काठमाडौँ । राष्ट्रिय कविता महोत्सव–२०७८ मा भोजपुरकी कविता राईको कविता ‘देशको नक्सा’ प्रथम भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औँ वार्षिकोत्सवका अवसरमा असार ९ गते आयोजना भएको सो महोत्सवमा अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ‘ कविता द्वितीय तथा तीन वटा कविता तृतीय घोषित भएका छन् ।
तृतीय हुनेमा ताप्लेजुङकी सविता बरालको कविता ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ रहेका छन् ।
प्रथम हुने कविले स्वर्ण पदकसहित रु. ५० हजार, दोस्रो हुनेले रजतसहित ४० हजार र तेस्रो हुनेले काँस्य पदकसहित रु. ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार विशेष कार्यक्रमकाबिच राष्ट्रपतिको हातबाट प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
महोत्सवमा ७ सय ६४ कवितामध्ये ४१ वटा वाचनका लागि छनोट भएका कविता महोत्सवका संयोजक तथा साहित्य (पद्य र काव्य) विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जानकारी दिए ।
महोत्सव कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । २०२२ सालदेखि असार गतेका दिन महोत्सव आयोजना हुँदै आएको छ ।