काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल प्रज्ञा-प्रतिष्ठानलाई सदैव सहयोग गर्न तयार रहेको बताएका छन् । प्रतिष्ठानका संरक्षकसमेत रहेका मन्त्री ढकाललाई बधाई तथा स्वागतका लागि आयोजित भेटघाट कार्यक्रममा मंगलबार सो प्रतिवद्धता जनाएका हुन् ।
‘मन्त्रालय प्राज्ञिक क्षेत्रको उन्नयनका लागि सदैव तत्पर छ’, उनले भने, ‘मन्त्रालयमा भर्खरै आएको छु । पछि थप जानकारी लिएर फेरि छलफल गरौँला, राम्रो गर्नुस् । राम्रो काम गर्नलाई म र मेरो मन्त्रालय साथमा हुनेछ ।’
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कोभिड महामारीका कारण प्रतिष्ठानका महत्त्वपूर्ण कार्यक्रम अवरुद्ध भए पनि आगामी दिनमा ती कार्यक्रमलाई अघि बढाइने बताए । देवकोटा सङ्ग्रहालय, नेपाल दर्पण महाग्रन्थको तयारी, चीनसँगको अनुवाद कार्यक्रम तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन जस्ता कार्यक्रम योजनाबारे पनि कुलपति उप्रेतीले मन्त्रीलाई अवगत गराएका थिए ।
कुलपतिले मुलुकको समग्र पहिचान झल्कने गरी सात ओटै प्रदेशका प्रादेशिक ग्रन्थ लेखन कार्य अघि बढाइएको र प्रदेश नं २ को लेखन सकिएको तथा बाँकी प्रदेशका लागि तीन करोड बजेट आवश्यक पर्ने भएकाले सहजीकरणका निम्ति मन्त्री ढकाललाई आग्रह गरेका थिए । प्रादेशिक ग्रन्थपछि नेपाल चिनाउने मानकका रूपमा नेपाल दर्पण महाग्रन्थ निकालिने उनले योजना सुनाएका थिए ।
कार्यक्रममा मन्त्री ढकाललाई कुलपति उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद्का सदस्यज्यूहरूले खादा ओढाई स्वागतका साथै बधाई र शुभकामना अर्पण गरेका थिए ।