सापेक्षतावाद एउटा दर्शनिक चिन्तन हो । यो भूततः विज्ञानका क्षेत्रमा प्रयोग हुने, वैज्ञानिक चिन्तक आइन्स्टाइनले पत्ता लगाएको अनि भौतिक शास्त्रमा प्रयोग हुने चिन्तन हो । यसलाई वैज्ञानिक क्षेत्रको र दार्शनिक क्षेत्रको पारिभाषिक यौगिक पदका रूपमा चिन्दै र चिनाउँदै आइएको छ । यसले क्रमशः अन्य र मूलतः साहित्य र कलाको मूल्याङ्कनलाई पनि सघाएको छ ।
सापेक्षतावाद विज्ञानको मात्र प्राविधिक शब्द वा चिन्तन नभई साहित्य कलाको पनि प्राविधिक शब्द बनेको छ । यस चिन्तनअनुसार साहित्यशास्त्रमा प्रयोग हुने मूल्याङ्कन विधिसँग सम्बद्ध विश्वास र सिद्धान्तहरू वैध र शाश्वत मात्र हुँदैनन् भन्ने फरक मत राख्दछ । यस क्रममा जसले आफ्नो सीमा स्वीकार गर्दछ उसका निम्ति यी विचारहरू मान्य ठानिन्छन् । कुनै पनि मूल्यलाई तार्किक ढङ्गले निरूपण गरी स्थापित गर्दा दुई परस्पर विरोधी मूल्याङ्कनहरू दुवै सत्य हुन सक्छन् भनेर बुझ्नुपर्ने हुन्छ ।
एक जना समीक्षकले यो कविता, कथा वा निबन्ध आदि रचना निकै सफल छ भनेका खण्डमा यसको तात्पर्य ‘मेरो विचार र रुचि जस्तो विचार र रुचि राख्ने सबै पाठकले यस रचनालाई मनपराउनेछन् भन्ने हुन्छ । यदि अर्को समीक्षकले ‘यो रचना राम्रै छैन’ भन्ने तर्क दियो भने यहाँ सापेक्षता जन्मन्छ । यहाँ दोस्रो समीक्षकको अभिव्यक्तिको अर्थ—‘मेरो जस्तै रुचि र आस्वाद हुने व्यक्त्तिले यस कवितालाई रुचाउँदैन ।’ भन्ने निस्कन्छ ।
यस्तो फरक फरक चिन्तन आएका स्थितिमा बाहिर तेस्रो व्यक्तिमा आउने विवाद अवास्तविक हुन्छ । रचना पूर्ण राम्रै राम्रो पनि हुँदैन । रचना पूर्ण रूपमा नराम्रै नराम्रो मात्र पनि हुँदैन । यसरी कृति मूल्याङ्कन गर्ने क्रममा दुवै समीक्षकले जे सत्य छ त्यही नै भनिरहेका हुन्छन् । यद्यपि सुन्ने मान्छेले फरक सुनिरहेको र बुझिरहेको हुन्छ । यस दार्शनिक अर्थमा सापेक्षतावादको भूमिका प्रभावशाली हुन्छ ।
एउटै सत्य तर फरक ढङ्गले गरिरहेको अभिव्यक्ति कसैले एक कोणबाट र अर्को कोणबाट बुझिँदिँदा सत्य सत्य भएर पनि छायामा परिरहेको हुन्छ । यहाँ दिएको उदाहरणमा समीक्षात्मक छलफलमा एउटा निश्चित सीमा बाँधिदिन्छ । यी विवादहरू वशब्दमा मात्र सीमित देखिए पनि यी विवादभित्र त्यति राम्रो छैन र निकै राम्रो छको सापेक्ष मूल्याङ्कन भएको देखिन्छ । यो सापेक्षताले कलाको कलात्क मूल्य स्थापनामा सघाउँछ ।
सापेक्षतावादी चिन्तनअनुसार आलोचनात्मक मूल्याङ्कनले तात्कालिक संवेदनशीलतालाई आभिव्यक्त गरिरहेको हुन्छ । एउटै अभिव्यक्तिको संवेदनशीलता समय समयमा पृथक् हुन्छ । समीक्षकहरूको निर्णय वा पाठकहरूको आस्वाद व्यक्ति व्यक्तिबिच र समूह समूहबिच फरक पनि देखिन्छ । यो सामजिक तथा मनोवैज्ञानिक तथ्य पनि हो । यस तथ्यलाई सापेक्षतावादीहरूले आआफ्नो आफ्नो पक्षमा प्रयोग गर्ने काम गरेका छन् ।
सापेक्षतावादी अवधारणा साहित्यिक मूल्यको वास्तविक पहिचानका लागि सहयोगी बन्न सक्ने देखिन्छ । उदाहरणका रूपमा, कुनै रचना (कविता, कथा, नाटक निबन्ध आदि) राम्रो छ भन्नुको तात्पर्य सम्बन्धित रचना सुन्दर छ भन्नु हो । यस किसिमको अनुभूतिको तात्पर्य त्यस कवितामा सौन्दर्यानुभूतिको आनन्द दिन सक्ने क्षमता निकै प्रवल छ भन्ने हो । यो मूल्याङ्कनको अर्थ सबै पाठकले त्यसलाई रचाउने छन् भन्नु हो तापनि हरेक पाठकले त्यसलाई राम्रैसँग रुचाउनेछन् भन्नु चाहिँ होइन । किनभने सफल पाठकहरू तालिम र प्रविधिसापेक्ष पठन गर्ने सामथ्र्य राख्दछन् ।
हामी हाम्रो साहित्यको मूल्याङ्कन, स्रष्टा र कुनै कृतिको मूल्याङ्कन सापेक्ष ढंगले हुन सकिरहेको छैन । यही सापेक्ष दृष्टिकोणका अभावमा हामी चेप्टो सिर्जनाका सिकार बनिरहेका छौँ ।
-सम्पादक