साहित्यमा प्रयोग हुने ‘आञ्चलिक’ शब्दले पहिचानका विविध पक्षलाई समेटेको छ । यसले एक क्षेत्रीय वा खास स्थानको विशेषतालाई सङ्केत गर्छ । आञ्चलिकताको अभिलक्षण भन्नु नै कुनै भौगोलिक सीमा रेखालाई मात्र निर्देश नगरी त्यस क्षेत्र भित्रका विशष्ट पहिचानमूलक अवस्था, स्थिति, आचार, व्यवहार, भाषा वेशभूषा र जीवनशैली आदिको वैशिष्ट्यलाई सम्बोधन गर्दछ । यस शब्दले जनपदविशेष वा प्रान्तविशेषसँग सम्बद्ध प्रवृत्तिलाई जनाउँछ । आजको साहित्य यसै दिशामा केन्द्रित देखिन्छ ।
अमेरिकी चिन्तक जोसेफ टी. सिपलेले ‘आञ्चलिकता भनेको सर्जकले आफ्नो कृति एक अञ्चल विशेषका आधारभूमिमा निर्मित गरिने र त्यहाँका बासिन्दाहरूको जीवनशैली र तिनका भविष्यसमेतलाई मसिनो गरी चित्रण गर्ने प्रवृत्ति हो भनेका थिए । उनको भनाइबाट आञ्चलिकता भूमिको सीमा नभएर मानवीय आचार व्यवहार स्थानीय रङ्गको प्रकटीकरण हो भन्ने बुझिन्छ । विश्वको समावेशी मुलुक मानिने अमेरिकामा यसको चिन्तन निकै धेरै भयो । ,इन्साइक्लोपिडिया अमेरिकानाअनुसार ‘आञ्चलिक साहित्य पारिभाषिक शब्दको प्रयोग विभिन्न प्रकारका साहित्यिक रचना तथा आन्दोलनको सम्बन्धका आधरमा गर्ने गरिएको छ । जुन मानवीय जीवनका आनुषङ्गिक वातावरणीय चक्रद्वारा स्वीकृत भएका ती विशिष्ट गुणहरूको यथार्थता प्रस्तुत गर्ने प्रयत्न गर्छ जुन चाहिँ कुनै निश्चित स्थानको सांस्कृतिक तथा भौगोलिक इतिहासले त्यहाका निवासीहरूको जीवनशैलीलाई अभिव्यक्त गरेको हुन्छ ।’ (खण्ड १७, पृ.५७१) यसले आञ्चलिकतालाई आजको पहिचानमुखी चेतनाको आरम्भ विन्दु मान्न सकिन्छ ।
ऐतिहासिक दृष्टिले हेर्दा १८ औँ शताब्दीको सुरुतिरबाट आरम्भ भएको आञ्चलिक चेतनाको साहित्यिक उपयोग मेरिया एजवर्थ, सर वाल्टर स्कट, र थोमस हार्डीका उपन्यासहरूमा भयो । अमेरिकी स्रष्टाहरु माकृ ट्वेनर अन्स्र्ट हिमिङ्ग्वेका उपन्यासलाई पनि यस दृष्टिले अध्ययन गरेको पाइन्छ । सिप्लेका अनुसार आञ्चलिक उपन्यासहरूमा स्थानीय रङ्ग प्रधान हुन्छ तर ती सबै उपन्यासहरूमा जुन चाहिँमा स्थानीय रङ्ग छ भन्दैमा आञ्चलिक भनिहाल्न सक्तैनौँ । यस्तो स्थितिको उद्देश्य र चित्रणमा मौलिक भेद रहन्छ । उपन्यासमा स्थानीय रङ्गको प्रयोग प्रभावोेत्पादकता र स्वाभाविकता पैदा गर्नका निम्ति पनि गरिएको हुन्छ । आञ्चलिकता सम्बन्धित मूगोल र जातिको संवेदनासँग जोडिन्छ । त्यस्तो संवेदनाका निम्ति नभएर साजसज्जाका रूपमा मात्र भूगोलको प्रयोग भएको कृति आञ्चलिक नहुन सक्ने पक्ष पनि छँदैछ ।
हाम्रो साहित्यमा कुनै चिन्तनको प्रभाव भित्रिने प्रमुख स्रोत अङ्ग्रेजी र हिन्दी साहित्य हुन् । हिन्दी साहित्यमा आञ्चलिकताको प्रयोग विशेष गरी उपन्यासमा नै भएको देखिन्छ । यो प्रयोग सन् १९५० पछि प्रसिद्ध उपन्यासकार फणीश्वरनाथ रेणुको मैला आँचल (सन् १९५४) र परती परिकथा (सन् १९५७) भएको पाइन्छ । सोही समयका नागार्जुनको बलचनमा (सन् १९५२), देवेन्द्र सत्यार्थीको ब्रह्मपुत्र (सन् १९५२), शिवप्रसाद मिश्र ‘रुद्र’को बहती गङ्गा ( सन् १९५२) आदि आञ्चलिकताको प्रयोग भएका उपन्यास मानिन्छन् । यस्ता उदाहरणहरु अनेक छन् ।
हरेक समाजमा केही निजी विशेषता हुन्छन् । ती विेशषता समबन्धित समाजका जाति र जनजातिका मनोविज्ञानसँग जोडिएका हुन्छन् । आञ्चलिकताले ती मनोविज्ञान र संवेदनाहरुलाई आफ्ना सिर्जन सामथ्र्यभित्र अटाउने प्रयत्न गर्दछ । यसले बहुल चेतनालाई सीमानाबाट केन्द्रतर्फ तानिरहेको हुन्छ । नेपाली साहित्यको इतिहासमा आञ्चलिकताको आरम्भ शङ्कर कोइरालाको खैरेनीघाट (२०१८) बाट भएको मानिन्छ । विश्वेरप्रसाद कोइरालको नरेन्द्र दाइ (२०२७) जस्ता उपन्यासलाई आञ्चलिक विषयका उपन्यास मानिन्छ । भवनी भिक्षुको आगत उपन्यास, भिक्षुकै हारजीत कथा, ध च गोतामेको घामका पाइलाहरू ( २०३५), यहाँदेखि त्यहाँसम्म (२०४१), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०३९) लगायतका उपन्यास आञ्चलिकताका दृष्टिले उल्लेख्य छन् नयनराज पाण्डेको उलार , ध्रुवचद्र गौतमको अलिखित (२०४१) आदि आञ्चलिकताका नमुना उपन्यासहरु हुन् । आजसम्म भए गरेका आञ्चलिक अध्ययनहरु उपन्यास विधा केन्द्रित छन् ।
आञ्चलिकतालाई उपन्यास विधाले बढी प्रकट गर्न सकेको देखिन्छ । यद्यपि कथा, नाटक, काव्य, कविता र निबन्धसमेतमा भूखण्डको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक जनजीवनको समग्र रङ समेट्न सक्नुपर्ने देखिन्छ । चिरकालदेखि उपेक्षित रहेका समाजका कुनाकानी र छाया परेका जीवनशैली र परिवेशको उजागर आञ्चलिक साहित्यले गरिरहेको हुन्छ । यसले सम्बनिधत साहित्यबाट सम्बन्धित भूगोल, संस्कृति, समाजशास्त्रका बहुमुखी पक्ष अध्ययन गर्न सकिने हुन्छ । साहित्यका क्षेत्रमा विकसित आन्दोलनहरूमध्ये स्वच्छन्तावादी आन्दोलनले र पछिल्लो चरणमा भएका सांस्कृति अध्यनका बहुल सांस्कृतिक विषय क्षेत्रले आञ्चलिकतालाई गर्भित गरिरहेको देखिन्छ ।
आञ्चलिकता कुनै भूगोल र त्यस भूगोलको सामान्य रङ मात्र होइन । यसमा समग्र सामाजिक र सांस्कृतिक परिवेश र मानव संस्कार समाहित हुन सक्छ । यसमा लोकसंस्कृति, लोकतत्व, जातिविशेषका लोकसाहित्य, वाक्धारा, रीतिथिति, चालचलन, चाडपर्व, रूढि आदि पनि समेटिएका हुन्छन् । लोकभाषा, लोकसाहित्य, लोकनृत्य, लोकसङ्गीत, लोककला आदिका निजी विम्ब आञ्चलिक साहित्यमा परिवेश बनेर आइरहेका हुन्छन् । यस्ता कृतिमा स्थानविशेषको जनजीवनका सबै विशेषताहरू प्रत्यक्ष र परोक्ष रुपमा समाहित देखिन्छन् । अधुनातन साहित्य यस किसिमको प्रवृत्तिबाट साहित्यको यथार्थ र नयाँ दिशा निर्देश गरिरहेको छ । बहुमुखी समाजका बहुमुखी स्वरलाई र जीवनशैलीलाई बाहिर ल्याइराखेको छ ।
आख्यानमा आञ्चलिक रङ सजिलै घोलिने भएर होला आख्यानमा पनि उपन्यासमा यो रङ सजिलै पहिल्याउन सकिन्छ । नाटकमा पनि यो सम्भावना प्रयाप्त छ र धेरै नाटकहरु आफ्ना परिवेशमा आञ्चलिक रङ दिइरहेका छन् । कथा विधामा आञ्चलिकताको उपयोग प्रयाप्त मात्रा भएको अवस्था देखिन्छ तर सूक्ष्म दृष्टिले नाटक र कथामा यस प्रवृत्तिको अन्वेषण हुन सकिरहेको छैन । साहित्यका निबन्ध र अन्य विधाहरूमा पनि पछिल्लो चरणमा आञ्चलिकता झल्कने वैशिष्ट्यहरू उपयोग भएका देखिन्छन् । यात्रा साहित्यले यस पक्षलाई निकै जीवन्त रुपमा समेटिरहेको छ । नाटक र चलचित्रले पनि यस विशेषतालाई गर्भित गरिरहेका छन् । हामीले नेपाली भूगोल, माटो, संस्कृति, जीवनचेतना जस्ता बहुमुखी पक्षलाई आञ्चलिक चरित्रका साहित्य सिर्जनाबाट बाहिर ल्याउन सक्छौँ । खास स्थान, समय, परिस्थिति आदिबाट पात्रहरुलाई टिपेर उनका आवाजलाई मूल प्रवाहमा ल्याउन सक्छौँ । यो सबैले थाहा पाएको र देखिरहेको भन्दा लुकेछिपेर रहेको पक्ष उद्घाटन गर्ने र उनीहरुलाई पनि पहिचानमा ल्याउन सघाउने साहित्यिक आन्दोलन पनि हो । पहिचान नभएका पात्र, परिवेश र जीवनशैलीको उजागर पनि हो ।
-सम्पादक