नेपाली साहित्य परम्परामा कवि त्रयोदश नामबाट तेह्र जना कविले तीन वर्षअघि आरोहण शीर्षकको महाकाव्य संयुक्त रूपमा लेखन गरी प्रकाशनमा ल्याएका थिए । त्यस काव्यले दोस्रो विश्वयुद्धदेखि महाभूकम्पसम्मका करिव एक शताब्दीका नेपाली समाजका साझा समस्यालाई समेटेको थियो । संयुक्त महाकाव्यका रूपमा र काव्यको गरिमाका आधारमा पनि त्यस कृतिको चर्चा परिचर्चा राम्रै भयो । त्यस कृतिले बजार पनि राम्रै पायो । त्यस कृतिको विश्वदृष्टि पनि युगसापेक्ष थियो । अहिले त्यसै कृतिको रचनाकार समूहले अर्को काव्यकृति खण्डकाव्य त्रयोदश प्रकाशनमा ल्याएको छ । यस कृतिमा भने तेह्र कविका एक एक गरी जम्मा तेह्रवटा काव्यहरू समेटिएका छन् । एउटै कृतिमा तेह्र प्रतिभाका सिङ्गासिङ्गै काव्य पढ्न पाउनु नेपाली पाठकका लागि सुखद क्षण बनेको छ ।
काव्य त्रयोदशका त्रयोदश कविहरू गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाल, प्रकाश चापागाईं, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी हुन् । यी कविहरूले नेपाली कविता सिर्जना परम्परामा आआफ्ना स्थान पनि बनाइसकेका छन् । यी सबै कविहरूको साझा सिर्जनात्मक मञ्चका रूपमा कवि त्रयोदश सक्रिय छ । यस मञ्चमा कविका नाम उमेर क्रमले राखिएका छन् । समूहले कार्यक्रम गर्दा कसै एक जनाले सभाध्यक्ष बन्ने, कसै दुई जनाले स्वागत र धन्यवाद ज्ञापन गर्ने प्रचलन छ ।
एउटै कृतिमा तेह्र प्रतिभाका सिङ्गासिङ्गै काव्य पढ्न पाउनु नेपाली पाठकका लागि सुखद क्षण बनेको छ ।
खण्डकाव्य त्रयोदशमा उमेरका क्रमले १३ जना कविका काव्य समावेश भएका छन् ती कवि र उनका कावयहर गोपीकृष्ण शर्माको सन्देश विजय, राजेन्द्र सुवेदीको मञ्जुश्री वाग्मती संलाप, भुवनहरि सिग्देलको शकुनि, ठाकुर शर्मा भण्डारीको सुधावसुधा, श्रीहरि फुयालको आमाश्री, प्रकाश चापागाईंको मगुई, जीवन अधिकारीको बुढ्यौली दर्शन, नारायणप्रसाद पोखरेलको उपरान्त, रामप्रसाद ज्ञवालीको मृत्युञ्जयी, लेखप्रसाद निरौलाको रतिप्रवास, देवी नेपालको पागल, रमेश शुभेच्छुको एकलव्य र नारायण निरासीको स्वप्नभङ्ग हुन् । यी कावयका शीर्षकले पनि विषय क्षेत्रलाई सङ्केत गरेका छन् ।
कवि गोपीकृण शर्माको सन्देश विजय काव्यमा वयोबृद्धका समस्याहरू समेटिएका छन् । यो वृद्ध चिन्तनको काव्य रचना हो । छोराले फरक जातीय केटी विवाह गरेको र फरक ठाउँमा बसेर बाबुआमा नहेरेको तर अन्त्यमा त्यही फरक जातकी बुहारीकै कारण अनाथालयमा जानबाट सासूससुराई रोकेको विाष्यवस्तुलाई यस काव्यले समेटेको छ । जातीय समानाता , पारिवारिक विघटनको विरोध र सुगठनको चाहना यस काव्यको केन्द्रीय अभिव्यक्ति हो ।
कवि राजेन्द्र सुवेदीको मञ्जुश्री वाग्मती संलाप बाग्मतीको बग्न पाउने हकको माग र मञ्जुश्रीको उपत्यकाबाट बाहिर बगाउने प्रयासका मिथकमा आधारित काव्य हो । यस काव्यले प्रकृतिचेत र स्वतन्त्रताचेतलाई अभिव्यक्त गरेको छ । यस काव्यको प्राकृतिक चरित्र वाग्मतीका अभिव्यक्तिबाट विद्रोह र स्वतन्त्रताको स्वर अभिव्यक्त गरिएको छ ।
कवि भुवनहरि सिग्देलको शकुनि महाभारतीय मिथकमा आधारित मिथकीय वस्तु स्रोतको काव्य हो । यस काव्यले शकुनीका चरित्रलाई स्वाभिमानी चरित्रका रूपमा उभ्याउँदै देशभक्ति, औपनिवेशिक विस्तारवादको विरोध गर्दै स्वाभिमानको गाथा गाएको छ ।
कवि ठाकुर शर्मा भण्डारीको सुधावसुधा काव्यले लेखकको जीवनीका केही पक्ष र मूलतः प्रकृति चित्रणलाई समेटेको छ । यस काव्यमा मूलतः गुल्मी जिल्लाको लेखकको जन्मभूमिको विषयवस्तुलाई समेटेको छ । यस काव्यले आञ्चलिक चेतनाका साथ जन्मभूमि र प्रकृतिप्रेमबाट राष्ट्रिय चेतनालाई उजागर गरेको छ ।
कवि श्रीहरि फुयालको आमाश्री आमाको महिमाका साथै आमाको पीडा, बाआमा वा वृद्धवयको पीडासँग सम्बन्धित काव्य हो । यस कावयमा छोरो विदेशिएको अवस्थामा भएको आमाबाबुको पीडा र त्यही दुख पाएर घर फर्किएको र बाआमासँगै आश्रित भएको विषयवस्तुलाई आत्मसात गर्दै पारिवारिक सुगठन र सद्भावको कामना गरिएको छ । यस काव्यले देशभक्ति, मातृ र पितृमहिमाका माध्यमबाट मूलतः राष्ट्रिय चेतनाकै अभिव्ययक्ति दिएको छ ।
कवि प्रकाश चापागाईको मगुई चितवनमुनिको माडीको खोलाको नाम र परिवेशमा आधारित काव्य हो । यस काव्यले पण्डितले आफ्नो रुचिको दोस्रो प्रेम विवाह गरेपछि आएका समस्या र अन्तिमममा कान्छी श्रीमतीको धोका र जेठी श्रीमतीकै शरणमा पुगेको कथा योजना गरी वर्तमान नेपाली समाजका विखण्डनमुखी प्रवृत्तिको विरोध र पारिवारिक पुनर्मिलनलाई देखाइएको छ ।
कवि जीवन अधिकारीको बुढ्यौली दर्शन वृद्ध समस्या र मनोविज्ञानमा आधारित काव्य हो । बृद्धवृद्धाले आफूले भोगेका र उनीहरूका कारण आफन्त जन र परिवारलाई पर्ने समस्यालाई काव्यको मूल विषयवस्तु बनाइएको छ । यस काव्यबाट अहिले धेरै वृद्धवृद्धामा देखिइरहेको अल्जाइमर रोगजन्य समस्याबाट नेपाली समाजका यथार्थलाई बाहिर ल्याइएको छ ।
कवि नारायणप्रसाद पोखरेलको उपरान्त काव्य ग्रमीण परिवेशमा केन्द्रित काव्य रचना हो । आज नेपाली ग्रामीण परिवेश कसरी सहरी परिवेशका मोहले ध्वंश भएको छ भन्ने पक्षलाई यस काव्यले निकै जीवन्त रूपमा देखाएको छ । परिवारका तीन पुस्तामध्ये बुढो पुस्ता र बाँझो बारीको चित्रणमा केन्द्रित यस काव्यले मूलतः माटोको महिमा गायन गर्दै नेपालको कृषिसभ्यताको संरक्षणको आवश्यकता औँल्याएको छ ।
कवि रामप्रसाद ज्ञवालीको मृत्युञ्जयी काव्य नारी समस्यामा केन्द्रित काव्य रचना हो । यस काव्यले भुइँचालोले पुरिएर बाँचेकी तर सङ्घर्ष गरेर गाउँमै बसेकी एक्ली नारीको सङ्घर्षमा आधारित नारी चेतना र नारी सङ्घर्षलाई विषय बनाइएको काव्य हो । यस काव्यले जीवनलाई सङ्घर्षको पर्यायका रूपमा चिनाएको छ ।
कवि लेखप्रसाद निरौलाको रतिप्रवास विदेसिएका नेपाली युवाका समस्यामा आधारित काव्य हो । यस कावयमा क्यानडा गएर बसेको नेपाली युवक क्यानेडियन केटीसँग प्रेम गरेर बसेको तर असफल भएको विषयलाई प्रस्तुत गरिएको छ । यो विविध समसामयिक समस्यासँगै शृड्गारिक चेतनाको काव्य हो ।
कवि देवी नेपालको पागल काव्य वर्तमान समाजका विकृत मनस्थितिको प्रतिनिधित्व गर्ने काव्य हो । यस काव्यले पर्दापछाडि र अगाडि फरक धन्दा गर्ने चरित्रको उद्घाटन पागलका माध्यमबाट गरेको छ ।
कवि रमेश शुभेच्छुको एकलव्य महाभारत मिथकमा आधारित काव्य हो । यस काव्यमा एकलव्यको विम्बलाई यथावत एक्लो साधनाबाट जीवन सफल बनाउन सकिन्छ भन्ने चिन्तनअनुरूप राखे पनि द्रोणाचार्यको विम्बलाई केही परिवर्तन गरी उदात्तीकरण गरिएको छ । यस काव्यमा एकलव्य र द्रोणका साथै द्रोण र भीष्म (हस्तिनापुर दरबार) का बिचको द्वन्द्वलाई समेटी वर्गीय चेतनालाई र मानवीय मूल्य संरक्षणलाई देखाइएको छ ।
कवि नारायण निरासीको स्वप्नभङ्ग काव्य देशभक्तिको गीत गाउने काव्य हो । यस काव्यबाट देशमा परिवर्तन र उज्यालोको कामना गरिएको छ । देशमा परिवर्तनका किरण आउलान् भन्दा भन्दै केही नभएको भन्दै छोराछोरी विदेश गएका । छोरो विदेशमा विविध ठक्कर खाएर स्वदेश फर्किएको घटना योजनाबाट देशभक्तिको चेतना अभिव्यक्त गरेको छ ।
खण्डकाव्य त्रयोदश (२०७७) वि.सं १९९९ को नब्बेको दशकदेखि २००० को ३० को दशकमा जन्मिएका कविहरूका विचारलाई बोक्ने एउटै काव्य निकै पठनीय रूपमा आएको छ । कविका विचारधारा फरक फरक भए पनि र केही सीमा रहे पनि नेपाली काव्य परम्परामा यो कृति गम्भीर प्रकृतिका पाठकका लागि गहन खुराक बनेर आएको छ । राजनीतिक दल, परिवार–परिवार, जातजाति, समुदाय आदि विभक्त भइराखेको समयमा साहित्यकारहरूको यो मेल र सिर्जनात्मक प्राप्तिलाई सलाम । साहित्यसागरको सम्पादकीय सलाम ।
-सम्पादक