- समाचार
काठमाडौँ । गैरआवसीय नेपाली सङघले ‘एनआरएन द सिङ्गर’ रियालिटी शो गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली प्रतिभालाई गायनमार्फत् चिनाउने उद्देश्यले साङ्गीतिक रियालिटी शो हुन लागेको हो ।
प्रतियोगितामा सार्क नेपाल र सार्क मलुकबाहेकका देशमा रहेका १५ वर्षभन्दा माथिका प्रतिभाले सहभागिता जनाउन सक्ने बताइएको छ ।
असार पहिलो सातादेखि सुरु हुन लागेको प्रतियोगिताको सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने निर्णायक रहेका छन् ।
प्रतियोगिताका बारे जानकारी दिन यसै साता गरिएको कार्यक्रममा पूर्व अध्यक्ष लामिछानेले प्रतियोगिता नेपाली भाषा, साहित्य तथा सङ्गीतलाई प्रवद्र्धन गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । ‘एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्नु पनि हो’, उनले भने, ‘यो कार्यक्रम त्यसतर्फ एक कोसेढुङ्गा हुने मैले विश्वास लिएको छु ।’
सङ्गीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको भन्दै प्रतियोगिताले नयाँ प्रतिभाहरू जन्माउने बताए ।
प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए ।