साहित्यिक पत्रकार सङ्घले साहित्यकार मन्जिला अनिलको दोस्रो कृति गोधूलि संसार उपन्यासको २०७७ मङ्सिर २० गते तपस होटल, काठमाडौंमा लोकार्पण समारोहको आयोजना गर्यो । लोकार्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यिक पत्रकारसंघका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष राधेश्याम लेकाली, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, साहित्यकारहरू ज्ञानु पाण्डे, रमेश शुभेच्छु र कृतिकारले संयुक्त रूपमा विमोचन गरेका थिए ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्त्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कुलपति उप्रेतीले “नारी स्रष्टाहरूको अभाव खट्किन नदिन मन्जिलाको लेखनले आउँदो दिनमा विशेष भूमिका खेल्ने छ । उहाँको सिर्जनाले आशाका किरण छरेको छ ” भन्नुभयो । उहाँले मञ्जिला देवकोटाकी पनातिनी भएको पक्ष उजागर गर्नुका साथै देवकोटा सङ्ग्रहालयका विषयमा काम भइरहेको पनिजानकारी दिनुभयो ।
कार्यक्रममा विमोचित कृतिबारे साहित्यकारहरू डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुले समीक्षात्मक टिप्पणी गर्नुभयो । कृतिकारको परिचय र कृतिको समीक्षा गर्दै शुभेच्छुले मञ्जिलाको कृति सबै खाले पाठकलाई रुचिकर रहेको बताउनुभयो । उहाँले कृतिभित्रकी पात्र रोमीमा मञ्जिलाका जीवनको पितृस्नेहको अभाव पनि पढ्न पाइने पक्ष उजागर गर्नुभयो । उहाँले यस कृतिलाई कविता, चिठीपत्र र प्रयाप्त संवाद समेटिएको आख्यान मात्र भन्दा पनि चम्पुशैलीको कृति भएको टिप्पणी गर्नुभयो । उहाँले कृतिको शीर्षकीकरण, कथानक, चरित्र योजना र अन्य विविध पक्षको चर्चा गर्दै नेपाली उपन्यासका प्रमुख मोड र प्रवृत्तिको पनि सङ्केत गर्दै गाधूली संसार उपन्यासलाई प्राकृतिकचेतना, सांस्कृतिकचेतना, नारीचेतना, राष्ट्रिय चेतना, सीमान्तीय चेतना, वर्गीय चेतना जस्ता बहुमुखी चेतनाका आधारमा अध्ययन गर्न सकिने बताउनुभयो ।
अर्का वक्ता डा. ज्ञानु पाण्डेले नारी लेखनमा पुरुषलाई शक्तिशाली बनाउने पक्षहरू समेटिनु नहुने बताउँदै कृतिमा रहेका केही कमी कमजोरी औँल्याउनुभयो । उहाँले लेखकलाई आगामी दिनमा अझ सशक्त कृतिका साथ उपस्थित हुन शुभकामना दिनुभयो । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष कार्यक्रमका सभापति लेकालीले एतिहासिक महत्त्वरहेको संस्था साहित्यिक पत्रकार सङ्घले आउँदा दिनमा नयाँ ढङ्गले काम गर्ने धारणा राख्नुभयो । लेकालीले भन्नुभयो – वि. सं. २०२९ सालमा स्थापित यो सस्थाले आगामी दिनमा नयाँ नयाँ कार्यक्रमहरूको आयोजना गरी साहित्यिक सक्रियता दिनेछ ।
कार्यक्रममा विमोचित कृतिका लेखक मन्जिला अनिलले आफ्नो लेखन यात्रा र कृतिकाबारे मन्तव्य राख्नुभयो ।समारोहमा गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्राकार युवराज नयाँघरेले मन्तव्य राख्नुभएको थियो । यस कार्यक्रमको सञ्चालन सङ्घका महासचिव पुष्पा खनालले गर्नुभएको थियो भने कार्यक्रमको आरम्भमै द्वारिका कुइकेलले लेखकको परिचय समेटेको गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अन्त्यमा देउडागायक यज्ञराज उपाध्याय, शंकर लामिछाने प्रतिष्ठानका महासचिव कमला रिसाल, अनिलनाथ उप्रेतीले गीतहरू गाउनु भएको थियो ।
कार्यक्रममा साहित्यकार मन्जिलालाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । यसैगरी प्रमुख अतिथि कुलपति उप्रेती, डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुलाई पनि मायाको चिनोसहित सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा अनेसासको केन्द्रीय उपाध्यक्षमा निर्वाचित साहित्यकार बाबा बस्नेतलाई दोसल्ला ओढाई बधाई ज्ञापन गरिएको थियो भने अमेरिकाबाट नेपाल आउनुभएकी साहित्यकार नीता श्रेष्ठलाई स्वागत सम्मान गरिएको थियो ।
कोभिड महामारीका कारण सामाजिक दुरी कायम गरी आयोजना गरिएको यो कार्यक्रममा सहभागी सबैले नेपाली आख्यानमा आएको परिवर्तन र पाठकीय भूमिकाकोबारे चर्चा गर्नुभएको थियो । सर्जक मन्जिलाको पहिलो कविता कृतिपछि आएको यो उपन्यासले “चम्पु स्वाद” को रूपमा रहेको शुभेच्छुको पाठकीय धारणासमेत थियो ।
साहित्यिक पत्रकार सङ्घ नेपाली साहित्यिक समाजमा एउटा विशिष्ट संस्था हो । यसले वर्षेनी कविता यात्रा, कथा दिवस, आत्मवाचन कार्यक्रम, साहित्यिक वनभोज कार्यक्रम गर्दै मैनाली कथा पुरस्कार, व्यथिथ काव्य पुरस्कारलगायत स्रष्टाहरूको अभिनन्दन र सम्मान पनि गर्दै आएको छ । यही क्रममा २०३८ सालमा विशेश्वरप्रसाद कोइरालाको अभिनन्दन गरेको थियो भने २०४५ पछि २०६४ सालसम्म गाइजात्रे कार्यक्रम पनि आयोजना गरेको थियो । यसरी संघले साहित्यिक सक्रियता निरन्तर रूपमा गर्दै आएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, दायित्त्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नारी साहित्य प्रतिष्ठानका अध्यक्ष गीता कार्की, पहिलो महिला चलचित्र निर्देशक, चलचित्र निर्देशक समाजको निवर्तमान अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी कवि सुचित्रा श्रेष्ठ, वी. एन. प्रकाशनका सूर्य वी. सी., साहित्यकारहरू सुमन वर्षा, सविता श्रेष्ठ बेहोसी, डा. शान्तिमाया गिरी, मधु पाठक, शान्ति रिसाल, रन्जना निरौला, ज्ञानु मन्जरी, नीशा के. सी., अतुल स्मृति गुरुकुलका अध्यक्ष बन्दना गौतम, उप्रेती समाजको अध्यक्ष मोहनकृष्ण उप्रेती र अनिलनाथ उप्रेती आदिको उपस्थिति रहेको थियो । लामो समय प्रत्यक्ष कार्यक्रममा सहभागी हुन नपाएका स्रष्टाहरूले प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुन पाएको अवसरलाई भेटघाट र विचार आदानप्रदानको अवसरकारूपमा लिएका थिए ।
(तस्बिर स्रोत : डी. आर. फोटो स्टुडियो)