नेपाली भाषा–साहित्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन हुन थालेको २००४ सालदेखि हो । त्यसपछि अनेक संस्थाले अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गरेका छन् । त्यस्ता नेपाली भाषा–साहित्यसम्बन्धी हुने अन्तर्राष्ट्रिय सम्मेलनमध्ये एन.आर.एन.ए. भाषा–भाषा–साहित्य उपसमितिले अमेरिकाको बोस्टनमा आयोजना गरेको अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन (२०१९ सेप्टेम्बर १–३ तारिक) उल्लेख्य देखियो । हालै यस सम्मेलन आयोजक समितिले सुरेन उप्रेतीको प्रधान सम्पादकत्वमा सार्वजनिक गरेको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन स्मारिका २०१९ ले यस कार्यक्रमका अभिलेखहरूलाई प्रकाशन गरेको छ । एन.आर.एन.ए भाषा–साहित्य उपसमिति संयोजक एवम् सम्मेलनका संयोजक गोविन्द गौतमको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनका निर्णय र कार्यक्रमहरूले नेपाली भाषाको चिन्तन र चासो आप्रवासी नेपाली समाजमा के कस्तो रहेछ भन्ने बुझ्न सकिन्छ । यस कार्यक्रमका कार्यपत्र र निर्णयहरू राज्यस्तरबाट गर्नुपर्ने निर्णय जस्ता देखिन्छन् । काम, माम र शिक्षाको खोजीमा विदेसिएका नेपालीको यो भाषा–साहित्य र मातृभूमि प्रेम अभिनन्दनयोग्य छ ।
नेपाली भाषा–साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन बोस्टन सहरमा गर्नुको आफ्नै महत्त्व थियो । त्यहाँकाका नेपालीद्वारा खरिद गरिएको भवन ‘नेपाली भवन पशुपतिनाथ बौद्ध फाउन्डेसन’को प्रेक्षालयमा पहिलो पटक नेपालीहरूको भव्य कार्यक्रमको आयोजना गरिएको थियो । त्यो भवन एउटा गिर्जाघर खरिद गरेर दशकौँको प्रयत्नबाट नेपालीहरूले आफ्नो बनाएका थिए । उक्त भवन ५९४ वासिङटन ईस्ट्रिट ब्रेनट्रीमा रहेको छ । अरूका भवनमा भाडा तिरेर कार्यक्रम गर्नुपर्ने बाध्यतालाई यस भवनको खरिदपछि त्यहाँ बस्ने नेपाली जातिलाई मुक्त गरिदिएको छ । उक्त सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठान र एन.आर.एन.एद्वारा प्रकाशित प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, शशी लुमुम्बू, गोविन्दप्रसाद गौतम, लेखनाथ काफ्ले र सुरेन उप्रेतीद्वारा सम्पादित १३ देशका ५५ जना प्रतिनिधि कथाकारहरूको कथा ग्रन्थ अन्तर्देशीय नेपाली कथाहरू, महेश पौडेलद्वारा सम्पादित अमेरिकामा बसेर कथा लेखिरहेका २१ जना कथाकारका कथाको अङ्ग्रेजी अनुवाद कृति डिस्टेन्ट सनरेज, र रमेश पोडेलद्वारा आयोजित २४६ जना महिला मुक्तककारका ४–४ वटा मुक्तक रहेको कृति नेपाली मुक्तकमा नारी हस्ताक्षर लोकार्पण गरिएका छन् । ती कृतिले विविध पक्षलाई समेटेको पक्षबारे नेपाली बौद्धिक जगत् जानकार बनिसकेको छ । सोही सम्मेलनमा विदेशमा रहेका नेपाली साहित्यकार र साहित्यानुरागीहरूलाई अध्ययन प्रकाशन पहुँच होस् भन्ने उद्देश्यले साहित्यसागर वेवसाइटको पनि सार्वजनिक गरियो । अहिले त्यही वेवसाइट साहित्यसागरम्.डटकमका रूपमा नियमित रूपमा प्रकाशनमा आइराखेको छ । यस साइटले स्वदेश विदेशका स्रष्टा, द्रष्टा र पाठकलाई सजिलै एकै सूत्रमा जोडिरहेको छ ।
उक्त सम्मेलनमा प्रस्तुत कार्यपत्रले नेपाली साहित्यको विश्वव्यापीकरणका बहुमुखी पक्षलाई समेटेको छ । सम्मेलनमा डा. लेखनाथ काफ्ले, प्रकाश पौडेल ‘माइला’, सावित्रा लुइटेल घिमिरे, सुनिता कन्दङ्वा र मोहनराज खनालको ‘एसियाका छ देशमा नेपाली साहित्यको विस्तार’ शीर्षकको कार्यपत्र प्रस्तुत भएको छ । यस कार्यपत्रले ताइवान, इजरायल, जापान, म्यानमार, हङकङ, कोरिया आदि देशको भषा साहित्यको अवस्थाको परिचय समेटेको छ । अमित चाम्लिङको ‘मध्यपूर्वमा नेपाली भाषा–साहित्यको अवस्था’ कार्यपत्रले कुवेत, इराक, साउदी, दुबई, कतार, जोर्डन, ओमान, यमन, लेबनान, बजराइन, इजिप्ट आदि मुलुकमा नेपाली भाषा साहित्यको अवस्था उजागर गरेको छ । गणेश घिमिरेको ‘अस्ट्रेलियामा नेपाली भाषा–साहित्य’, हिक्मत थापाको ‘अफ्रिकामा नेपाली साहित्य’, कृष्णप्रकाश श्रेष्ठ र गोविन्दप्रसाद गौतमको ‘रुसमा नेपाली वाङ्ममयको विकासमा गैरआवासीय नेपालीहरूको देन’, डा. गोविन्दसिंह रावतको ‘उत्तर–अमेरिकाको नेपाली साहित्यको ऐतिहासिक टिपोट’ जस्ता कार्यपत्रले शीर्षकले समेटेका मुलुकका साथै नेपाली साहित्यको विश्वव्यापीकरणका विविध पक्ष उजागर गरेका छन् । सम्मेलनमा प्रस्तुत गोविन्द गिरी प्रेरणाको ‘नेपाली भाषा–साहित्यको विश्वयात्रा’ शीर्षकको अवधारणाले पनि विविध पक्षलाई समेट्न सकेको छ । यस सम्मेलनको अभिलेखका रूपमा प्रकाशित मुखपत्रका प्रमुख अतिथिका साथै अतिथिहरू प्रा.डा. हेमनाथ पौडेल, रमेश पौडेल एवम् आयोजकहरू महेश्वर पन्त र ईश्वरी भट्टका संस्मरणहरूले विविध पक्ष समेटेका छन् । त्यहाँ वाचित दीपा राई पुन, गोविन्द गिरी प्रेरणा, गोबर्द्धन पूजा, कृष्ण कुसुम, सुरेन उप्रेती, सर्वज्ञ वाग्ले, ईश्वरी भट्ट, तारा उप्रेती, हरि अधिकारी, गीता खत्री, हरिप्रसाद काफ्ले शैव, गोविन्दसिंह रावत, मणि नेपाली पनेरू, सूर्य भट्टराई, लालगोपाल सुवेदी, नवीन उप्रेती, महेश्वर पन्त, हिक्मत थापा, गोविन्द गौतम, अनु शाह, ममता कर्माचार्य आदिका रचनाको आफ्नै महत्त्व लिएका छन् । यी रचनाको मात्र सांस्कृतिक अध्ययन गर्न सके नेपाली भाषा साहित्यको महत्त्व र यसप्रति आप्रवासी नेपालीहरूको समर्पण भाव बुझ्न सकिन्छ । यस अभिलेखका सम्पादकीय र प्रकाशकीयका आवाजहरू प्नि नेपाली भाषा साहित्य र संस्कृतिका पक्षमा देखिन्छन् ।
सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने, प्रत्येक दुई वर्षमा नेपाली भाषा–साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा–साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा–साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने आदि घोषणा गरेको छ । कार्यक्रममा घोषणाको अन्तिम बुँदालाई निरन्तरता दिने उद्देश्यले विदेशमा रहेर भाषा-साहित्यको सेवामा समर्पित साहित्यकारद्वय कृष्णप्रकाश श्रेष्ठ- रसा र होमनाथ सुवेदी- अमेरिकालाई ताम्रपत्रसहित सम्मान गरिसकेको छ । यी सबै पक्षहरू विदेशमा बस्ने नेपालीले भन्दा नेपालकै सरकार र यस मातहतका निकायले गर्नुपर्ने खालका छन् । यो चेतना विदेशमा बस्ने नेपालीहरूले त्यहाँका भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित गतिविधि र अन्तरमनको आप्रवासी अनुभूति एवम् हुटहुटीले सम्भव भएको हो ।
त्यस कार्यक्रममा नेपालबाट उपस्थित प्रमुख अतिथि र अतिथिबाहेक सबै सहभागी आफ्नै खर्चमा उपस्थित भएर र आफ्नै खर्चमा बसेर कार्यक्रम सफल बनाएको थाहा पाउँदा झन् श्रद्धा लाग्दछ । नेपालका शासकहरूले आफ्नो विदेश भ्रमणमा साहित्यकारहरूलाई भ्रमण टोलीको सूचीमा राख्न बिर्सन्छन् । भी. एस. नेपाल जस्ता नेपाली मूलका नागरिकले नोवेल पुरस्कार पाउँदा तिनलाई नेपालमा स्वागत गर्न बिर्सन्छन् तर विदेशमा रहेर दुःख गरिरहेका नेपालीहरू नेपालको सगरमाथा आधारशिविरमा नोवेल पुरस्कारप्राप्त साहित्यकारहरूको उपस्थितिमा सम्मेलन गर्ने योजना बनाउँछन् । भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा सम्झन्छन् । महादेश र देशहरूमा नेपाली भाषालाई अनुवादका माध्यमबाट पुर्याउने योजना बनाउँछन् । दुई-दुई वर्षमा नेपाली भाषा–साहित्य सम्मेलन गर्ने योजना बनाउँछन् । साहित्यमा समर्पित श्रष्टाको खोजी र पहिचान गरी सम्मानित एवम् पुरस्कृत गर्ने योजना बनाउँछन् । निशुल्क कार्यपत्रहरू तयार पार्छन् । पुस्तक छापेर नेपाली पाठकलाई निशुल्क दिन्छन् । यी कार्यहरूबाट नेपाली समाजले सिक्नुपर्ने कुराहरू धेरै छन् ।
होला, यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सम्मेलन कसरी भनियो भन्ने पनि होलान् । यसमा विश्वका सबै मुलुकमा छरिएका नेपालीको प्रतिनिधित्त्व नभएको होला तर यसलाई चौध अठार घण्टे श्रमशील जीवनको साहित्यप्रतिको समर्पणका रूपमा बुझ्नुपर्छ । यस कार्यक्रममा नेपाली जाति जाति ससाना उपजाति र झुन्टमा नदेखिई महाजातिका रूपमा देखिन्छ । यहाँ सहभागी नेपालीका थरले मात्र पनि यस पक्षलाई देखाउँछन् । हामीले विश्वलाई देखाउन सक्ने भनेको हाम्रो प्रकृति र सांस्कृतिक सम्पदा हो । यस देशलाई विश्वमा चिनाउनु छ भने विश्वप्रसिद्ध लेखकहरूलाई भ्रमण गराएर उनीहरूका कलमबाट यस देशका विषयमा लेख्ने अवसर दिने हो भने यसलाई विश्वसामु चिनाउन सक्छन् । यो चेतना आजसम्म राज्य र नेपालका सरोकारवाला निकायहरूले थाहा पाएनन् । अर्को पक्ष नेपाली कृतिहरूको सिर्जनात्मक अनुवाद सामर्थ्य भएका अनुवादकबाट अनुवाद गराई विश्वमा पुर्याउनु हो । हामीमा यो चिन्तनको अभाव छ । यस्तो अभावको कारक पक्ष नेपाली सरकारी निकाय र संस्थानहरूमा थिङट्याङकहरूको उपयोगको अभाव देखिन्छ । प्राज्ञिक, साहित्यिक, सांस्कृतिक, राजनीतिक, कुटनीतिक मूल्य बुझ्ने र ती क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरूलाई राज्यको नीतिनिर्माणमा सहभागी गराउन नसक्नु हो । यस विषयलाई सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक लिन सकून् । विदेशमा रहेर दैनिकीका सङ्घर्षसँगै भाषा–साहित्य र संस्कृतिको सेवामा समर्पित नेपाली मनहरूलाई अनेक अभिनन्दन ।
–सम्पादक