मानव जातिले अक्षर चिनेदेखि नै चिठीपत्र आदान प्रदान गर्न थाल्यो । पत्र एउटा व्यक्तिको सन्देश अर्को व्यक्तिसम्म पुर्याउने सन्देशबाहक पहिलो सिर्जना होे । पत्र रचना नेपाली समाजमा मात्र होइन विश्वको मानव समाजका विकास क्रमका एउटा खास चरणसम्म त्यत्तिकै प्रचलित पाइन्छ । विश्व सन्दर्भमा विचार विनिमय र सञ्चार विनिमयका लागि पत्ररचनाको गुरुतर परम्परा छ ।
आफन्त, साथीभाइलाई अनौपचारिक ढङ्गले दुखसुख हालखबर आदि सोधखोज गरेर लेखिने चिठी पत्रहरू निकै मार्मिक हुन्थे । तिनमा जानी नजानी साहित्यिक गुण पनि निकै सशक्त हुन्थ्यो । यसमा तपाईँ वा तिमीलाई गरिने सम्बोधनमा निबन्धात्मक गुण प्रयाप्त रहन्थ्यो । कामका सिलसिलामा लाहुरे वनेर वा रोजगारिका सिलसिलामा पहिला पहिला भारत, भोट र पछि विश्वका विभिन्न मुलुकका कुना कुनामा पुगेका नेपालीले परिवार जनलाई र आफ्ना प्रिय पात्रलाई सम्बोधन गरेर पठाएका पत्रको मर्म नेपाली समाजलाई राम्रोसँग थाहा छ । गाउँघरमा पत्र मौखिक रूपमा भनेर अरूलाई नै लेखाएर पठाउने चलन पनि त्यति पुरानो होइन । आज नेपालमा विदेश पसेका छोराछोरीले पठाएका पत्रको खोजी र सङ्कलन गर्ने हो भने आजका पाठकलाई रमाइलो साहित्य बन्न सक्छ ।
विदेशबाट स्वदेशमा प्रेषण गरिएका त्यस्ता पत्रले खामसँगै एक अर्को मुलुकका ठेगाना र टिकटबाट ऐतिहासिक एवम् सांस्कृतिक आदानप्रदान पनि गरेका छन् । ती पत्रभित्र विदेशका दुःखसुख र समस्याहरू निचोरिएर पोखिएका छन् । त्यस्तै लाहुरे छोरालाई बाबुआमा र परिवारका सदस्यले पठाएका पत्रमा पारिवारमा कुनै सदस्यको महत्त्व र नेपालका आर्थिक, सामाजिक र पारिवारिक अवस्था चित्रित छन् । यसको संवेदना आजका टेलिफोन, इन्टरनेटका कुराकानी र च्याटले बोक्न सक्तैनन् ।
सम्भवतः पत्रको उक्त विशिष्ट प्रभावमा साहित्यका विभिन्न विधाका सिर्जनात्मक पत्र रचना भएको पाइन्छ । प्रायः आख्यान र निबन्धभित्र पत्रको प्रयोग गरिएको देखिन्छ । नाट्य रचनाभित्र पनि पत्रात्मक शैली गर्भित गरिएको देखिन्छ । चलचित्रले पनि पत्ररचनालाई निकै महत्त्वसाथ प्रयोग गरेको छ । यस्ता पत्रात्मक शिल्पमा लेखिएका रचनाको पाठकलाई तान्ने चुम्बकीय सामर्थ्य कतिसम्म हुन्छ भन्ने कुरा दुई दशकअघितिर पत्र रचनाबाटै पत्रमित्रता गर्दै प्रेम र विवाह पनि गर्ने पुस्तालाई राम्ररी थाहा छ ।
विदेशबाट स्वदेशमा प्रेषण गरिएका त्यस्ता पत्रले खामसँगै एक अर्को मुलुकका ठेगाना र टिकटबाट ऐतिहासिक एवम् सांस्कृतिक आदानप्रदान पनि गरेका छन् । ती पत्रभित्र विदेशका दुःखसुख र समस्याहरू निचोरिएर पोखिएका छन् ।
हाम्रो छिमेकी मुलुक भारतका प्रसिद्ध लेखक तथा राजनेता जवाहरलाल नेहरूले छोरी इन्दिरा गान्धीलाई सम्धोधन गरेर लेखेको नेहरूज लेटर गद्यात्मक पत्र रचना विश्वमै चर्चित मान्छि । अमेरिकी राष्ट्रपति अब्राहाम लिङ्कनले आफ्नो छोराको स्कुलका प्रधानाध्यापकलाई लेखेको चिठी विश्वप्रसिद्ध छ । नेपाली साहित्यमा भानुभक्त आचार्यले लेखेको ‘रोज् रोज् दर्शन पाउँछु चरणको ताप्छैन मन्मा कछू’ पद्यात्मक विन्तीपत्र, मोतीराम भट्टको पीकदूत लघुकाव्य बदरीनाथ भट्टराईले लेखको ‘चिठी’ शीर्षकको कविता, भानुभक्त पोखरेलको ‘दुलाहीलाई चिठी’, रमेश शुभेच्छुको ‘अभिभावकको चिठी’ आदि पत्रात्मक काव्यरचना हुन् । श्यामप्रसाद शर्माको बहिनीलाई चिठी (२००८) पत्रात्मक निबन्ध कृति हो । गङ्गालालले आफ्ना पितालाई लेखेको पत्र, हृदयचन्द्रसिंह प्रधानको भू–स्वर्ग, लैनसिंह बाङ्देलको युरोपको चिट्ठीलगायत चिट्ठी चपेटा यस क्षेत्रमा देखापरेका अग्रजका सिर्जनाहरू हुन् । इन्दिरा प्रसाईँ र कपिल अज्ञातका पत्रसमीक्षाका कृतिहरू प्रकाशित छन् । गोविन्दराज भट्टराईको मणिपुरको चिठी, रामकृष्ण वान्तवाको आमालाई चिठी, हरिबहादुर (नारायणबहादुर विजुक्छे रोहित) का जेलका चिठ्ठी, हजुरबाका चिठी आदि पनि यस क्षेत्रका अन्य उल्लेख्य कृति हुन् । यस्तो प्रयोग नेपाली साहित्यमा प्रशस्त भएको देखिन्छ । धेरै लेखकले आफ्ना साहित्यिक चिठीहरू सार्वजनिक गरेका छन् ।
पत्र रचनाकै प्रभावमा पत्रसाहित्यको विकास हुन सक्छ । पत्ररचना विधानमा सिर्जना गरिएका साहित्य रचनाहरू पत्रात्मक शिल्प विधानमा सृजना भएका साहित्यिक रचना हुन् । साहित्यका कविता, आख्यान, नाटक र निबन्धका आयाममा पत्र रचना हुन सक्ने अनेक सम्भावना छ । एक लेखकले अर्को लेखकका कृति पढेर पत्रात्मक समीक्षा गर्ने परम्परा पनि निकै पुरानो हो । पत्रात्मक कथा, पत्रात्मक उपन्यास र निबन्धहरूको अनेक अभ्यास भएको छ । यस्तो रचनामा सम्बोधक र सम्बोधितका बिचमा भएका संलापीय सिर्जना संयोजित हुने भएकाले पाठकलाई आकर्षित गर्न सक्ने सामर्थ्य रहन्छ ।
पत्रात्मक शैलीको साहित्य रचना संस्कृत साहित्यको परम्परामा पनि थियो । महाकवि कालिदासको मेघदूत काव्यलाई पत्रकाव्य मान्न सकिन्छ । संस्कृत कविहरूले तत्कालीन राजाहरूलाई पत्र लेखेर सन्देश दिने गरेका अनेक उदाहरण पाइन्छ। नेपाली साहित्यमा मोतीराम भट्टले लेखेको पीकदूतजस्ता काव्यकृतिहरूलाई पत्रसाहित्यका काव्यात्मक रचना मानेर यिनको पत्रात्मक सामर्थ्य अन्वेषण गर्न सकिन्छ । वासुदेव शर्मा लुइटेल, श्यामप्रसाद शर्मा, कृष्णप्रसाद पराजुली, हरिहर खनाल, पुष्पलता आचार्य आदि स्रष्टाहरूले आफूलाई प्राप्त पत्रहरू सङ्कलन गरेर प्रकाशनमा ल्याएका छन् । पत्रपत्रिकाका पाठक स्तम्भमा पत्रात्मक सिर्जना र समीक्षाहरू प्रशस्तै देखिन्छन् । नेपाली साहित्य परम्परामा एक समय सयौँ हवाई पत्रपत्रिकाहरू प्रकाशन भए । ती पत्रपत्रिका स्वयं पत्र थिए । त्यहाँभित्र समेटिएका सिर्जनालाई धेरै पाठकले मन पराएका थिए ।
टेलिफोन र इन्टरनेटको विकासले आज परिवारका सदस्य वा आफन्तबिच पत्राचार गर्ने प्रचलन हराएर गयो । व्यापारिक चिठीहरू पनि लेखिन छाडे । चिठी पत्रहरू कार्यालयीय वा औपचारिक लेखनमा सीमित बन्न थाले । यस्तो बेला फेरि आफन्तलाई पत्राचार गर्ने हिजोको परम्परा दोहोरिन सम्भव छैन तर पत्रसाहित्यका रूपा पत्रात्मक शैली र संवेदनालाई अबलम्बन गरेर साहित्य सिर्जना गर्न सकिन्छ । यस्तो सिर्जनामा विधागत ज्ञान र साहित्यशास्त्रको गहिरो अध्ययनविना पनि मार्मिक अभिव्यक्ति दिन सकिन्छ । आज विदेशमा रहने नेपालीले नेपालका नेता, नेपालका नागरिकलाई सम्बोधन गरेर पत्र रचना गर्ने हो भने निकै जीवन्त रचना गर्न सक्छन् । उनीहरूले आफ्ना आमाबाबु वा प्रेमी प्रेमिका, पतिपत्नी, सन्ततिलगायत आफन्तलाई सम्बोधन गरेर पत्र साहित्य लेख्ने हो भने सफल कविका भन्दा राम्रा अनुभूति जन्मन सक्छन् । अब विदेशमा भएका पत्रपत्रिकाले यस विधालाई पो केन्द्रमा राख्ने प्रयास गर्ने कि ? नेपाली साहित्यिक पत्रपत्रिकाले पनि आफ्नो एउटा अङ्कलाई मात्र भए पनि ऐतिहासिक पत्र र पत्ररचना विशेषाङ्कका रूपमा प्रकाशन गरी यस विधाको उत्थानको प्रयास गर्ने कि ?