पारिजात (वास्तविक नामः विष्णु कुमारी वाइबा, वि.सं. १९९४ – वि.सं. २०५०) सुप्रसिद्ध नेपाली साहित्यकार हुन् । नेपाली साहित्य परम्परामा उनको योगदानलाई महाकवि देवकोटाको जस्तै उल्लेख्य नारी प्रतिभाको योगदानका रूपमा मानिन्छ । साहित्यका विभिन्न विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभा सम्पन्न नारी प्रतिभा मानिएको हो । पारिजातका कृतिहरूमा प्रगतिवाद, अस्तित्ववाद, विसङ्गतिवाद, नारीवाद जस्ता बहुमुखी जीवनचेतना संयोजित रूपमा अभिव्यक्त छन् । नेपाली साहित्यका विशिष्ट समीक्षक वासुदेव त्रिपाठीले पारिजातको सिर्जन यात्रा र प्राप्तिको मूल्याङ्कन गर्दै यसो भनेका छन् :
‘उनी नेपाली साहित्यमा अहिलेसम्म उदाएका सम्पूर्ण नेपाली नारीप्रतिभामध्ये पनि अद्यावधिक सर्वोपरी प्रतिभा हुन् र नारीवादी लेखन–कित्तामा पनि उनको स्थान उत्कृष्ट छ ।’
त्रिपाठीको यस अभिव्यक्तिलाई काट्ने अर्को नारी प्रतिभा अहिलेसम्म नेपाली साहित्यमा देखिएको छैन । यो नै पारिजातको वास्तविक मूल्याङ्कन हो । यो विशिष्टता नै पारिजातको विशिष्टता हो ।
पारिजातको जन्म दार्जिलिङको लिङ्गिया (लिङ्गे) चिया बगानमा १९९० फागुन ३० मा भएको थियो । उनको यस जन्ममितिका बारेमा केही विवाद रहे पनि अहिलेसम्म अधिकांशले १९९४ नै मान्दै आए पनि कतिपय कागजातले १९९० लाई पुष्टि गरेका छन् । उनको जन्ममिति १९९० मान्दा २०७७ फागुन ८७ औँ जन्मजयन्ती पर्न आउँछ । उनलाई जसरी पनि नेपाली समाजले र नेपाली साहित्यिक समाजले बिर्सनु हुँदैन । यो शब्द श्रद्धा त्यसैको सानो बुँदा मात्र हो ।
पारिजातका पिता कालुसिंह वाइबा चिकित्सक थिए, माता अमृत मोक्तान सामान्य गृहिणी नारी थिइन् । उनको बाल्यकाल दारर्जिलिङका चिया बगानमा हुर्कने आम बालबालिकाको जस्तै समान्य ढङ्गले बितेको भए पनि उनको जिज्ञासु र सिर्जनशील स्वभाव समय क्रममा नेपाली साहित्यको एउटा अग्लो चुली बनेर ठडियो । उनको प्रतिभाले नेपाली साहित्यलाई उर्वर बनाउनका साथै फरक उचाइमा पुर्यायो । उनी न त न्वारनको नाम विष्णुकुमारी वाइबा वा विष्णुदेवी वाइबाले चिनिइन् न लामाले जुराएको छेकुडोल्मा (तारा रानी) नाम ले नै चिनिइन् । उनलाई अमर बनाउने नाम उनैको रोजाइको पारिजात नाम नै बन्यो । आज नेपाली र अनुवादबाट नेपाली भाषा साहित्य पढ्ने विश्व समाजले उनको नाम आदरले लिन्छ । उनका रचनाहरू नेपाल र भारतका विद्यालय र विश्लविद्यालयका पाठ्यक्रममा उतिकै आदरसाथ पढिन्छन् ।
प्रारम्भिक शिक्षादीक्षा दार्जिलिङमा प्राप्त गर्ने क्रममा अङ्ग्रेजी, हिन्दी र नेपाली भाषाका कविता र कथाहरूबाट प्रभावित बनेकी पारिजात क्रमशः साहित्यप्रति आकर्षित बन्दै साहित्यकै महान् सर्जक बनिन् । उनी दार्जिलिङमा जन्मिए पनि मातृवियोगको पीडासँगै किशोर वय पार गर्दागर्दै काठमाडौँ प्रवेश गरेकी थिइन् । उनले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या क्याम्पसबाट स्नातक (बी.ए.) अध्ययन गरिन् । उनको मूल विषय अङ्ग्रेजी हुँदा उनले पाठ्यक्रममा रहेको अङ्ग्रेजी साहित्यसँगै स्वअध्यनबाट आफ्नो सिर्जन सामर्थ्य बलियो बनाइन् । उनीभित्र अङ्ग्रेजी विषयमा एम.ए. गर्ने तीव्र इच्छा थियो । सो इच्छाले त्रिभुवन विश्वविद्यालयमा भर्ना पनि भइन् तर २६ वर्षको उमेरमा आइलागेको शारीरिक असक्तता र लेखन रुचिले उनलाई औपचारिक डिग्री मिलेन । उनले औपचारिक रूपमा एम. ए नपढे पनि उका कृतिहरू एम. ए , एम. फिल र पीएच.डीका अध्ययन सामग्री बने । उनको स्वअध्ययन र सिर्जनाले नेपाली साहित्यमा विराट् कृतित्व दिन सक्यो ।
पारिजातको जीवनको बाटो सोझो छैन । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले राम्रोसँग अनुभवसम्म गर्न पाइनन् तर उनका सिर्जनामा नारी र मातृशक्ति प्रवल बनेर देखा परे । मातृवात्सल्यको अभाव र छटपटीले पछ्याइरहे पनि त्यसैले सिर्जनामा भिन्न तागत भरिरह्यो । आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि उनैमाथि पर्यो तर त्यसले पनि गलाउन सकेन । पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नु परे पनि उनले आफ्नो रुचि र सिर्जन धर्मलाई छोड्दै नछोडी नेपाली साहित्यलाई समृद्ध बनाइन् । २०२९ सालमा माता र पिता दुवै बनेर उनलाई संरक्षण दिइरहेका उनका पिताको देहावसान भएपछि उनी एक्लै सिर्जनामा लागिरहिन् । त्यसपछिका दिनमा उनकी बहिनी सुकन्या उनकी दु:खसुखकी साथी बनिन् ।
वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा ‘त्यो को हो ?’ शीर्षकको कविता प्रकाशन गरी साहित्य सिर्जना र प्रकाशनको यात्रा तय गरेकी पारिजातले प्रायः सबै विधामा कलम चलाइन् र मूलतः आख्यान विधामा सिद्धि प्राप्त गरिन् । उनी बाल्यकालदेखि नै भावुक र कल्पनाशील स्वभावकी थिइन् भन्ने कुरा उनका आत्मकथात्मक एवम् संस्मरणात्मक निबन्धहरूले बताउँछन् । उनी पानीमा रूझ्दै–रूझ्दै घुम्ने, वनजङ्गल चहार्ने, जङ्गली फूलहरू टिप्ने गर्थिन् भन्ने उनको आत्मस्वीकृति छ । उनलाई सा–साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो, उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन् भन्ने बुझिन्छ । उनले वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पराउथिन् भन्ने कुरा उनकै रचनाबाट बुझिन्छ । उनको त्यसै स्वभावले नेपाली साहित्यलाई समृद्ध बनाउन बल थप्यो र उनको नाम आखिर गरिमापूर्ण नाम बन्यो ।
पारिजात नेपाली राजनीतिका क्षेत्रमा पनि परिचित पात्र हुन् । २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको अभियान चालिरहेका बेला ’राल्फा’ आन्दोलनकी अभियन्ताका रूपमा पनि पारिजातको भूमिका रहेको छ । यो समूहले आफ्ना विद्रोहका स्वर देश–विदेशमा जहाँसुकै फिँजाउँदै हिँड्ने क्रममा उनी पनि देशका कुना कुना पुगेकी थिइन् । राल्फाली यात्रा नेपाली सांस्कृतिक परम्परामा नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण आन्दोलनका रूपमा लिइन्छ । उनले कम्युनिस्ट पार्टीको टिकट लिएर पञ्चायती व्यवस्था विरुद्ध भूमिगत रूपमा केही आन्दोलन र अभियानलाई सहयोग गरेको पक्ष पनि छँदैछ । त्यो भन्दा बढी उनको कलमको आन्दोलन उर्वर बनेको छ ।
पारिजातको सिर्जन सामर्थ्य जति सशक्त छ उनको स्वास्थ्य र शारीरिक अवस्था त्यति सशक्त थिएन । उनी युवा उमेरमै विविध रोगबाट आक्रान्त थिइन् । उनका शरीरमा क्षयरोग, अल्सर, दम आदि विविध रोग थिए । ती बहुरोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक–पटक गरी भारतका विभिन्न अस्पतालमामा उपचारार्थ गए पनि, सकेसम्म उपचार गराए पनि स्वास्थ्यमा ठोस सुधार भएन । आफ्नो शरीरलाई स्वास्थ्यका दृष्टिले सशक्त बनाउन नसके पनि उनले मनलाई दह्रो बनाएर निरन्तर सिर्जना गरिरहिन् । उनले आख्यान, कविता, नाटक, निबन्ध र समीक्षाका क्षेत्रमा पनि कलम चलाइन् । उनका कृतिहरूमा १. आकांक्षा (कविता सग्रह, २०१४०), २. शिरीषको फूल (उपन्यास, २०२२०) ३. महत्ताहीन (उपन्यास, २०२५०), ४. आदिम देश (कथासङ्ग्रह, २०२५०), ५. बैंसको मान्छे (उपन्यास, २०२९), ६. सडक र प्रतिभा (कथासङ्ग्रह २०३२), ७. तोरीबारी बाटा र सपनाहरू (उपन्यास,२०३३), ८. पर्खालभित्र पर्खालबाहिर (उपन्यास, २०३४), ९. उसले रोजेको बाटो (उपन्यास, २०३४–३५), १०. अन्तर्मुखी (उपन्यास, २०३५), ११. अनिँदो पहाडसँगै (उपन्यास, २०३९), १२. साल्गीको बलात्कृत आँसु (कथासङ्ग्रह, २०४३), १३. धुपी, सल्ला र लालीगुँरासको फेदमा (निबन्ध कृति, २०४३) १४. पारिजातका कविता (कवितासङ्ग्रह २०४४), १५. एउटा चित्रमय सुरुवात (संस्मरणसङ्ग्रह, २०४५), १६. परिभाषित आँखाहरू (उपन्यास, २०४६), १७. बोनी (लघुउपन्यास, २०४८), १८. आधी आकाश (लेख निबन्धसङ्ग्रह, २०४८), १९. बधशाला जाँदा–आउँदा (कथासङ्ग्रह, २०४९), २०. बैंसालु वर्तमान (कवितासङ्ग्रह, २०५०), २१. अध्ययन र संघर्ष (आत्मकथा, २०५०), २२. पारिजातका फुटकर लेखहरू (२०५४), २३. जुठी दमिनी (बाल गीतिकाव्य, २०५५) र २४. पारिजातका नाटक (२०६५) उल्लेख्य छन् । यी दुई दर्जन कृतिका विषयमा अनेक अध्ययन अनुसन्धान भइरहेका छन् । उनी जीवनकालमा त चर्चिन थिइन् नै त्योभन्दा कृतिशेष जीवनमा बढी चर्चित र पाठ्य स्रष्टा बनिरहेकी छन् । पारिजातद्वारा लिखित पुस्तक शिरिषको फूल (२०२२) मदन पुरस्कार प्राप्त कृति हो । यस कृतिको अङ्ग्रेजी अनुवाद ‘Blue Mimosa लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो। यो नेपालीभाषीहरूका लागि गौरवको कुरा हो ।
पारिजाका दुई दर्जन मूल कृतिका साथै पछिल्लो समय विविध प्रतिनिधि सङ्कलन र समग्र रचनाका सङ्कलन पनि प्रकाशन भएका छन् । पारिजातका यी सबै कृति नेपाली साहित्यका अमूल्य निधि हुन् । पारिजाका यी सबै कृतिहरू आआफ्ना विधागत अनुशासनका दृष्टिले मात्र नभई विषयगत गम्भीरता र शैलीगत आकर्षणका दृष्टिले पनि उत्तिकै उल्लेख्य छन् । पारिजात भारतको दार्जिलिङमा जन्मिए पनि उनलको किशोर र युवा हुँदै प्रौढ जीवन नेपालमा बित्यो र नेपाली भषा साहित्य र संस्कृतिको उत्थानमा बित्यो । नेपाली समाजको परिवर्तनका आन्दोलनमा कलम चलाएर बित्यो । उनले नेपाली समाजको माया कति पाइन् । नेपाली समाजले मदन पुरस्कारबाहेक अरू पनि सम्मान दियो कि दिएन ? नेपाली नागरिकता उनीसँग थियो कि थिएन ? उनी नेपालको सरकारका एकेडेमीहरूकी प्राज्ञ भइन् कि भइनन् ? यी सारा प्रश्न गौण बने । उनले कुनै लोभ, कुनै आकाङ्क्षा नराखी नेपाली भषा साहित्यको सेवाको बाटो भएर शिखर यात्रा गरिन् । उनको सतासीऔँ जन्म जयन्तीका अवसरमा हार्दिक श्रद्धा सुमन ।
– सम्पादक