काठमाडाैँ : साहित्य सन्ध्याको ४१७ औँ कविगोष्ठी यसै साता सम्पन्न भएको छ । कोरोना महामारीका कारण हुन नसकिरहेको गोष्ठी भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
गोष्ठीमा ४४ वटा सिर्जना वाचन भएका सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए । व्यङ्ग्यात्मक तथा विद्रोहपूर्ण, सामाजिक-राजनीतिक, समसामयिकलगायत चेत भएका कविता, हाइकु, गीतलगायतका सिर्जना वाचन गरिएका हुन् । वाचित सिर्जनाको कवि जयन्ती स्पन्दनले संक्षिप्त टिप्पणी गरेकी थिइन् ।
गोष्ठीमा हालसालै दिवंगत भएका साहित्यकार तथा समालोचक प्रा. राजेन्द्र सुवेदीलगायत कोरोनाबाट दिवंगत भएका स्रष्टालाई श्रद्धाञ्जली अर्पणसमेत गरिएको थियो ।
गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ लक्ष्मी मालीलगायतको उपस्थिति रहेको थियो ।