आफ्नो पहिलो तस्बिर सम्भवत सबैलाई प्रिय लाग्छ । मलाई आफ्नो पहिलो तस्बिर देखेर लागेको खुसी शब्दमा व्यक्त गर्न सकिरहेको छैन । परिवारमा म सबैभन्दा जेठो सन्तान हुँदा सानो हुन्जेल जहाँ जाँदा पनि माताजीको पुच्छर लाग्थेँ । बजार, मावल, घाँस दाउरा, मेलापात जहाँ जाँदा पनि माताजी पछ्याउँथेँ । त्यो क्रम दुई वटी बहिनी अलि ठुला हुन्जेल रहिरह्यो ।
यो तस्बिर म त्यस्तै छ–सात वर्ष उमेरको हुँदाको हो । यसमा बायाँबाट क्रमश: मेरी मातामही, माताजी र म छौँ । मेरो घर पाँचथरको सुभाङ र मावल गुँगा हुँदा मेरी माताजी र मातामहीको भेटघाट गर्ने थलो पनि थियो चतुरे बजार । मेरी माताजी हाटमा लगेर मकै, खोर्सानी यस्तै केही बेच्नुहुन्थ्यो । मातामही पनि प्राय: मकै, कोदो र खोर्सानी बेच्नुहुन्थ्यो । म सक्ने भएपछि मकै बोकेर र सानो हुन्जेल खोर्सानी बोकेर माताजीसँग बजार जान्थेँ । माताजीका छेउमा खोर्सानी फिँजाएर बस्थेँ । एक एक मुठी खोर्सानी राखेर रूपैयाँ भाग बेच्ने चलन थियो । त्यस्तै बीस पच्चिस रूपैयाको खोर्सानी बेच्थेँ । फर्कँदा प्राय: मटितेलको ग्यालेन बोकेर फर्कन्थेँ ।
तिथि मिति केही थाहा छैन । एक दिन बजार पुगेर भारी बिसाउँ भन्दा सबैभन्दा पहिला मैले मातामहीलाई देखेँ । म कुदेर वहाँका छेउमा पुगेँ । माताजी नानी कता गएको हराइन्छ भन्दै उतै पुग्नुभयो । त्यस बेला बजारमा अचानक आमा छोरी भेटिँदाको हर्ष र मुखाकृति हेर्न लायक थियो । म अहिले पनि राम्रैसँग सम्झिइरहेछु । माताजीले आफ्नी आमासँगसँगै बसेर आफूले लगेका सामग्री बेच्नुभयो । सम्भवत: उहाँहरूले थुप्रै दु:खसुखका कुरा गर्नुथियो र अलि सस्तो दिएर छिटै बेच्नु भयो । त्यसपछि किनमेल गर्नुभयो । मलाई सख्खर, मिश्री, राता मिठाई तीन चारथोक किनिदिनुभयो । त्यसदिन माताजी र मातामही दुवैका तर्फबाट मायाले किनिदिएका खानेकुरा मिल्दा म निकै खुसी थिएँ । दुई जनाका तर्फबाट विभिन्न कुरा मिलेका थिए । नुन, मसला, चुरा, टीका, साबुन यस्तै केके किनमेल सकेपछि मातामही र माताजीले फोटो खिच्ने सल्लाह गर्नुभयो ।
सम्भवत मेरी माताजीको आफ्नी माताजीसँग फोटो खिच्ने धोको थियो । यो फोटोबाहेक उहाँको आफ्नी माताजीसँग खिचेको अर्को फोटो कहीँ पनि छैन । त्यस बेला माताजीको उमेर त्यस्तै सत्ताइस वर्षको हुँदो हो । उहाँले कुरा बुझेर आफ्नी आमा र छोरालाई सँगै राखेर फोटो खिच्ने योजना गर्नुभएको हो भन्ने लाग्छ । यो फोटो अर्को अर्थमा पनि ऐतिहासिक छ । यस फोटोमा लगाएका जुत्ता मोजा मेरा पहिलो जोडी जुत्ता मोजा थिए । त्यसअघि खाली खुट्टा र चप्पलमा हिँडिन्थ्यो । सम्भवत: त्यस दिन मेरी माताजीलाई छोरालाई पनि जुत्ता मोजा लगाइदिएर राम्रो बनाएर बजार ल्याएकी छु भन्ने लागेको थियो । आज माताजीको त्यो योजना मेरो लेखको विषय बनिरहेको छ । उहाँहरूका छेउमा बसेर मेरो मन उसरी नै फुरुक्क परिरहेको छ । उहाँहरूकै माया र आशीर्वादले मेरो हात यति अक्षर लेख्ने भएको छ ।
दशकौँ पछि यो तस्बिर हेरेर म निकै भावुक पनि भएँ । आज मातामही एकानब्बे वर्षमा हिँडिरहनुभएको छ । यो तस्बिरको आयु पनि साढे तीन दशक लामो भइसकेको छ । त्यस बेला चतुरे बजारमा कसले फोटो खिच्थ्यो भन्ने सोधीखोजी गर्यो भने यसका फोटोग्राफरको नाम पनि पत्तो लाग्न सक्छ । त्यहाँ भर्खर भर्खर मात्र तस्बिर खिच्ने चलन भएका बेला खिचिएको हुनुपर्छ । त्यसभन्दा अगाडि बजार जाँदा तस्बिरका विषयमा चर्चा चलेको थाहा छैन । यो तस्बिर मेरी माताजीको मात्र नभई मातामहीको पनि पहिलो तस्बिर हुन सक्छ । यसपूर्वको उहाँहरूको तस्बिर मैले देख्न पाएको छैन । म आफैले मेरो यो भन्दा कलिलो अनुहार अवलोकन गर्न पाएको छैन ।
तस्बिरको बसाई, लवाई र पछाडिको कालो पर्दाले मलाई आज चतुरे डाँडाको हाटबजारभित्र डुलाइरहेको छ । अलिकति खोर्सानी बेचेर खल्तीमा हालेको बीस रूपैया सम्झना गराइरहेको छ । मेरा र मावली घरका समस्या र आर्थिक अवस्थालाई चिनाइरहेको छ । त्यो अभावका बिच तत्कालीन समाजमा मनोरञ्जन र फजुल खर्च मानिने फोटो खिचेर गरेको खर्च आज मेरो बौद्धिक सम्पत्ति बनिरहेको छ । यसका लागि माताजी र मातामहीमा अनेक आभार अभिवादन । अहिले हामी मोरङ, पाँचथर र काठाडौँमा तीनतिर छरिएर रहेका छौँ । यो फोटो हेर्दा लाग्छ हामी चतुरे बजारमै छौँ । म सुभाङमै माताजीसँगै छु । मातामही खुँगामै हुनुहुन्छ । हामी चतुरे बजारमा भेटिएर खोर्सानी,मकै र कोदो बेचेर किनमेल सकेर फोटो खिच्न बसेका छौँ । अर्को पन्ध्र दिनपछि आफ्नो फोटो आउनेमा ढुक्क भएर घर फर्किएका छौँ ।
– रमेश शुभेच्छु