- सम्पादकीय
विकास भनेको भौतिक निर्माण मात्र होइन । सम्बन्धित पालिका, प्रदेश र राष्ट्रको शैक्षिक, सांस्कृतिक एवम् प्राज्ञिक उन्नयनविनाको विकास झट्ट हेर्दा देखिने बोक्रे विकास मात्रै हो । नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेशले भर्खरै सूर्य खड्का विखर्चीको नेतृत्वमा गण्डकी प्रज्ञा–प्रतिष्ठान गठन गरेको छ । यसअघि यसै प्रदेशले गण्डकी विश्वविद्यालय पनि गठन गरिसकेको छ । त्यहाँ योग्य, सुयोग्य जिम्मेवारी भयो–भएन बहस हुँदै जाला । अहिले भने यस प्राज्ञिक चेतना र कार्यका लागि गण्डकी प्रदेशलाई हार्दिक बधाई । यसका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई सलाम ।
नेपाल सङ्घीय व्यवस्थामा प्रवेश गरेको धेरै भएको छैन । यस अर्थमा मूल विकास के हो भन्ने कुरामा प्रदेशका नीति निर्मातामा भ्रम हुनु स्वाभाविकै हो । अन्य प्रदेशका मुख्यमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीका नजरमा प्रदेश विश्वविद्यालय र प्रदेश प्रज्ञा–प्रतिष्ठानको स्थापनातर्फ तीन वर्ष बितिसक्ता पनि चासो नजानु विडम्बना हो । यो नेपाली बौद्धिक प्राज्ञिक चेतना कमजोर हुँदा निम्तिएको राजनीतिको प्रभाव हो । विज्ञ सल्लाहकारविनाका मन्त्रालय र विज्ञता विनाका मन्त्रीहरू पदमा पुग्नुको परिणति हो । देशको विकास पुल, बाटोघाटो, धरहरा, भ्यु टावर, तारे होटलले भन्दा विशाल विद्यालय, महाविद्यालय, विश्वविद्यालय र प्रज्ञामन्दिरहरूबाट सम्भव हुन्छ । यसका अनेक उदाहरण छिमेकी मुलुक भारत, चीन र अन्य मुलुकका शिक्षाप्रणाली र प्राज्ञ प्रतिभा र प्राज्ञिक सम्पदा संरक्षणका गतिविधिले देखाउँछन् ।
हामी लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बनेका बेला स्थापना भएका प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयको मधुरो उज्यालोमा भर्खर साबुन पानीले हात धुनुपर्छ भन्ने चेतनामा पुग्दैछौँ । जिल्ला र पालिकाहरूलाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्दैछौँ । पालिका पालिकामा अस्पतालको खाँचो देख्न सक्तैछौँ । प्रत्येक दशकमा देवकोटा जस्ता नयाँ चेतना भएका मन्त्रीहरू जन्मन्थे भने आज हामी विश्वसामु सोझो नजर गरेर उभिन सक्ने नागरिक बनिसक्थ्यौँ । हाम्रा विश्वविद्यालयमा पढ्ने विदेशी विद्यार्थीको लर्को लगाउन सक्थ्यौँ । हाम्रा प्रज्ञा–प्रतिष्ठानमा प्रस्ताव पेस गरेर अनुसन्धान गर्ने विदेशी विज्ञको ताँती लगाउन सक्थ्यौँ तर त्यही देवकोटाले बनाइदिएको विश्वविद्यालय पनि बेरोजगार उत्पादनको फ्याक्ट्री बनाएर विश्वमा साक्षर जनशक्ति मजदुरका रूपा बिक्री गरिरहेका छौँ । देशको सरकार तिनै मजदुर दाजुभाइ दिदीबहिनीको रेमिट्यान्सबाट नियमित खर्च सञ्चालन गरेर बसिरहेको छ । यस्तो बेलामा कम्तिमा नेपालको एउटा प्रदेश गण्डकी प्रदेशले विकासको रक्तसञ्चार मानिने शैक्षिक, प्राज्ञिक क्षेत्रको पहिचान गरी विकासको कदम लिएको छ । अरू प्रदेशमा पनि बेलैमा यसतर्फ चासो रहोस् ।
अहिले प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको छ । यसै बेला प्रत्येक पालिकामा नमुना विद्यालय र प्रदेश–प्रदेशमा प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयहरूको स्थापनाका साथै योग्य र सुयोग्य मानिसलाई जिम्मेवारी दिनेतर्फ ध्यान जाओस् । प्रत्येक प्रदेश र सिङ्गो नेपालको समृद्धिमा शैक्षिक एवम् प्राज्ञिक समृद्धि पनि परोस् । भौतिक विकास मात्र विकास होइन । प्राज्ञिक समृद्धिविनाको समृद्धि बाँदरका हातमा नरिवल हुन सक्छ । प्रतिकूल परिस्थितिमा नेपालले आर्जन गरेको सञ्चार, शिक्षा र प्राज्ञिक चेतना सङ्घीय गणतान्त्रिक व्यवस्थाको अनुकूल अवस्थामा अझ कमजोर नबनोस् ।
– सम्पादक