विश्वासाहित्य सन्दर्भमा हेर्दा अङ्ग्रेजीको ‘Diasporic Criticism’ को विकासले यस किसिमको साहित्य अन्वेषणमा सघायो । यसको मूल अर्थ एक ठाउँको मान्छे अवसरको खोजी, बाध्यता, बसाइँसराई, देश निकाला आदि विविध कारणले यायावरीयवृत्तिका कारण कुनै अर्को ठाउँमा पुग्दा उनका आचरणमा आएका परिवर्तन, पुरानो ठाउँ छोड्नु पर्दाको न्यास्रो, आफन्तहरूको सम्झना, अभाव, चिन्तन आदि भाव र त्यहाँ उब्जिएका चिन्तन प्रभाव र तिनका प्रजननबाट जन्मिएका चिन्ता र उद्विग्नतालाई सृजनामा प्रतिबिम्बित गर्ने कृतिहरू आप्रवासीय साहित्यमा पर्दछन् भने त्यस्ता कृतिहरूको अध्ययन विश्लेषण गर्ने समीक्षा शास्त्र ‘आप्रवासीयतावादी समीक्षा’ हो । यसको प्रयोग अहिले बढ्दो देखिन्छ ।
मान्छे एक ठाउँबाट अर्को ठाउँमा गएर बसोबास गर्दा सबै कुरा राम्रै भए पनि उसका पारिवारिक वा वैयक्तिक जीवनमा कुनै न कुनै किसिमको आघात परिरहेको हुन्छ । यस्ता आघातको प्रभाव उच्च वर्गीय पूँजीपतिहरूमा भन्दा पनि निम्न र निम्नमध्यमवर्गीय आम नागरिकमा चर्को देखिन्छ । त्यस प्रभावको प्रतिक्रिया नै साहित्य सृजना र चिन्तनको कारणका रूपमा विकास हुने हुँदा प्रायः गहिरो साहित्य एवम् कला सिर्जना आप्रवासीहरूका कलम, कुची, बाजा र छिनोमा हुने गरेको देखिन्छ । मानव जातिको आप्रवासन सभ्यताको प्रारम्भिक चरणदेखि नै मानव जीवनसँग अन्तर्सम्बन्धित बन्दै विकासको एक पाटोकै रूपमा रहँदै आएको विषय हो तर यसको कलात्मक अभिव्यक्ति भने आधुनिक कलाका साधन र छापाखाना विकासपछि मात्र सम्भव भयो । यसचिन्तनको कला उपजलाई आजका सन्दर्भमा विश्वसाहित्यमा सिर्जनाको विषय र समीक्षाको एक नयाँ किसिमको प्राप्तिका रूपमा आत्मसात गरिएको छ ।
आजको मानव जाति विश्वमा चाहेको ठाउँमा आउजाउ गर्ने भिसा प्रथाको उपयोग गरिरहेको भए पनि यो मानव यात्रामा स्वतन्त्रताको मात्रा ज्यादै न्यून छ । आज नेपाल गणतान्त्रिक मुलुक भए पनि यहाँबाट काम र शिक्षाका लागि जापान, बेलायत र खाडी जाने मुलुकहरू राजतन्त्रात्मक छन् । गणतान्त्रिक मुलुकमा पनि प्रवाशी नागरिकलाई अनेक बन्धनहरूबिच बस्न दिएको हुन्छ । यसरी भिसा प्रचलन विकास भए पनि आजको विश्व भनाइमा खुला र व्यवहारमा बद्ध बन्दै गएको पक्ष आप्रवासनमा पुगेका मानिसले राम्ररी बुझेका छन् । आजका तुलनामा इतिहासमा भनिने गरेको प्राचीन एवम् प्राथमिक र मध्यकालीन युगमा विश्व परिभ्रमणका निम्ति खुला र त्यतिकै स्वतन्त्र थियो । जहाँसुकैको मान्छे आफ्नो इच्छा र आवश्यकताअनुसार जहाँसुकै पनि जान र आफ्नो रुचिको पेसा र आचरणमा बस्न सक्थ्यो । रहर, परिस्थिति, बाध्यता जुनसुकै कारणले भए पनि एक मुलुकको व्यक्ति अर्को मुलुकमा पुगेर जीवनयापन गर्नुपर्दा ऊभित्र जन्मने तरङ्गगत उहापोह, पीडाव्यथा र सुर्ता, न्यास्रोपन आदिका साथै तिनका प्रतिक्रियाहरू उत्कृष्ट कला बनेका उदाहरणहरू विश्वप्रसिद्ध साहित्यकार एवम् कलाकारहरूका जीवनी पढ्दा पाइन्छन् । त्यस्ता साहित्य र कलामा मातृभूमिको महिमा, मातृभाषा र संस्कृतिको उपल्लो चर्चा हुने गरेको देखिन्छ ।
विरानो परिवेशमा रहँदा जन्मिएका संवेगहरू निकै तीव्र हुन्छन् । त्यस्ता संवेग कुनै माध्यमबाट प्रकट भएका अवसरमा मान्छे न्यास्रो, विस्मात् र चिन्तको भावको कलात्मक अभिव्यक्ति प्रवल हुन्छ । मान्छे सकेसम्म आफ्नो अतीत सम्झनाबाट मुक्ति चाहिरहेको हुन्छ। त्यही मुक्तिको अपेक्षा वर्तमानको चिन्ता, अतीत सम्झना र सुर्ताका स्थितिहरूबाट मान्छे प्रताडित भएर आउने सिर्जना आप्रवासी चिन्तनको सिर्जना हो । स्वभूमिको सम्झनाले जन्माएका उकुसमुकुसलाई साहित्य र कलाका रचना प्रक्रियाबाट प्रकट गरेर आफ्नो मनको जलन पनि शान्त पार्ने र कला वा साहित्यको भण्डार पनि भर्ने हेतुले अनेक साहित्य कलाका सिर्जना भइसकेका छन् । त्यसरी सिर्जनात्मक अभिव्यक्ति हुने क्रममा कलाका अन्य पक्षभन्दा साहित्य र सङ्गीतमा यसको प्रभाव र प्रयोग बढी भएको देखिन्छ । मान्छे आफू पराई देशमा रहनाका कारण जन्मिएका संवेदना र आग्रह, अनुरोध, सन्देश, आत्मालाप, दैनिकी आदि अन्य जनसमक्ष प्रस्तुत गर्ने प्रयत्नमा आप्रवासी साहित्य र कलाको जन्म हुन्छ । त्यस साहित्य र कलामा स्वदेशी साहित्यकार वा कलाकारको भन्दा तीव्र देश, भाषा, धर्म, संस्कृति, सभ्यताजन्य र मुक्त गहिरा स्मृतिविम्बहरू रहन्छन् । ती विम्बले मातृभूमिमा रहनेलाई र मातृभूमिबाट टाढा रहने दुवैलाई भावनात्क सूत्रमा जोडिरहन्छ ।
साहित्यको मात्र कुरा गर्दा आप्रवासनमा रहेर सिर्जना गरिएको साहित्यमा आप्रवासीय पीडा, व्यथा, अभाव, हीनता, अस्तित्व आदिका छटपटीजन्य अनुभूति प्रवल पाइन्छ । आफू र आफ्नो परिवार र संस्कृतिक संरक्षणका आतुरी दोहोरिइरहन्छ । यस किसिमको साहित्यको स्रष्टा आफू आफ्नो पुख्र्यौली थलोबाट विस्थापित हुनु परेको पीडा, न्यास्रो, स्मृति, चिन्ता, सम्भावनाको चिन्तन, फर्कने कि नफर्कने मनस्थितिको सामना गर्दै आफ्नो मौलिक भूमि र परिवेशका विभिन्न मूल्यबाट विस्थापित हुनु पर्दा जन्मिएको कष्टलाई निकै गहिरो गरी अभिव्यक्त गरिरहेको हुन्छ । यसमा मनोविज्ञान, अस्तित्वचेत, विसंगतिचेत आदि बहुमुखी साहित्यले ग्रहण गरिसकेका चेतनाहरू मिश्रित रूपमा आएका हुन्छन् ।
आजसम्म देखिएको आप्रवासी साहित्यमा मोटामोटी नयाँ ठाउँमा आफ्नो स्थिति दुर्बल रहँदाको भय, नयाँ ठाउँमा स्थापित हुने प्रयत्न र असफलताको भय, पुर्ख्यौली भूमिको स्मृतिमा आएको तीव्रता र शिथिलता, नयाँ ठाउँमा आफ्नो हैसियत स्थापित हुँदै गरेको अवस्थाको सामान्यीकरण, नयाँ ठाउँप्रति जागेको विश्वासको अनुभूति र शङ्का उपशङ्कालाई समेटेको देखिन्छ । यस्तो साहित्यमा देखिने साझा विशेषताहरूमा पूर्वभूमि र नवभूमिको स्थिति बोध, नवभूमि र पूर्व वा मातृभूमिमा विभाजित मानसिक सङ्घात, नवभूमिमा अल्पसङ्ख्यक हुनुको पीडा, नवभूमिका अन्य नागरिकले सीमान्तीय व्यवहार गर्नुको पीडा, विरानो भूमिमा रहनु पर्दाको शारीरिक एवम् मानसिक छटपटी, आफू व्यक्ति र पारिवारिक सुरक्षाको आन्तरिक चिन्ता, अस्तित्व रक्षाका रणकौशल, फरक फरक सम्बन्ध सूत्रको वरण, अतीत सम्मोहनको मनोवैज्ञानिक भार आदि प्रवल देखिन्छ । प्रवासी पात्रमा देखिने यो पीडा पहिलो पुस्ताको मूल पीडा हो । दोस्रो तेस्रो पुस्ताले यसलाई विस्तारै अलि भिन्न रूपमा स्वीकारर्दै र आफ्नो अस्तित्व प्रवल बनाउँदै जान्छन् । उनीहरू जतिसुकै प्रवल बन्दा बन्दै पनि नस्लीय विभेदमा परिरहेका हुन्छन् र नयाँ पीडाका रूपमा व्यहोरिरहेका र अभिव्यक्त गरिरहेका हुन्छन् ।