नेपाली साहित्यमा अज्ञात लेखन बढ्न थालेको छ । यसको अङ्ग्रेजी समानान्तर शब्द ‘घोस्ट राइटिङ्ग’ हो । रचनाकारको परिचय नखुल्ने, खुलिहाले पनि त्यस रचनाको गुणस्तर र त्यसका स्रष्टाको क्षमताचाहिँ विश्वसनीय हुँदैन । यो अवस्था नेपाली साहित्यमा पछिल्ला दिनमा निकै मौलाउँदो देखिन्छ ।
घोस्ट राइटिङले लेखकलाई राम्रो लेखक बनाए पनि साहित्यको विकासमा खास फरक पार्दैन । नेपाली साहित्य परम्परामा कमजोर कृति लिएर आइराखेका स्रष्टाहरू एकाएक बलियो कृति लिएर आउनु, साहित्येतर क्षेत्रमा सक्रिय र प्रतिष्ठित व्यक्तिहरू एकाएक उपन्यासकार, आत्मकथाकार र अरू विधाका साथ उपस्थित हुनुमा यसको प्रभाव देखिन्छ । यसले समीक्षक र पाठकहरूलाई लेखकको क्षमता मापन गर्न दिँदैन ।
प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली साहित्य परम्परामा घोस्ट राइटिङ भइरहेको छ । यसको असर पनि देखिन थालेको छ ।
अज्ञात लेखन भएको कृतिमा रचनाको लेखकको अस्तित्व पहिल्याउन सकिए पनि समीक्षकले तोकेर भन्न कठिन हुन्छ । यस्ता कृतिमा रचनाकार अर्कै र रचनामा उल्लेख भएको रचनाकारको नाम अर्कै हुन्छ । यसले राम्रा लेखकलाई प्रभावमा पारेर कमजोर लेखक शक्तिशाली बन्न सक्ने देखिन्छ । लेखन र लेखकको महत्त्व बुझ्ने धनाढ्य लेखकहरूले अरूलाई लेखाएर चर्चा बटुलेका प्रसङ्गहरू आधुनिक युगको आरम्भसँगै सुनिँदै आएको हो । यस्ता लेखकका सबै कृतिहरू सबै एकै गुणस्तरका हुँदैनन् । नेपाली साहित्यमा कतिपय कृतिमा सम्पादकको नाम उल्लेख हुँदा यस कृतिलाई राम्रो बनाउन सम्पादकको हात रहेछ भन्ने सम्म बुझ्न सकिन्छ तर सम्पादकको नामै उल्लेख नभएका ठाउँमा र भूमिकाकार पनि नरहेका ठाउँमा यस्तो पक्ष ठम्याउन कठिन हुन्छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली साहित्य परम्परामा घोस्ट राइटिङ भइरहेको छ । यसको असर पनि देखिन थालेको छ ।
घोष राइटिङले समीक्षक र अनुसन्धाताहरूलाई झुक्याइदिन्छ । समीक्षकले कृतिमा उल्लेख भएको कृतिकारको नामकै आधारमा कृतिको विवेचना गर्नु पर्ने हुन्छ । यस्तो लेखनमा लेखक स्वयम् निस्क्रिय रहने र रचना चाहिँ अर्कै लेखकले लेखिदिने काम भएबाट अलेखक व्यक्ति महान् लेखक बनेर सार्वजनिक हुने खतरा हुन्छ । यसले वास्तविक लेखकलाई मर्का पर्ने पनि देखिन्छ ।
नेपालीमा पचासको दशकदेखि यता अज्ञात लेखनको क्रम बढ्दो छ । पचास, साठी र सत्तरीको दशकमा थुप्रै अलेखकहरू लेखक बनेको पाइन्छ । केही अज्ञात लेखकले आफ्ना निजी लेखहरूमा यसको पर्दा उतारिरहेका छन् । एक दृष्टिबाट हेर्दा यस्तो लेखन बौद्धिक र कलाका क्षेत्रको बेइमानी हो । अर्कोतर्फ यस किसिमको लेखनले साधारण मानिसका भावनाहरूलाई पनि बाहिर ल्याइरहेको छ । साहित्येत्तर व्यक्तित्त्वहरूका अनुभवहरू पनि पाठकका सामु आइरहेका छन् । नेपाली साहित्यमा उत्कृष्ट भनिएका, प्रतिष्ठित पुरस्कार पाएका, पाठ्यक्रममा पढिएका कतिपय कृतिहरू अज्ञात लेखकका कलमबाट चम्किएको पक्ष बिझ्दो छ । केही आत्मकथाहरू अरूले लेखिदिएर रातारात चर्चामा आएका र प्रकाशकहरू सम्पन्न भएका हल्ला पनि छन् तर त्यस्ता लेखकका एकपछि अर्को कृति आएका छैनन् र आए पनि पहिलो कृतिले छोडेको प्रभाव पछिल्ले कृतिले दिन सकेका छैनन् ।
अज्ञात लेखनलाई साधारण पाठकले ठम्याइहाल्न सक्तैनन् । यस्तो लेखनलाई पहिल्याउन सिद्धहस्त समीक्षकले मात्र सक्छ । समीक्षकले पनि लेखकका एक मात्र कृतिबाट नभई दुई वा दुईभन्दा बढी कृतिको तुलनात्मक अध्ययन, लेखकका अन्य लेख, अन्तर्वार्ता, मन्तव्य र जीवनीपरक अध्ययनबाट मात्र ठम्याउन सक्छ । नेपाली समीक्षा परम्परामा यस किसिमको दाबी हुन सकिरहेको छैन । अज्ञात लेखन समाज प्रतिष्ठित व्यक्तिका विषयमा वा तिनका विचार सार्वजनिक गर्न भने उपयुक्त नै मानिन्छ । विशवमा विशिष्ट राजनीतिज्ञहरूका विचार पत्रकारहरूले नै अन्तर्वार्ता लिएर लेखका रूपमा बाहिर ल्याउने गरेको पनि देखिन्छ तर कलात्मक साहित्य क्षेत्रमा यो निकै पेचपर्दो विषय हो । अलेखकहरूले कलमको बलभन्दा आर्थिक बलमा कृतिहरू सार्वजनिक गरी साहित्य जस्तो बौद्धिक एवम् पवित्र सिर्जन सामर्थ्यमाथि ध्वज्जी उडाइरहेका छन् । यसबाट बच्न अनिवार्य रूपमा कृतिमा सम्पादकको नाम उल्लेख गर्न आवश्यक छ ।
-सम्पादक