काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोल प्रथम भएकी छिन् । नुवाकोटकी भूगोलको ‘नेपालको गीत’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो ।
प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवका अवसरमा मंसिर २९ गते आयोजित कविता महोत्सवमा लमजुङका प्रज्वल अधिकारी द्वितीय भएका छन् । उनको ‘सङ्कल्प’ शीर्षकको कविता द्वितीय भएको हो । त्यस्तै तीन जना कविलाई तृतीय पुरस्कार प्रदान गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तृतीय पुरस्कार प्राप्त गर्नेरू सोलुखुम्बुका गणेशप्रसाद खतिवडा, दोलखाकी देवकी अभिलासी र तेह्रथुमकी रेजिना आपागाई रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने कविलाई ५० हजार, द्वितीयलाई ४० हजार तथा तृतीय हुनेलाई ३०/३० हजार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा देशभरबाट प्राप्त ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिष्पर्धामा समेटिएको थियो ।