- सम्पादकीय
असार महिना कृषिप्रधान मुलुकका नागरिकको मानो खाएर मुरी फलाउने महिना हो । संस्कृत साहित्य र वाङ्मयमा कृषिको चर्चा निकै महत्त्वसाथ भएको पाइन्छ । नेपाली साहित्य, संस्कृति र कलामा जति कृषिजन्य विषय र परिवेश समेटिनु पर्थ्यो त्यति समेटिन सकिरहेको छैन । मानव सभ्यताको विकाससँगसँगै जीवननिर्वाहको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा कृषिलाई अपनाउँदै आएको हो । यो कृषि पेसा नेपाली जातिको जनजीवनसँग अभिन्न छ तर हाम्रो समाजको दृष्टिकोण भने कृषि र कृषकलाई हेर्ने ज्यादै कमजोर छ ।
विश्व सन्दर्भमा भोकमरीले मानिस नमर्ने क्षेत्र भनेका कृषिप्रधान क्षेत्र मात्र हुन् । कृषकले अन्न उत्पादन गरेर आफू मात्र बाँचेका छैनन् संसारको प्राण धानिरहेका छन् । मानव सभ्यतालाई जोगाएका छन् । पृथ्वी सबै प्राणीको साझा वासस्थान भए पनि कृषि कर्म गर्ने सीप र क्षमता मानिससँग मात्र छ । कृषिकर्म मानव प्राण रक्षाको कर्म हो, मानवमा लाग्ने रोगहरूको उपचार र औषधी निर्माणको कर्म हो, मानव सञ्जीवनी निर्माणको कर्म हो, यो कर्म पेसा र व्यवसाय मात्र होइन मानव सभ्यताको संरक्षण र संबर्द्धनको दायित्वसमेत बोकेको कर्म पनि हो । यस कर्मलाई उन्नत, व्यवसायी र मानव हितका पक्षमा नलाउन्जेल मानव जातिको उत्तरोत्तर विकास सम्भव छैन ।
मानव अस्तित्वका लागि घाम, हावा र पानीजत्तिकै खाद्यान्नको आवश्यकता छ । टोलटोलमा व्यापारिक बैंक होइन अन्न, मकै, गहुँ, कोदो र अन्य नगदे एवम् खाद्य बालीका बैंक स्थापना हुन आवश्यक छ । गाउँगाउँमा आइ एन्जिओका बोर्ड होइन कृषि फार्म र कृषि उत्पादनका, संरक्षणका र प्रशोधनका बोर्डहरू राखिन आवश्यक छ । कृषिकर्मलाई नयाँ पुस्तामा श्रमको बानी र स्वस्थ्य अन्न एवम् फलफूलको स्रोतका रूपमा चिनाउन र कृषकलाई सम्मानित नजरले हेर्न आवश्यक छ । कुकुर डोर्याउनेलाई इज्जती र गाई चराउनेलाई बेइजती देख्ने नजरलाई उल्ट्यान आवश्यक छ । राज्यको भौतिक र मानसिक लगानी पनि कृषि क्षेत्रमा हुन आवश्यक छ । उत्पादन भएको अन्न सुकाउने प्रविधिदेखि सङ्कलन केन्द्र र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने छ । वास्तविक कृषकहरू पुरस्कृत र सम्मानि हुन आवश्यक छ । विचौलियाको व्यापार होइन कृषकको पेसा विकास गर्नुपर्ने भएको छ ।
विज्ञानले मल र प्रवृधिबाट खाद्यान्न उत्पादन वृद्धिमा सघाए पनि आफैले खाद्यान्न उत्पादन अथवा निर्माण गर्न सक्दैन । यसको प्रयोग जमिनका लागि कति उपयोगी छ भन्ने पनि प्रश्न उठिसकेको छ । यस अर्थमा मानव अस्तित्वका लागि र पृथ्वीको अस्तित्वका लागि पनि विज्ञानको भन्दा कृषिको महत्व छ । कृषिलाई जोगाइराख्न सकेमात्रै मानव अस्तित्व पनि वैज्ञानिक विकाससँगै जीवन्त रहन सम्भव छ । कृषिमा विविधतालाई अँगाल्दै वैज्ञानिक ढङ्गले खेती गर्ने र कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गरेर विश्वका विकसित मुलुकले थोरै जमिनबाट पनि धेरै उत्पादन गर्दै आएका छन् । थोरै किसानले गरेको उत्पादनले धेरै जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्दै आएका छन् । यसका विपरीत नेपालमा भने कुल जनसङ्ख्याको झन्डै दुईतिहाइको सङ्ख्यामा रहेका किसानले गर्ने उत्पादनले पनि सबै जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न पर्याप्त हुन सकेको छैन । परिणामतः वर्षैपिच्छे ठूलो परिमाणमा कृषिवस्तु आयात गर्नुपरेको छ । यसको तथ्याङ्क हेर्दा हामीलाई सोच्न ढिला भइसकेको छ । सोच्ने समय पनि छैन कृषिलाई आत्मसात गरिहाल्न र उत्पादनलाई सुरक्षित ढङ्गले थन्क्याउने, सुकाउने, संरक्षण गर्ने देखि सन्तुलित वितरणको व्यवस्था मिलाउन आवश्यक छ ।
यहाँ कृषि संस्कृतिको साहित्यिक कला एवम् सांस्कृतिक उपयोगको मात्र चर्चा गर्न खोजिएको हो । नेपाली साहित्यका इतिहासमा कृषकहरू नायक भएको साहित्य कम रचियो, कृषकहरू नायक भएका चलचित्र बनेनन्, कृषकका कर्मलाई सम्मान गर्ने चित्र र मूर्तिहरू बनेनन् । हामीले हाम्रा खेतका गरा, धानका बाली, कुलो आदिलाई हाम्रा साहित्यको परिवेश र विम्ब बनाउन सकेनौँ । राजकुलो नामका पुराना कुलाहरूलाई बाटो बनाएर कालोपत्रे गर्दै गयौँ । पोखरी सुकाएर बालबच्चाले विदेशी खेल खेल्ने ठाउँ बनायौँ । नयाँ बिउका नाममा झन्डै १५०० प्रजातिका धानहरू सिध्याउँदै गयौँ । यसरी नै मकै, गहुँ जौ र अन्य अन्नका प्रजाति सिध्याउँदै गयौँ । जुनेलो के चिन्न छाड्यौँ, जागिरे शिक्षाका पछि लागेर जागिरे र विदेशी भूमिका मेसिन जस्ता कामदार बन्यौँ तर कृषि सभ्यतालाई जोगाएर सम्मानित पेसा बनाउन सकेनौँ । जोखिममुक्त, निश्छल र आत्मनिर्भर पेसालाई अपमान गरेर किनारामा मिल्कायौँ र हावापानी नसुहाउँदा कुराहरूलाई विकासको माध्यम बनाउन खोज्यौँ । हाम्रो पतन र मानव जातिकै पतनको कारण यहीँ कतै छ । हाम्रो कला साहित्य र संस्कृतिप्रति विश्व समुदायको चासो घट्नुको कारण यहीँ कतै छ । हाम्रो राजनीति र कुटनीति असफल बन्नुको कारण यहीँ कतै छ ।
हामीले लोकसाहित्यको अध्ययन गर्यौँ भने त्यहाँ अनेक कृषि सभ्यताका जीवन्त अभिव्यक्ति पाउँछौँ । तिनलाई लेख्य साहित्यमा निरन्तरता दिन सकेनौँ । लोकसङ्गीतमा छिपेका कृषिपेसासम्बद्ध बाजा, भाका र लयहरूलाई आधुनिक सङ्गीतमा रूपान्तरण गर्न सकेनौँ । लोककलाका सामग्रीहरूलाई आधुनिक कलाकारका शिल्पमा अटाउन सकेनौँ । हामीले विदेशीहरूलाई खुकुरी उपहार दिए जस्तै हाम्रा कृषिसापेक्ष अनेक वस्तुहरू उपहार दिन सक्थ्यौँ, त्यता ध्यान पुर्याएनौँ । हाम्रा पार्टी र भोजहरूमा कृषिजन्य, गोरसजन्य परिकारहरू खुवाउन प्याउन सक्थ्यौँ कोकाकोला र पाउरोटीपट्टि ढल्कियौँ । हाम्रा तारे होटलहरूमा नेपाली परिकार खुवाएर विदेशीलाई राख्न सक्थ्यौँ विदेशी परिकारतिरै ढल्कियौँ । होम स्टेमा पनि विदेशी परिकार र चाउचाउलाई प्रश्रय दियौँ । धानदिवस, मकै दिवस, गहुँ दिवस, जौ दिवस, कोदो दिवसका रूपमा हाम्रा संस्कृतिलाई हाम्रा युवायुवतीका दु:खसुख साट्ने र मायाप्रीति लाउने दिवस बनाउन सक्थ्यौँ तर हामी भ्यालेन्टाइन डे, रोज डे, किस डेको संस्कृतिमा युवाहरूलाई अल्मल्याउन थाल्यौँ । टोपीदिवसका नाममा नारीहरूलाई पनि टोपी लगाइदिन थाल्यौँ । हाम्रा बडहरे, कटहरे, आँपचौर, मकैबारी, कोदोबारीका नाम मासेर विदेशीका नाम राख्न थाल्यौँ । खिर दिवस, ढकने दिवस, योमरी दिवस, क्वाँटीदिवसहरूलाई रक्सी र मासुमा सीमित पार्यौँ । व्यवहारमा, पेसामा र जीवनशैलीमा कति पनि हाम्रो मौलिकता र संस्कृतिको संरक्षण गर्न सकेनौँ । विश्वलाई त चिनाउन सकेनौँ नै हाम्रै नयाँ पुस्तालाई कृषि पेसाबाट बेखबर राख्यौँ । चामलका बोट खोज्ने बनायौँ, धानबाट चामल बन्छसम्म सिकाउन सकेनौँ ।
साहित्य, कला र संस्कृति सम्बन्धित समाजको चित्र हुन् । हामीले हाम्रो समाजका कृषक पात्र र कृषि परिवेशको साहित्य र कला सिर्जनाबाट पनि यस क्षेत्रको विकासमा मनोवैज्ञानिक योगदान गर्न सक्छौँ । हाम्रा नायकनायिका कृषिकर्मबाट समाजमा सकारात्मक सन्देश दिन सक्छन् । कृषिसभ्यताका हलो, जुवा, काँटा, कोदाला, भकारी, ढिकुटी, ढिकी, जाँतो, घट्ट, परम्परित काठमिल, ढुङ्गामिल आदिको सभ्यता र तिनमा छिपेका कथाव्यथालई साहित्यमा र कलामा अटाउन सक्छौँ । मानो खाएर मुरी उब्जाए जस्तै मानो सभ्यताबाट मुरी सभ्यता विकास गर्न सक्छौँ ।
– सम्पादक