अनुवाद कुनै एक भाषाको ज्ञान अर्को भाषामा पुर्याउने प्रमुख बौद्धिक माधयम हो । साहित्य र कलाका नमुनाहरू साटासाट गर्ने माध्यम पनि हो । साहित्य सिर्जनाका दृष्टिले हेर्दा अनुवाद पुनः सिर्जना पनि हो भने ज्ञानविज्ञान र दर्शनको अनुवादका दृष्टिले हेर्दा यो एउटा भषाको ज्ञान विज्ञानलाई अर्को भाषामा पुर्याउने सहज र उपयुक्त माध्यम हो ।
कुनै भाषाका साहित्य, ज्ञान, विज्ञान र चेतनाहरू समेटिएका उत्कृष्ट कृतिहरूको प्रमुख अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद भएपछि नै अन्तर्राष्ट्रिय स्तरमा सम्बन्धित साहित्य, ज्ञान, विज्ञान र चेतनाको चर्चा र मूल्याङ्कन हुन थाल्छ । त्यस्तै विश्वसाहित्य वा ज्ञान भण्डारका उत्कृष्ट लेखक र कृतिको पर्याप्त अनुवाद राष्ट्रभाषा वा मातृभषामा पढ्न पाएपछि नै सम्बन्धित भाषी वा देशवासी अन्य भाषाभाषीका नागरिकले विश्वका चेतनाको उज्यालो पाउँछन् । कुन भषामा कस्तो–कस्तो साहित्य कस्तो चेतना र ज्ञान छ भन्ने कुरा आफ्नै भषामा बुझ्न पाउँछन् । नेपाली सन्दर्भमा विश्वप्रसिद्ध ज्ञान, दर्शन र साहित्यका कृति जति नेपाली भाषामा अनुवाद हुन सके हाम्रो ज्ञान र चेतनाको तह त्यति नै विकास हुन सक्छ । आफ्नै भषामा अन्य भाषाका सामग्री पढेपछि सम्बन्धित भषाको साहित्य, ज्ञान वा चेतना र नवदर्शनका विषयमा आधिकारिक रूपमा तुलनात्मक निर्णय लिन सकिन्छ । यद्यपि यसतर्फ आधिकारिक निकायहरूले यथेष्ट योगदान गर्न सकिरहेका छैनन् । केही भएर पनि ती प्रयाप्त छैनन् ।
विश्वका उत्कृष्ट साहित्यकारका उत्कृष्ट रचना हाम्रो भाषामा अनुवाद गर्न पनि हामीले प्रयाप्त मात्रामा सकेका छैनौँ भने हाम्रो साहित्यलाई अन्यत्र लैजाने प्रयत्न झन् कम गरिरहेका छौँ । यद्यपि नेपालमा अनुवादको परम्परा भने लामो भइसकेको छ ।
नेपालमा राणा कालमै नेपाली भषानुवाद परिषद्को स्थापना भएको थियो । त्यसको उत्तराधिकारी संस्था प्रकारान्तरले आजको साझा प्रकाशन हो । यस संस्थाले आफ्नो मातृसंस्थाको उद्देश्य उन्नयनलाई के कति निरन्तरता दिन सक्यो त्यो छुट्टै मूल्याङ्कनको पाटो छँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको अनुवाद विभागबाट हुँदै आएका काम आधिकारिक भए पनि त्यो सीमित भइरहेको देखिन्छ र कृति छनोट र दोहोरो अनुवादको भूमिका जे जसरी हस्तक्षेष्पकारी ढङ्गले अगाडि बढ्नुपथ्र्यो त्यसो हुन नसकिरहेको हो कि जस्तो लाग्छ तर केही आधिकारिक कृतिहरू प्रकाशन भइरहेका छन् । निजी संस्थाले दोहोरो अनुवादमा भूमिका खेलिरहे पनि कृति छनोटको आधार प्रज्ञाको भन्दा कमजोर देखिन्छ । यसले नेपाली साहित्य, ज्ञानविज्ञान र लोकज्ञानका कृतिहरू विश्व परिवेशमा पुग्न सकेका छैनन् । हाम्रामा कृति मूल्याङ्कन गराएर विश्व बजारमा पुर्याउने निकायको खाँचो हिजोदेखि आजसम्म परिरह्यो । नेपाली अनुवाद परम्परामा रामायण, शिरिषको फूल, मुनामदन, मसान, अश्वत्थामा, सेतो बाघ, आज रमिता छ, स्रग्धरा, अरूका फूल, अग्निको कथा, जस्ता केही कृतिहरूको चर्चा अनुवाद पढेका विदेशी लेखकहरूले पनि चर्चा गरेका कृति हुन् । नेपाली भषा र व्याकरणका कृति एवम् लोकसाहित्यका केही कृतिबारे पनि विदेशी लेखकहरूले चर्चा गरेको पाइन्छ । समसामयिक नेपाली व्याकरण, नटुङ्गिएका कथा, सेलेक्टेड नेपाली एसेज, सेलेक्टेड नेपाली लिरिकल पोयम्स आदि विदेशी लेखकले पनि चर्चामा ल्याएका कृति हुन् । अनुवाद कृतिको पठनमा पाठकले अनुवादक र मूल कृतिको गरिमालाई पनि हेर्ने गरको देखिन्छ । नेपाली भषामा अनुदित विदेशी भषाका कृतिहरू अधिकांश पढिएकै देखिन्छ । नेपाली अनुवाद परम्परामा बढी पढिएका कृतिमा विश्वप्रसिद्ध व्यक्तित्वका जीवनी, आख्यान, राजनीति र धर्म–दर्शनका कृतिहरू छन् । साहित्यशास्त्र र समाजशास्त्रका सिद्धान्तमा पनि पाठकीय रुचि बढ्दो देखिन्छ ।
विश्वसाहित्यको नेपाली अनुवाद बढी अङ्ग्रेजीबाट भएको छ । चिनिया, जर्मनी, रुसी, बड्गाली, हिन्दी, फारसी आदि विदेशी भषा र नेपालभित्रकै अन्तर भाषामा पनि नेपाली साहित्यमा कृति अनुवाद हुने क्रम चलिरहेको छ । विश्वसाहित्यका कृतिमध्ये आख्यानतर्फ म्याक्सिम गोर्की, निकोलाई अस्त्रोभ्सकी, पर्ल एस बक, हावर्डफास्ट, जोन स्टेनबेक, अर्नेस्ट हेमिङवे, जोन बनयान, जर्ज अर्बेल, ज्याँ जाक रुसो, भिक्टर ह्युगो आदिका रचना नेपालीले अनुवादकै माध्यमबाट पढ्न पाएको र त्यसका आधारमा नेपाली आख्यान सिर्जनाले नवीन मार्ग अवलम्बन गरेका अनेक उदाहरण छन् । विश्वसाहित्यबाट नेपाली साहित्यमा कविताको अनुवाद आख्यानका तुलनामा कम भएको छ । सीमित कविता र नाट्यकृतिमध्ये होमर, उमरखैयाम, जोनवनयान, विलियम वर्डसवर्थ, इमिलिडिकिन्स, रवीन्द्रनाथ ठाकुर, दाँते अलिघेरी, खलिल जिब्रान पुस्किन गेटे, आदि प्रतिभाका अनुदित कृतिको बजार अनुवाद कालदेखि आजसम्म देखिएकै छ । तिनको प्रभाव नेपाली कवितामा प्रत्यक्ष परोक्ष रहेको पक्ष छँदैछ ।
साहित्यिक अनुदित कृतिमध्ये नाटकको अनुवाद ज्यादै कम भएको छ । नाटकसँग साहित्यिक गुण र कला पनि हुने भएकाले यसको अनुवाद कम हुनुसँगै नेपाली नाटक र रङ्गमञ्चको विकासमा नवीन मूल्यले प्रवेश नपाउनु पनि हो । हामीले अटलबहादुर नाटकलाई परोक्ष अनुवाद पनि भन्न सकिने कृतिका रूपमा पायौँ । सेक्सिपियरका प्रायः सबै नाटकहरू नेपालीमा अनुदित छन् । उनको द मर्चेन्ट अफ भेनिसले धेरै अनुवादकका कलमबाट धेरैपटक अनुवाद भई नेपाली भाषामा स्थापित हुने अवसर पायो । स्यामुल बेकेट, म्याक्सिम गोर्की, हेनरिक इब्सन, आर्थर मिलर, निकोलेइ गोगोल हुँदै हिन्दीका धर्मवीर भारती आदि नाटककारहरूलाई हामीले अनुवादकै माध्यमबाट पढ्न पायौँ । यस विधाको अनुवादले नेपालको साहित्यसँगै नाट्य र कलाक्षेत्रको विकासमा पनि टेवा पुर्याउने हुँदा यसतर्फ अनुवादकको र सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाको ध्यान जान आवश्यक छ ।
विश्वसाहित्यका निबन्ध विधाको जेजति अनुवाद हुनु र पढिनु पथ्र्यो, त्यो हुन सकेको देखिँदैन । राणा कालमा भाषानुवाद परिषद्बाटै निबन्ध अनुवादको आरम्भ भए पनि त्यसले गति लिन सकेको देखिँदैन । तैपनि प्रसिद्ध प्रबन्धसङ्ग्रहपछि साहित्यमा लुसुनका विचारहरू, लुसुनका निबन्धहरू (भाग १–४), हुँदै बर्टान्ट रसेल, आइ. ए. रिचार्ड, एरिस्टोटल, जर्ज लुकाज, आदि निबन्धकारका चिन्तनप्रधान निबन्ध पनि अनुवाद भएर नेपाली पाठक र बौद्धिक जगत् लाभान्वित भएको देखिन्छ । यद्यपि निबन्धका अनुवाद प्रयाप्त भएनन् र यो अवस्था अङ्ग्रेजीइतर भाषाका अनुवादमा पनि न्यून नै देखियो ।
नेपालीबाट विदेशी भाषामा अनुवाद हुने क्रम पनि निकै लामो बनिसकेको छ । नेपाली भाषाबाट विदेशी भषामा भएका सबै अनुवाद विदेशी पाठकका लागि पठनीय हुन नसक्नुको कारण कृतिको छनोट, अनुवाद, सम्पादन आदि विविध हुन सक्छ । विश्वसाहित्य मञ्चसम्म हाम्रा महान् लेखकका महत्वपूर्ण कृतिलाई लैजान सक्ने नेपाली अनुवादकहरू र आयोजक संस्थाहरूले जिम्मेवारी बोध गर्ने हो भने हाम्रो साहित्य विश्वसाहित्यमा पुग्न र हाम्रो सिर्जनमूल्य विश्वपरिवेशमा मूल्याङ्कन हुन समय लाग्ने थिएन । यसतर्फ प्रज्ञाको अनुवाद विभाग, अनुवादक समाज नेपाल आदिका प्रयत्न निकै सार्थक र परिणाममुखी पनि देखिएका छन् ।
विश्वका उत्कृष्ट साहित्यकारका उत्कृष्ट रचना हाम्रो भाषामा अनुवाद गर्न पनि हामीले प्रयाप्त मात्रामा सकेका छैनौँ भने हाम्रो साहित्यलाई अन्यत्र लैजाने प्रयत्न झन् कम गरिरहेका छौँ । यद्यपि नेपालमा अनुवादको परम्परा भने लामो भइसकेको छ । यस्तो परम्पराको समयरेखाको डोरेटो खोज्दै अध्येताहरू चौधौँ शताब्दीसम्म पुगेका छन् । नेपाली समाज बहुभाषी समाज हुँदा यस समाजका अन्तर सम्बन्धमै अनुवादकला छ । बहुभाषिक समाज हुँदा अनुवाद कार्य पनि नेपाली भाषासँगै विकसित हुँदै आएको देखिन्छ । साहित्यिक कृतिको मात्र कुरा गर्दा पनि उन्नाइसौँ शताब्दीसम्म अनुवाद कार्य अघिअघि र मौलिक सृजना पछिपछि सँगसँगै यात्रारत देखिन्छन् । नेपाली साहित्य परम्परामा महाभारत विराट पर्व (१८२७), हास्यकदम्ब (१८५५), र रामायण (१८९८–१९१०) आदिलाई अनुवादकहरूले नेपाली साहित्यका अनुदित कृतिका प्रारम्भिक नमुना कृति मानेका छन् । यीमध्ये विभिन्न अध्ययनले रामायणलाई अनुवाद नभई मौलिक कृति हो भन्ने पुष्टि गरिसकेका छन् । बरु भानुभक्तका फुट्कर रचनामा र अन्य रचनामा यो सम्भावना खोज्न सकिन्छ । सुरुसुरुतिर संस्कृतप्रेरित नेपाली अनुवाद साहित्य क्रमशः हिन्दी र अंग्रेजी भाषाप्रेरित बनेर विकसित बनेको छ । प्राथमिक कालका शक्तिवल्लभ अर्याल, भानुदत्त, योगी अम्बर गिरी, भानुभक्त आचार्य, मोतीराम भट्ट आदिकै पालामा समृद्ध बन्न थालेको अनुवाद परम्पराको निरन्तरता र उत्तरोत्तर गति भने सुस्ताएको र अहिले केही शिर उठाउन थालेको र अनुवादअध्ययनको पनि थालनी भएको देखिन्छ ।
अनुवादलाई आज द्वैभाषिक क्षमता भएका विद्वान्हरूले आवश्यकताकेन्द्री कर्म मानिरहेका र गुगल अनुवादको भर परिरहेका भए पनि यो एक बौद्धिक, प्राज्ञिक, सिर्जनात्मक र जिम्मेवारीपूर्ण कर्म हो । नेपाली साहित्यको अनुवाद परम्परामा केही गुगलअनुवादका सामान्य कृतिहरूको प्रभाव देखिनाले विदेशी पाठकले नपढ्ने खतरा बढिरहेको छ भने लेखकको अनुवाद गराउने लहडको चपेटामा पनि अनुवाद कला टाक्सिइरहेको छ । नेपाली लेखक र समग्र नेपाली प्राज्ञिक जगत्को उन्नयनमा साहित्यको सिर्जनात्मक विकास जस्तै अनुवाद साहित्यको विकास हुन आवश्यक छ ।
– सम्पादक