विराटनगर । पहिलो लघुकथा कृतिका लेखकका नाममा पुरस्कार घोषणा भएको छ । लघुकथा समाज नेपालले नेपालका पहिलो लघुकथा कृतिका लेखक पूर्णप्रसाद ब्राह्मणका नाममा पुरस्कार स्थापना गरेको हो ।
लघुकथा समाज नेपालका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र श्रीमती ललिता श्रेष्ठले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार घोषणा गरिएको हो ।
समाजद्वारा प्रत्येक वर्ष लघुकथाका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई समाजको वार्षिकोत्सवको अवसर पारेर सो पुरस्कार प्रदान गरिने बताएको छ । पुरस्कारको राशि ११ हजार १ सय एघार रुपैयाँ हुनेछ ।
ब्राह्मणको विक्रम संवत् २००७ सालमा ‘झिल्का’ नामक लघुकथा कृति नेपालबाट प्रकाशित भएको थियो । सोही साल डा. जयनारायण गिरीको लघुकथा संग्रह भारतबाट प्रकाशित भएको पाइए पनि नेपालमा प्रकाशित भएका आधारमा ब्राह्मणको कृतिलाई पहिलो मानिएको अध्यक्ष श्रेष्ठले बताए ।