काठमाडौँ । भर्खरै इलाममा बसेर साहित्य साधना गरिरहेकी नारी प्रतिभा प्रतिभा पौडेलको नवोदित समीक्षा कृति मेची मूच्र्छना लोकार्पण भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रम कोक गोष्ठी, प्रतिभा निकुञ्ज र छन्दचौतारीको संयुक्त आयोजनामा सम्पन्न भयो ।
प्रा. होमनाथ सुवेदीको अध्यक्षता र रमेश खकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. माधव पोखरेल, भुवनहरि सिग्देल, सोम निरौला, प्रह्लाद पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लोकार्पित कृतिबारे रमेश शुभेच्छु र मिश्र वैजयन्तीले समीक्षात्मक टिप्पणी गरेका थिए । कृतिको समीक्षा गर्दै युवा समीक्षक रमेश शुभेच्छुले कृतिलाई इतिहास, खोज र समीक्षा पनि भएको बताउनुभयो । उहाँले प्रतिभासँग चिनजान हुँदादेखि उहाँको साहित्यिक अभिरुचि र साहित्य यात्रा पनि प्रकाश पार्दै कृति बहुउपयोगी भएको टिप्पणी गर्नुभयो । उहाँले केही प्रतिभा छुट भए पनि लेखकको प्रयास अनुकरणीय रहेको बताउँदै कृतिमा समेटिएको लोकसाहितय खण्डको विशेष प्रशंसा गर्नुभयो । कृतिमा मेची अञ्चलका नारी हस्ताक्षरहरूको सरसरती इतिहाससहित प्रमुख विधामा कलम चलाउने २७ जना प्रतिभाका २७ कृतिको विश्लेषण गरिएको छ ।
कार्यक्रमका अर्का वक्ता मिश्र वैजयन्तीले कृतिका विविध पक्षमाथि प्रकाश पार्दै छुटेका प्रतिभाहरूका विषयमा पनि जानकारी दिनुभयो । कार्यक्रममा पौडेलले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अब निकट भविष्यमा मेची अञ्चलका नारी प्रतिभाहरूको परिचयात्मक कोश प्रकाशनमा आउने सूचना पनि दिनुभयो । भने भवानी खतिवडा, टीका घिमिरे, रीता पोखरेल, सिर्जना सरोवरले कविता वाचन गरेका थिए । हामीले यो समाचारलाई भिडियोसहित प्रस्तुत गरेका छौँ ।