काठमाडौँ । लोकसंस्कृतिविद् प्राध्यापक मोतीलाल पराजुलीको निधन भएको छ । क्यान्सर पीडित पराजुलीको यसै साता ६५ वर्षको उमेरमा निधन भएको हो ।
उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो ।
२०१३ साल माघमा कास्कीको चापाकोटमा जन्मिएका पराजुली त्रिभुवन विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेका थिए । पराजुलीका ‘नेपाली लोकगाथा’, ‘नेपाली रचना कला’, ‘धर्मात्मा राजा’, ‘विशेष लेखन’, ‘नेपाली लोकनाटक : सिद्धान्त र विवेचना’, ‘सोरठी नृत्य नाटिकाः सैद्धान्तिक अध्ययन’, नेपालीमा प्रचलित नृत्य र नाटिकाहरू’, चार भागमा ‘नेपाली लोककथा संग्रह’ (चार भाग), ‘नेपाल लोकसाहित्यको रुपरेखा’ (सहलेखन), नेपाली लोककथा सिद्धान्त र विश्लेषण’, ‘नेपाली प्रदर्शनकारी कला भाग–४’ लगायत कृति प्रकाशित छन् । ‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुलीले ‘बालन लोकनाट्य’, ‘सवाई लोककाव्य’, ‘लोक साहित्यका अध्ययन पद्धति’, ‘रामकथा’, ‘सोरठी पावरा र सोरठी लोकनाटकको तुलना’, ‘कास्की जिल्लाका गाथा’, ‘गण्डकी अञ्चलका लोकनाच’, ‘आँधीखोले भजन चुड्का’ विषयमा अनुसन्धान गरेका थिए ।
पराजुली नेपाल लोकवार्ता संस्कृति समाजका सदस्य र लोकवार्ता परिषद् नेपालका सल्लाहकार थिए ।
उनका धर्मपत्नीको समेत दुई साताअघि कोरोनाका कारण निधन भएको थियो ।