सामाजिक सञ्जाल आफ्नो रुचि, विषय क्षेत्र मिल्दा मानिस र आफन्तहरूसँगको सहकार्यको प्रमुख थलो हो । यसमा मानिस सकारात्मक र सम्यमभन्दा पनि बढी नकारात्मक र आक्रोशित देखिन्छन् । यसको कारण हाम्रो सामाजिक स्तर र पोस्टहरूको प्रभाव नै हो । मसिनो गरी हेर्यो भने सकारात्मक पोस्टहरूमा नकारात्मक टिप्पणी देखिँदैनन् । पोस्ट नै नकारात्मक भएपछि त्यसमा आउने टिप्पणी नकारात्मक हुनु स्वाभाविकै हो । यसमा पोस्ट गर्ने व्यक्तिको मनस्थितिले पनि सोहीअनुसारको प्रतिक्रिया पाइरहेको हुन्छ । प्रत्येक व्यक्तिको नयाँ समाचार,फोटो, दृष्टिकोण आदि सञ्जालमा रहने हुँदा उसका साथीभाइको प्रकृतिअनुसार टिप्पणी हुनु स्वाभाविकै हो । हाम्रो समाज सन्दर्भअनुसार नकारात्मक पोस्टहरू कम गर्दै क्रमशः सकारात्मक पोस्ट र प्रतिक्रियाबाट समाजमा सकारात्मक चेतनाको विकास गर्नुपर्ने देखिन्छ । यस्तो चेतनाको विकास गर्न कलमका माध्यमबाट साहित्यकारहरूको ठुलो भूमिका हुन्छ । यो भूमिका धेरै लेखकले निर्वाह गरिरहेका पनि छन् ।
सामाजिक सञ्जालमा हुने हल्लाहरू सबै सत्य हुँदैनन् । सरसरती हेर्दा राजनीतिकर्मी र कलाकारहरूका फलोअर बढी छन् । यो स्वाभाविक पनि हो र उनका स्टाटस एवम् पोस्टहरूमा नकारात्मक सकारात्मक टिप्पणी हुनु पनि स्वाभाविकै हो । सामाजिक सञ्जाल खुला सञ्चार माधयम हुँदा यसमा सबैखाले विषयवस्तुले प्रवेश पाउनु पनि स्वाभाविकै हो । यसमा दार्शनिक पात्रदेखि लेखक, प्राध्यापक, नेता, व्यापारी, विज्ञापनदाता र अरू पेसा व्यवसायका साथै भ्रममा बाँच्नेहरूसम्म एकै ठाउँमा अटाउँछन् । यी सबैले आफूसँग जे छ त्यही पस्कन्छन् । त्यसरी पस्किएका सामग्रीमध्ये साहित्यकारहरूका सामग्री समाजका लागि बढी मननीय, सिर्जनशील र सकारात्मक पाइएका छन् । यो खुसीको कुरा हो कि कसै न कसैलाई यो समाजमा सकारात्मक कुरा गर्न पनि आउँदो रहेछ । सकारात्मक कुराको सञ्चारबाट सकारात्मक प्रतित्रिया पनि आउँदो रहेछ । यो सकारात्मक चेतनालाई हामीले अझ विकसित तुल्याउनुपर्ने देखिन्छ ।
नेपालीहरू ट्विटर भन्दा बढी फेसबुक प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटर मात्र होइन यसका अनेक पक्ष छन् । सञ्चारका अधिकांश माध्यमले सकारात्मक खबरका तुलनामा नकारात्मक खबरलाई प्रोत्साहन गर्ने हुँदा सर्वसाधारणले पनि त्यसैमा बढी विमर्श गर्छन् । त्यस्ता विमर्शमा बुझ्ने मान्छे मौन रहन सक्छन् तर धेरै मानिसमा मौन रहने धैर्य नै हुँदैन । हाम्रो समाज र शिक्षा एवम् पेसा व्यवसायले विशिष्ट व्यक्तित्वहरू (भी आइपी) निर्माण गरिसकेको छैन । यस समाजमा देवकोटाले झन्डै शताब्दीअगाडि भनेका नक्कली भलादमीहरूकै विग्बिगी रहेको हुँदा विशिष्ट व्यक्तित्वको संस्कार विकास नै भएको छैन । हरेक व्यक्तिले आफैलाई विशिष्ट र सर्वज्ञ मानिरहेको अवस्था छ । यस्तो बेला साहित्यकारहरूको कलम पनि चल्ने हुँदा सकेसम्म बौद्धिक र सकारात्मक चेतना सञ्चार गर्ने तिथिमितिविनाका इतिहास र सञ्चारकर्मीका रूपमा भूमिका निर्वाह गर्ने दायित्व हुन्छ । त्यो दायित्व प्रशस्त मात्रामा देखिइरहेको पनि छ । यसलाई अझ विकास गर्न सके नेपाली समाजमा सकारात्मक प्रभाव बढ्ने देखिन्छ । यस सन्दर्भमा अन्य क्षेत्रमा सक्रिय नामका लागि साहित्य क्षेत्र चयन गर्ने व्यक्तिहरूसँग सचेत रहनुपर्ने अवस्था पनि छँदैछ ।
हाम्रो जस्तो भर्खर चेतनाको किरण पर्दै गरेको समाजमा आम मानिसले जे सुन्यो त्यही विषयमा कुरा गर्छन् । यो हाम्रो मात्र नभई विश्वव्यापी रूपमै देखिएको साझा प्रवृत्ति हो । यसमा बौद्धिक एवम् लेखक समूदाय फसिरहनुपर्छ भन्ने केही छैन । सामाजिक सञ्जालमा अनुसन्धान गर्न सकिने विषय, लेख्नलाई विषय र विम्ब चयन गर्न सकिने विषय अनेक हुन्छन् । एउटा वर्गका, एउटा उमेर समूहका, एउटा लिङ्का, कुनै एक जातिका व्यक्तिहरूको सोचाइ कस्तो छ भन्ने कुराको प्रतिविम्ब सजिलै देख्न सकिन्छ । यो रङ र मानसिकता नदेखिने समूह भनेकै बौद्धिक, दार्शनिक एवम् साहित्यकारहरूको समूह देखिँदै छ । आज मुलुकमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता नै प्रायः स्टाटसका विषय बनिरहेका हुन्छन् । तर तिनकै विषयमा सामाजिक सञ्जालमा सिर्जनात्मक विमर्श पनि हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । लेखकहरूबाट सिर्जनाहरूको पोस्ट र पठकीय प्रतिक्रिया पनि भइरहेको हुन्छ । यो अवस्था नेपाली साहित्यकर्मीहरूका बिचमा निकै प्रभावकारी ढङ्गले विकसित छ ।
सरसरती सर्वेक्षण गर्दा साहित्यकारहरू कुनै न कुनै सिर्जनशील पोस्ट गरिरहेका हुन्छन् । कसैको किताब पढिरहेको, कुनै कार्यक्रममा सहभागी बनिरहेको, सम्मान पुरस्कार आदानप्रदान गरिरहेको, नयाँ संस्था खोलिरहेको, नयाँ पुरस्कार सम्मानका नाममा कोष स्थापना गरिरहेको, कुनै किताबको तयारी गरिरहेको, किताबको कभर यस्तो उस्तो बन्यो भनेर सेयर गरिरहेको र नेता, मन्त्री आदिका भषण र विचार प्रवाहमा सचेत गराइरहेको देखिन्छ । राजनीतिकर्मी र अन्य पेसा व्यवसायका मानिसका तुलनामा यस वर्गले प्रस्तुत गरेका सामग्रीहरू सकारात्मक लाग्छन् । कथा, कविता, गीत, गजल, मुक्तक, लघुकथा, छन्दकविता, बहरबद्ध जगल, साइनो, हाइकु, समालोचना आदि विधा केन्द्रित पेज र त्यसमा संलग्न साथीहरू सम्बन्धित विधाकै सिर्जना प्रस्तुत गरिरहेका र विधागत विमर्श गरिरहेका हुन्छन् । उनीहरू समाजमा आउने मुद्दाका विषयमा उचित विमर्श पनि गरिरहेका हुन्छन् । यसले सिर्जनात्मक क्षमता विकासमै टेवा पुर्याएको देखिन्छ । उनका स्टाटसहरूमा हाम्रो समाजमा व्याप्त नकारात्मक प्रभावको छाया विम्ब र प्रतीकहरूमा छिपिरहेको देखिन्छ ।
हरेक नेपालीमा सकारात्मक मानसिकताको विकास गर्न, कलम समाएपछि समाज परिवर्तनका पक्षमा समाउनुपर्छ भन्ने देखाउन लेखकहरूले अझ सोचविचार गरेर मात्र आफ्ना स्टाटस पोस्ट गर्नुपर्ने देखिन्छ । सरसरती फेसबुकमा गरिने पोस्टलाई मात्र हेर्दा लेखकहरूका पोस्टले बौद्धिकता र सिर्जनशीलताका पक्षमा टेवा पुर्याएको छ । युवा र बालबालिकाका लागि सकारात्मक उर्जा भरेको छ । मानिसलाई निराश बनाउने भन्दा उत्साही र सिर्जनशील बनाउने भूमिका खेलिरहेको छ । यसमा लेखक, पत्रकार, प्राध्याप र दार्शनिक जस्ता बौद्धिक व्यक्तित्वहरूले थप योगदान गर्न सक्ने अवस्था छ । सर्वसाधारणले सामाजिक सञ्जालका सूचनामा धारणा बनाउने हुँदा यसमा बौद्धिक जगत्को र त्यसमा पनि लेखकको भूमिका सर्वोपरी रहेको छ ।
– सम्पादक