- सम्पादकीय
कानमायाको मानव अधिकार
तिनै चोला र पेटीकोटहरूबाट उदाउँछ
तिनै भोटा, पेटेभोटा र कानेटोपीहरूमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ ।
यी पङ्क्तिहरु प्रसिद्ध नारी साहित्यकार वानीरा गिरीका कविताका पङक्तिहरु हुन् । उनी नेपाली साहित्यकी शक्तिशाली नारी हस्ताक्षर हुन् । उनी जीवनमा पनि र सिर्जनामा पनि एक किसिमको विद्रोह ओकल्ने स्रष्टा हुन् । उनी भर्खरै कोरोना विश्व महामारीका कारण दिवङ्गत भइन् ।
वानीरा गिरीको नाम नेपाली साहित्य र शिक्षा क्षेत्रमा सुपरिचित छ । उनी त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त प्राध्यापकका रुपमा जीवन बिताइरहेकी थिइन् । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचापगलगायतका रोगबाट पीडित थिइन् । २०७३ सालदेखि अल्जाइमर रोगबाट पनि पीडित हुँदै झन्डैे दुई वर्षदेखि अर्धचेतनाको दिनचर्या बिताइहेकी थिइन् ।
अन्य विविध बिरामले ग्रस्त अवस्थामै गिरीलाई कोरोना महामारीको सङ्क्रमण भएको थियो । उनलाई स्वास प्रस्वासमा समस्या देखिए लगत्तै परिवारले सिभिल अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएको आधा घन्टामा नै अस्पतालले उनी दिवङ्गत भएको घोषणा गर्यो । त्यो मिति २०७८ साल जेठ ९ गते आइतबार राति १० बजे थियो । उनी हामीसामु नरहे पनि उनका एउटा जिउँदो जङ्गबहादुर (२०३१), जीवन थायमरु (२०३४) मेरो आविष्कार (२०४१), काठमाडौँ काठमाडौँ (२०६८) जस्ता कवितासङ्ग्रहका माध्यमबाट नेपाली पाठकका मनमा रहिरहेकी छन् । उनका कवितामा यौन, इतिहास, समाज, मिथक आदि क्षेत्रका बहुमुखी विम्बहरुको प्रयोग भएको हुन्छ । उनी आगन्तुक शब्दहरूको प्रयोग कवितामा सहज ढङ्गले गर्न सक्ने कवि हुन् । उनका कविताको विचलनयुक्त भाषा निकै मौलिक लाग्छ । क्लिष्ट र प्रयोगशील शैलीले यिनका कविता साधारण पाठकका लागि भन्दा पनि बौद्धिक पाठकका लागि जस्ता लाग्छन् । उनका केही कविता नारी जागरणसँग सम्बन्धित छन् । केही कवितामा तीव्र जिजीविषाका स्वरका साथै केहीमा पलायन चेतना पनि पाइन्छ । नारीजीवनसँग सम्बन्धित यौनकुष्ठा, अस्तित्वबोध, विसङ्गतिबोध, हीनताबोधका साथै युगीन विसङ्गतिप्रति व्यङ्ग्य विद्रोह गरेकी छन् । ती प्रवृत्तिले नेपाली कविता परम्परामा नारी हस्ताक्षरको आइसब्रेक जस्तै थियो ।
वानीरा गिरी कारागार (२०३५), निर्बन्ध (२०४२), शब्दातीत शान्तनु (२०५६) जस्ता फरक स्वादका उपन्यासहरूमा जीवित रहिरहेकी छन् । उनका उपन्यासमध्ये कारागारमा आफ्न आफन्तहरू स्वयम् स्वार्थी बनेर रचेका चक्रव्यूहमा फसाइएकी र त्यसै कारण अविवाहित रहन बाध्य तुल्याइएकी नारीको मनोदशालाई निकै शिष्ट, शालीन, मर्यादित तर यथार्थपरक ढङ्गले प्रस्तुत गरेकी छन् । उनले त्यस उपन्यासमा खोजी गरेको मानवीय अस्मिताको मूल्यमा उनी बाँचिरहने छन् । अर्को उपन्यास निर्बन्धमा आफ्नै बाबुको स्वेच्छाचारी प्रवृत्तिको विरोधमा उत्रिकी विद्रोही छोरीको व्यथामा बाँचिरहने छन् । त्यस छोरीको बाह्य तथा आन्तरिक द्वन्द्वका माध्यमबाट नारीभित्र जागृत एवम् निहीत बदलाको चाहना र विद्रोही स्वरूपमा बाँचिरहने छन् । शब्दातीत शान्तनु मा अभिव्यक्त सामाजिक तथा सामूहिक भावनाको पर्यावलोकनमा, आञ्चलिकतामा उत्तरआधुनिक विनिर्माणवादी प्रवृत्तिहरुमा बाँचिरहने छन् । कविता र शब्दातीत शन्तनुको प्रवाहपूर्ण, शक्तिशाली, चित्रात्मक र सुरुचिपूर्ण भाषिक विन्यासमा बाँचिरहनेछन् ।
वानिरा कविता र आख्यानमा मात्र होइन पर्वतको अर्को नाउँ पार्वती (२०६७), जङ्गल जङ्गल (२०६९) जस्ता निबन्धका विचारहरूमा बाँचिरहनेछन् । उनको कलम नेपालीमा मात्र नभई अङ्ग्रेजी भाषामा पनि चल्थ्यो । उनी अङ्ग्रेजी भाषाका From the Other End (1987), My Discovery (1996), From the Lake, Love (2000), The Prison (2005) जस्ता कृतिमा पनि जीवन्त हुनेछन् ।
अमर सिर्जन सामर्थ्य र उच्च बौद्धिक सामर्थ्य भएर पनि वानीरा गिरीको जीवन उतारचढावपूर्ण रह्यो । उनी र उनका पति शङ्कर गिरीले अनेक सङ्घर्षबाट काठमाडौँमा बसोबासको व्यवस्था गरेका थिए । सन्तानहरूको शिक्षादीक्षा र आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाएका थिए । दुवै छोराछोरी अमेरिकामै बसोबास गर्न थालेपछि र आफूलाई बुढ्याइँले र पत्नी वानीरालाई रोगले सताउन थालेपछि पति शङ्कर गिरीले बिरामी पत्नीको अटुट सेवाका साथै उनको जीवनभरिको भाषासाहित्यको समर्पण र अर्धचेत अवस्थाको आशयलाई बुझेर उनको जीवन छँदै उनकै नाममा २०७६ सालमै वानीरा फाउन्डेशनको स्थापना गरिदिएका छन् । सो फाउन्डेसनको पुँजी राशि सात करोड रुपियाँ बराबर रहेको समाचार पत्रपत्रिकामा आएका थिए । त्यस राशिबाट उनका नाममा पुरस्कार र विद्धत्वृत्तिहरू प्रदान गरिने समाचार पनि सार्वजनिक भएका छन् । एउटा स्रष्टाको अमरताको यो भन्दा राम्रो अर्को बाटो के हुन सक्छ ?
वानीरा गिरी त्रिमूर्ति निकेतनबाट २०७१ सालमा विश्वनारी सम्मेलनका अवसरमा नेपाली साहित्यका विश्व नारीरत्नका रूपमा विभूषित भएकी थिइन् । त्यस बेला उनलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाले रथारोहणसहित सो सम्मान अर्पण गरेका थिए । यस कार्यले उनको लेखन र शिक्षा एवम् साहित्य क्षेत्रको योगदानको चर्चा देश विदेशमा भएको थियो । त्यसो त वानीरा गिरी नेपाल प्रवेश गरेदेखि नै चर्चामा थिइन् । उनी दार्जिलिङबाट स्नातक तहको अध्ययन सकेर काठमाडौँ आएकै वर्ष २०२२ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । त्यस महोत्सवमा भैरव अर्याल प्रथम र वानीरा गिरी द्वितीय भएका थिए । उनले प्रज्ञाप्रतिष्ठानबाट द्वितीय पुरस्कार र पदक पाउनका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदि अनेक सम्मान पुरस्कार पाएकी थिइन् । आज उनका नाममा इज्जतिला पुरस्कार र विद्धत्वृत्तिहरू स्थापना भएका छन् । यी स्थापनाले पनि वानीरालाई नेपाली साहित्य जगत्ले बिर्सन पाउने छैन ।
वानीरा गिरीको जन्म दार्जिलिङको खरसाङमा इन्द्रराज गिरी र जानुकीदेवी गिरीकी कनिष्ठ सुपुत्रीका रूपमा २००२ चैत्र २९ गते भएको थियो । उनी गिरी दम्पतिका छ सन्ततिमध्ये सबैभन्दा कान्छी थिइन् । उनको नाम पुरोहितले उनको जन्ममूहूर्तलाई हेरेर सत्यदेवी जुराइदिएका भए पनि बोलाउने र औपचारिक नाम वानीरा नै रह्यो । उनी भारतबाटै २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरी त्यसै साल त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको एम. ए. तहमा भर्ना भएकी थिइन् । उनले भारतीय विद्यार्थीले पाउने महेन्द्र छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालयबाट एम ए उत्तीर्ण गरिन् । २०२३ सालमा उनको नेपालका युवा शंकर गिरीसँग विवाह भयो । उनी त्यसपछि नेपालमै बसिन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा पढाउन थालिन् । त्यसपछि उनको पेसा प्राध्यापन र बासस्थान काठमाडौँ भयो ।
हिन्दी र अङ्ग्रेजी पृष्ठभूमिको शिक्षा लिएर आएकी भए पनि उनले नेपाली विषयमा एम. ए गरिन् र प्राध्यापन पेसामा हात हालिन् । उनका जीवनमा केही उतारचढाव आए पनि उनी हरेक अफ्ठ्यारो परिस्थितिमा सबल, सक्षम र सक्रिय रूपमा सही निर्णय गर्दै अगाडि बढिन् । नेपाली कविता, आख्यान, निबन्ध आदि सिर्जना गर्दै मञ्चहरुमा आफ्ना विचार राख्दै, नेपाल र विश्व सम्मेलनहरूमा सहभागी बन्दै नेपाली साहित्यकारका रूपमा आफूलाई स्थापित बनाइन् । ‘कवि गोपालप्रसाद रिमालका कवितामा स्वच्छन्दतावाद’ शीर्षकमा ०४२ मा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी उपाधि लिइन् । उनका शोधनिर्देशक प्रा. बालकृष्ण पोखरेल र सहनिर्देशक प्रा.डा वासुदेव त्रिपाठी थिए । रिमालका कविता पठन र योग्य गुरुहरूका निर्देशनले उनलाई अझ शक्तिशाली कवि बनायो ।
वानीराको साहित्यिक अभिरुचि नेपाल प्रवेशपछिको मात्र होइन । उनको कवितात्मक अभिरुचि बाल्यकालदेखि नै जागृत थियो । उनको कविता सिर्जनाको सार्वजनिक यात्रा भने २०२० सालमा डी. के खालिङको सम्पादनमा दार्जिलिङबाट प्रकाशित दियो पत्रिकामा ‘मेरो साथी भन्छ’ शीर्षकको कविता प्रकाशनपछि भएको हो । त्यसपछि दार्जिलिङका विभिन्न पत्रपत्रिकाका साथै काठमाडौँका पत्रपत्रिकामा र मञ्चमा छाउँदै २०३१ पछि कृतिसहित देखा पर्न थालिन् र आजको कृतिस्तम्भ तयार पारिन् ।
वानीराका जीवनका धेरै रमाइला, क्रान्तिकारी, सङ्घर्षपूर्ण पाटाहरूको चर्चा भइरहन्थ्यो, भइरहेको छ । उनी विद्यार्थीहरूमाझ लोकप्रिय गुरुमा भएको कुरा उनका निकट विद्यार्थीहरूले लेखेर र बोलेर व्यक्त गरेका छन्, गरिरहेका छन् । उनी नेपाली शैक्षिक परम्परामा नेपाली विषयको पहिलो विद्यावारिधि नारी पनि हुन् । उनीसँग कविता, निबन्ध र आख्यान सिर्जनाका साथै अन्तराष्ट्रिय मञ्चहरूमा हिन्दी र अङ्ग्रेजीमा मन्तव्य राख्न सक्ने सामर्थ्य पनि थियो । उनले त्यस सामर्थ्यका माध्यमबाट नेपालको परिचय विश्व परिवेशमा पुर्याउने भूमिका पनि निर्वाह गरेकी छन् । उनले गरेका फुटकर समीक्षाहरूको पनि समयक्रममा मूल्याङ्कन हुने नै छ ।
साहित्यसागरका तर्फबाट नेपाली साहित्यकी विशिष्ट प्रतिभा डा.वानीरा गिरीमा सम्पादकीय श्रद्धासुमन ।
– सम्पादक