गत शनिबार राजधानीको बाल्मीकि विद्यापिठमा एक कार्यक्रमको आयोजना गरी कवि त्रयोदशको खण्डकाव्य त्रयोदश काव्यकृतिको लोकार्पण एवम् काव्य मिपर्श समारोह सम्पन्न भयो । काव्य त्रयोदशका कवि राजेन्द्र सुवेदीको सभाध्यक्षता एवम् प्रा. डा. माधव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. महादेव अवस्थी र कवि रमेश खकुरेल विशेष अतिथिका रूपमा उपस्थित थिए ।
पोखरेलले काव्य सङ्ग्रहको लोकार्पण गर्दै नेपाली खण्डकाव्य विधाका विषयमा थप सैद्धान्तिक विमर्शको खाँचो रहेको र यी तेह्र कविताका मस्तिष्कले त्यस आवश्यकतालाई अझ जीवन्त बनाएको विचार राखे ।
अतिथि अवस्थीले लोकार्पित कृतिको समीक्षा गर्दै यी काव्यले वर्गीय चेतना, राष्ट्रिय चेतनालगायत बहुमुखी विषयवस्तु रहेको बताए । कार्यक्रममा कृतिका प्रकाशक शिखा बुक्सका पुष्प पौडेल, कवि भूवनहरि सिग्देल र रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्य र रचना गर्भका विषयमा बोलेका थिए । कवि नारायण निरासीले सङ्ग्रहबाट केही कविका कविता अंश वाचन गरेर सुनाएका थिए । कार्यक्रमको आयोजना र उपस्थितिप्रति राजेन्द्र सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए ।
काव्य त्रयोदशमा फरक उमेर समूहका तेह्र जना कविको सहभागिता रहेको छ । यसपूर्व यस समूहले आरोहण शीर्षकको महाकाव्य प्रकाशन गरेको थियो । खण्डकाव्य त्रयोदश शीर्षकको यस कृतिमा गोपीकृष्ण शर्माको सन्देश विजय, राजेन्द्र सुवेदीको मञ्जुश्री वाग्मती संलाप, भुवनहरि सिग्देलको शकुनि, ठाकुर शर्मा भण्डारीको सुधावसुधा, श्रीहरि फुयालको आमाश्री, प्रकाश चापागाईंको मगुई, जीवन अधिकारीको बुढ्यौली दर्शन, नारायणप्रसाद पोखरेलको उपरान्त, रामप्रसाद ज्ञवालीको मृत्युञ्जयी, लेखप्रसाद निरौलाको रतिप्रवास, देवी नेपालको पागल, रमेश शुभेच्छुको एकलव्य र नारायण निरासीको स्वप्नभङ्ग काव्यकृतिहरू समेटिएका छन् । वक्ताहरूले खण्डकाव्यका गम्भीर पाठकका लागि गम्भीर काव्य सङ्ग्रह प्रकाशनमा आएको चर्चा गरे ।