप्रदर्शन प्रा. राजेन्द्र सुवेदीको त्यो निर्भीक र साहसिलो जोस, जाँगर, उत्साह र स्वाभिमान सबैलाई कोरोनाले जित्यो । कसैसँग नहार्ने र सत्यमा अडिग रहँदा हार्नु हुँदैन भन्ने शिक्षा दिने मेरा गुरु आज किन कोरोनासँग हार्नुभयो ? यही अनुत्तरित प्रश्नले मन घरीघरी बोझिलो बन्छ र आँखा भरिएर आउँछन् ।
वि.सं.२००२ साल साउन १९ गते पाँचथर लिल्लाको अमरपुरमा जन्मनु भएका राजेन्द्र सुवेदी सङ्घर्षको पर्याय हुनुहुन्थ्यो । जस्तोसुकै कठिन परिस्थितिसँग सामना गर्न सक्ने र सधैँ मीठो मुस्कानका साथ व्यवहार गर्ने राजेन्द्र सरले हजारौं विद्याथीहरूलाई ज्ञान बाँड्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्न जाँदा २०५६ सालदेखिको चिनजान, भौतिक सामिप्य र आत्मीयता आजसम्मको मात्र रहेछ ।
नेपाली उपन्यास शिक्षणका क्रममा “राजेन्द्र सरको क्लास म टेप रेकर्ड गरेर राख्छु” भन्ने मेरा प्रिय मित्र कर्ण कार्कीसँग त्यो रेकर्ड भए आज म गुरुको उपन्यासको कक्षा धीत मरुन्जेल लिन्थेँ तर मित्र रात समुद्र पारी हुनुहुन्छ र सर सधैँका लागि मजस्ता हजारौं शिष्य, शुभचिन्तक, आफन्त र सिङगो नेपाली साहित्यलाई छाडेर जानुभएको छ भन्दा विश्वास लागिरहेको छैन । त्यो उज्ज्वल मुहार, मृदु मुस्कान र ओजस्वी आवाज आज पनि मनमस्तिष्कमा जातै छ । आज रमिता छ पढाउँदा संसारको रमिता देखाउने, वेद, उपनिषद्, पुराण, इतिहास, उत्तरवैदिककालीन समाज, मानव सभ्यता, समाजको विकास, माक्र्सवादी दर्शन आदि कैयौं विषयको पृष्ठभूमिसहित रोचक र आकर्षक प्रस्तुति दिने प्रिय गुरु आज सम्पूर्ण नेपालीहरूलाई रमिता देखाएर जानुभयो ।
यस बन्दाबन्दीमा आज घरमै धेरै काम थिए तर कुनै काममा हात लागेको छैन । झलझली गुरुको मुहार याद आइरहेको छ । वारम्वार भक्कानिएर रुवाइको बाँध फुट्न खोज्छ । जसरी तसरी अव्यक्त रोदनलाई रोक्दै गुरुकै सम्झनामा केही लेख्ने जमर्को गरेको छु । यो लेख कुनै खोजमा आधारित छैन । तथ्य यथावत नहुन सक्छन् । भावुक हृदयले गुरुका बारेमा जेजस्ता कुराको सम्झना भयो त्यसैका आधारमा केही लेख्ने प्रयास गरेको छु ।
“सुबह होती है, साम होती है, जिन्दगी युँही तमाम होती है” भन्ने हिन्दी भाषाको कविताको हरफको स्मरण भयो । “मानव जीवन पीडा र बाध्यताले भरिएको हुन्छ, यही पीडाका बीचमा हाँस्न सक्नुपर्छ र जीवनलाई सार्थक बनाउनुपर्छ” भन्ने गुरु राजेन्द्रले आफ्नो जीवन सार्थक बनाउनुभयो । गुरुले देखाएको बाटोमा आफू हिँड्न नसकेकोमा आज पीडा बोध भएको छ । ससाना समस्याहरूले पनि पिरोलिएर आफू अल्मलिरहेको हुन्छु । ससाना दुःखमा पनि कष्ट अनुभव गरिरहेको हुन्छु तर गुरु राजेन्द्र सुवेदीका सङ्घर्ष र पीडा सम्झँदा जिउ सिरिङ्ग हुन्छ ।
जतिसुकै पीडा भए पनि अरूलाई नदेखाउने गुरुको गुण ग्रहण गर्ने प्रयास गरेको छु । “निरन्तर आफ्नो काममा लागिरहनुपर्छ” भन्ने गुरुको वचनलाई पालना गर्ने प्रयास गर्दागर्दैै पनि केही महŒवपूर्ण काम गर्न सकिरहेको छैन । “निरन्तर अध्ययन र साधनामा लागि रहनुपर्छ” भन्ने गुरुको आदर्शलाई आत्मसाथ गर्न सकिएको छैन । जीवन केही रहेनछ, यो त केवल दुईदिनको घामछाया मात्र रहेछ भन्ने लाग्छ र निराशाले छाउँछ तर गुरुको जीवनलाई नजिकबाट नियाल्ने अवसर पाएकाले जीवनबाट हार खाएर नभाग्ने हौसला प्राप्त हुन्छ ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउनु भएका राजेन्द्र सर बहुमुखी प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो । नेपाली निबन्धमा प्रगतिशील चिन्तन राख्ने सुवेदीका निबन्धले सामाजिक, राजनैतिक अराजकताप्रति तीब्र व्यङ्ग्य गरेका छन् । अब मेरो क्यासेट बन्द हुन्छ, खाली शिशी पुराना कागज, गुडवाइ छोडिजानेहरूलाई जस्ता सशक्त निबन्धका माध्यमबाट समाजका अनेकौं प्रवृत्तिहरूको उजागर गर्ने राजेन्द्र सुवेदी नेपाली समालोचनाको पर्याय हुनुहुन्थ्यो ।
नेपाली उपन्यास परम्परा र प्रवृत्ति सरको आधिकारिक समालोचना ग्रन्थ हो । यस ग्रन्थमा नेपाली समालोचना परम्परमा देखा परेका समग्र पक्षहरूको विश्लेषण गरिएको छ । यसका साथै गुरुका विषय गहन सतह चिन्तन, स्रष्टा सृष्टि द्रष्टा सृष्टि, नेपाली समालोचना परम्परा र प्रवृत्ति, केही समीक्षण केही विश्लेषण, सिर्जन विधाका परिधिमा पारिजात, सिर्जन विधाका परिधिमा ध्रुवचन्द्र गौतम, सिर्जनात्मक लेखन सिद्धान्त र विश्लेषणजस्ता दर्जनौं समालोचनात्मक कृतिहरू प्रकाशित भएका छन् भने गुरुले स्नातकोत्तर नेपाली कथा, स्नातकोत्तर नेपाली निबन्ध, दाडिमको रुखनेर, स्रष्टा देवकोटा द्रष्टा परिवेशमा, सूक्तिसिन्धु, प्रियदर्शिकाजस्ता कृतिहरूको सम्पादन गर्नुभएको छ । सुवेदीले मोहनराज शर्माको सहसम्पादनमा समसामयिक साझा कथा र रुद्र खरेलसहितको सहसम्पादनमा चालिसका दशकका केही प्रगतिशील कविताहरूको सहसम्पादन गर्नुभएको छ ।
नेपाली समालोचनाको विकासमा मात्र होइन सृजनामा पनि गुरु राजेन्द्र सुवेदीको कलम सशक्त रूपमा चलेको पाइन्छ । खाली शिशी पुराना कागज, मेरो यात्रा मेरै परिवेशमा, अब मेरो क्यासेट बन्द हुन्छ, गुडवाई छोडी जानेहरूलाई जस्ता निबन्ध सङ्ग्रहहरू प्रकाशित भएका छन् भने मेरो निर्माण महाकाव्य र समकालीन नेपाली उपन्यास प्रकाशोन्मुख रहेको कुरा केही वर्षअघि उहाँकै निवासमा जाँदा सुनाउनु भएको थियो । सायद ती कृति पनि प्रकाशित भए होलान् । यी पुस्तककारकार कृतिबाहेर सयौं कृतिहरूको भूमिका, जर्नलहरूमा विभिन्न अनुसन्धानमूलक लेखहरू गुरुका प्रकाशित भएका छन् ।
यी मेरो जानकारीमा आएका बाहेक अरू पनि सिर्जनाहरू हुन सक्छन् । गुरुका २७ वटा पुस्तकहरू प्रकाशित भएको सूचना प्राप्त भएको छ । अझै कति अप्रकाशित र प्रकाशनको तयारीमा रहेका थिए होलान् । यी सारा काम अधुरै छाडेर यति धेरै काम सम्पन्न गरेर गुरु हामीबाट सँधैका लागि विदा हुनुभएको छ । गुरुले आफ्ना कृतिमार्फत प्रस्तुत गर्नुभएका विचार ग्रहण गर्न नै ्हामीलाई वर्षौ लाग्छ । यसप्रकार नेपाली, भाषा साहित्य र समग्र वाङ्मयले आज एक नक्षत्र गुमाएको छ । यो अपूरणीय क्षति भोग्न हामी आज विवश भएका छौँ ।
ताप्लेजुङको सिनाममा शिक्षकको रूपमा शिक्षण प्रारम्भ गर्नुभएका गुरुले २०३९ सालदेखि २०४५ सालसम्म इलामको महेन्द्र रत्न क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी समाल्नु भएको थियो भने लामो समयसम्म कोटेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख र २०६४ सालदेखि २०६८ सालसम्म नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा विभागीय प्रमुखको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको थियो । उहाँ विभागीय प्रमुख हुँदा हामीले महेन्द्र क्याम्पस धरानमा गरेको कार्यक्रममा आउँदाको स्मरण आजसम्म ताजै छ ।
हजारौं विद्यार्थीहरूका कुशल शोधगुरु आदरणीय राजेन्द्र सुवेदीको निधनको खबर असत्य भइदिए हुन्थ्यो, “ए न्यौपाने केटा ! के गर्दै छौ ?” भन्ने वाक्य फेरि कतैबाट आए हुन्थ्यो जस्तो लाग्छ । काठमाडौं जाँदा “कहिले आयौ ? धरानको खबर के छ ?” भन्ने वाक्य सुन्न मन छ । “के गर्दै छौ ? गर है गर धेरै काम गर्नुछ” भन्ने वाक्य सुन्न मन छ तर यी सबै मेरा चाहनाहरू अधुरै रहे । अब गुरुका यी अर्ती उपदेशहरू मौखिक रूपमा सुन्न नपाइने भयो । त्यो अथाह ज्ञानराशी भएको मस्तिष्क अग्निले कसरी दहन गर्न सक्छ भन्नेमा म विस्मित छु । यो दिव्य शरीर, त्यो दिव्य मुहार, त्यो अलौकिक जादुमय हाँसो कसरी अग्निको ज्वालामा समाप्त होला भन्नेमा म विस्मित छु । धन्य हो विधिको विधान । पूर्वीय दर्शनको निष्कर्ष “यस्तै लेखेको रहेछ” भन्नुबाहेक कुनै उपाय छैन ।
केही मृत्युहरूले मानिसलाई असीम वेदना दिएर जाँदा रहेछन् । राजा वीरेन्द्रको मृत्युमा, आफ्नै पिताजीको मृत्युमा म यसैगरी भावुक भएर रोएको थिएँ । चन्द्रमणि अधिकारीको मृत्युमा धेरै मानिसहरू यसरी भावुक भएर रोएको देखेको थिएँ । बाहिर अरूले नदेखे पनि आज दिनभरि यो मन रोइरह्यो । मन काबुमा राख्न धेरै प्रयन्त गर्नुप¥यो । अझ काबुमा राख्न सकिरहेको छुइनँ । यो भावुक हृदयले के लेखौँ गुरु ! दिनभर आँखा ओभाउन सकेका छैनन् । मन समालिन सकेको छैन । तपाईँ जहाँ भए पनि त्यो सुन्दर मादक हाँसो कायम रहोस्, विद्यार्थीहरूलाई यसैगरी स्नेह र आशीर्वाद प्रदान गरिरहनुहोस्, हामीलाई सत्मार्गमा हिँड्ने प्रेरणा सधैँ प्रदान गर्नुहोस् भन्ने कामना गर्दछु ।
यहाँको दिव्य शरीर भौतिक रूपमा नभए पनि यो मानवपटलमा गुरुको मुहार सधैँ ताजै रहिरहने छ । जहाँ जे जस्तो अवस्थामा भए पनि सुखी र सक्रिय रहनुहुनेछ भन्ने विश्वासका साथ आँखाभरि अश्रुधारासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्न विवश छु गुरु ! गुडवाई गुरु ! यहाँकै शब्द सापट लिएर “गुडवाई छोडेर जानेहरूलाई” भन्न बाध्य छु । भावपूर्ण श्रद्धाञ्जली, श्रद्धासुमन आदरणीय गुरु राजेन्द्र सुवेदीप्रति तथा शोकाकूल परिवारमा समवेदना ।