काठमाडौँ । साहित्यकार प्रा. राजेन्द्रर सुवेदीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पाँचथर स्रष्टा मञ्चले यसै साता भर्चुअल माध्यमबाट सभा श्रद्धाञ्जली सभा गरेको हो ।
सभा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले समीक्षक तथा साहित्यकार प्रा. राजेन्द्र सुवेदीले नेपाली साहित्य क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको बताए । सुवेदीको निधनले नेपाली समालोचना क्षेत्र र नेपाली साहित्य जगत्लाई अपुरणीय क्षति भएको समेत बताए । ‘साहित्यकार प्रा. राजेन्द्र सुवेदीले नेपाली वाङ्मयलाई दिनुभएको योगदानको उच्च कदर गर्नुपर्छ’, उनले भने, ‘उहाँको कदम र पदचापलाई पछ्याउने अनि प्रेरणालाई आत्मसात गर्ने कार्यले उहाँमा सच्चा श्रद्धा अर्पण हुनेछ ।’
त्यस्तै विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रा. सुवेदी बहुविधाका बहुप्रतिभा भएको बताए । उनले प्रा. सुवेदी र आफू एकै किसिमको परिवेशमा जन्मिएर शिक्षा प्राप्त गरेको स्मरण गरे । ‘हामी एकै किसिमको परिवेशमा जन्मिएर शिक्षा लिएको भयो’, उनले स्मरण गरे, ‘तैपनि निकै लामो समयपछि, २०२८ सालमा हाम्रो संयोगले भेट भयो र परिचय भयो ।’
कुलपति उप्रेतीले प्रा. सुवेदीको विशिष्ट योगदानको चर्चा र बहस अनन्तसम्म चलाउनुपर्नेमा पनि जोड दिए ।
सभामा नेपाल सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य ‘के. के. कर्माचार्य’, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।
कोरोना संक्रमित भएर शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत सुवेदीको गत ज्येष्ठ ३ गते निधन भएको थियो । उनका दुई दर्जन बढी पुस्तक प्रकाशित छन् ।