मेरो २५ वर्षको कविताको तपस्या थियो, म श्लोकमा कुरा गर्न र दिनभरि श्लोकमा फतफताइरहन सक्छु । तब दश दिनमा एउटा महाकाव्य किन नबनोस् ? अझ होड गरेको थिइनँ, सायद एक दिनभरिमा एउटा काव्य सक्छु कि भन्नेसमेत मलाई आशा छ ।
यो अभिव्यक्ति लक्ष्मीप्रसाद देवकोटाले सुलोचना महाकाव्यका भूमिकामा व्यक्त गरेका थिए । यो अभिव्यक्ति दिइरहँदा उनी ३६ वर्षको युवा उमेरमा थिए । उनले नेपाली साहित्यलाई शाकुन्तल जस्तो आधुनिक महाकाव्य, लक्ष्मी निबन्धसङ्ग्रह जस्तो उच्च वैचारिक एवम् कलात्मक निबन्धसङ्ग्रह र मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी जस्ता कृतिका साथै सयौँ कविता अभ्यास गरिसकेका थिए । प्रसिद्ध प्रबन्धसङ्ग्रहका माध्यमबाट विश्वका सिर्जन सामथ्र्यहरूलाई नेपाली पाठकका लागि सहज बनाइसकेका थिए । यो अभिव्यक्तिकै वरिपरि देवकोटाको सिर्जन सामथ्र्य प्रवाहित भएकाले नेपाली साहित्यले भारतीय विद्यालय, विश्वविद्यालय र नेपाली विश्वविद्यालयमा पठनयोग्य सामथ्र्य प्राप्त ग¥यो । हाम्रो भाषा र चेतनाले शिक्षासँग सहयात्रा गर्न पायो । उनकै प्रयासले विश्वका महान् स्रष्टाहरूका रचना नेपालीले पढ्न पाए भने उनकै समर्पणबाट नेपाली साहित्य विश्वमा देखाउन लायक साहित्य बन्यो । उनी महाकवि मात्र बनेनन्, नेपाली साहित्यलाई नेपाली जातिको पहिचानका रूपमा चिनाउन पनि सफल भए ।
लक्ष्मीप्रसाद देवकोटालाई पढ्न सामान्य क्षमता भएका विद्वान्को एउटा जुनीले भ्याउँदैन । उनले साहित्य मात्र लेखेका छैनन् समाजको अग्रगामी विकासका लागि समाजशास्त्र, नागरिक शास्त्र र राजनीतिशास्त्र पनि लेखेका छन् । उनलाई नेपाली शिक्षा र प्राज्ञिक चेतनाका सगरमाथाका रूपमा पनि बिर्सनुहुँदैन । उनको योजनाले नै हामीले ठाउँ ठाउँमा विद्यालय र विश्वविद्यालयका साथै प्रज्ञा–प्रतिष्ठान पनि पाएका थियौँ । उनले सिर्जनाहरूबाट एकातिर राष्ट्रिय चेतना प्रवाह गरेका छन् भने अर्कातिर राष्ट्र सञ्चालकहरूले जनतामाथि गरेको अन्याय–अत्याचार, शोषण, दमनको विरोध गर्दै क्रान्ति, परिवर्तन र नवनिर्माणको चाहना पनि निरन्तर प्रकट गरिरहेका देखिन्छन् । समाज परिवर्तन, विश्व मानव सभ्यताका बहुमुखी चेतना, देशभक्ति र स्वाभिमानका पक्षधर देवकोटाका रचनामा मूलत: समानता, स्वतन्त्रता एवम् त्याग र बलिदानका मूल्य र आदर्शहरू अभिव्यञ्जित छन् । उनी नेपाली राष्ट्र र जनताका महान् कवि त हुन् नै नेपालका तर्फबाट विश्वलाई चिनाउन मिल्ने विश्वकवि पनि हुन् । उनको उमेर, बहुमुखी जिम्मेवारी र समयमा कृतिहरू प्रकाशन हुन नसक्नु विडम्बना हो ।
परिवर्तित नयाँ व्यवस्थाअनुसार नियुक्त हुने कविहरू दुई दर्जन पुगिसकेका छन् । अमेरिकाकी वर्तमान राजकवि जोय होर्जो हुन् । उनको वार्षिक तलब ३५ हजार डलर रहने कुरा अमेरिकी समाचारले उल्लेख गरेका थिए । नेपालमा माधवप्रसाद घिमिरेलाई त्यस उपाधिको एउटा परम्पराका रूपमा राष्ट्रकवि घोषणा गरियो तर घिमिरेको अवसानपछि त्यही परम्पराका बारेमा पनि नेपाली बौद्धिक एवम् राजनीतिक चेतनाले केही सोच्न सकिरहेको छैन । यो अवस्था भनेको देशमा बौद्धिक विमर्श र प्रवद्र्धनको अभाव छ भन्ने देखिनु हो ।
देवकोटाले कविता विधामा मात्र होइन आख्यान विधामा पनि केही नयाँ दिन सक्थे । उनीसँग समाजको यथार्थबोध विश्व साहित्य र विश्व मानव विकासको सूचकाङ्कको राम्रै ज्ञान थियो । देवकोटाका उपलब्ध कथा र उपन्यासका आधारमा उनी सामाजिक आख्यानकार हुन् । कवितामा उनी कल्पनामा उडे भने पनि उनले जति नेपाली समाजका बहुजातीय पक्षहरू र जनजीविकाका सवालहरू तत्कालीन अन्य कविले उठाउन सकेका छैनन् । उनका कवितामा मूल स्वरका रूपमा स्वच्छन्दतावादी स्वर रहे पनि उनी समाजबोधभन्दा बाहिर छैनन् । आख्यानमा उनी अझ मसिनो गरी धर्तीमा लडिबुडी गरेका छन् । समकालीन यथार्थवादी आख्यानकार निकट देखिएका छन् । उनले आफ्ना आख्यान रचनामा सामाजिक विकृति, गरिबी, बालमनोविज्ञान, मानवीय चरित्र, नारी अस्मिता आदिलाई विषय र मूल मुद्दा बनाएको देखिन्छ । उनका नाटकले पनि समयसापेक्ष चेतनालाई उजागर गरेका छन् ।
देवकोटाको मूल प्रतिभा कवि प्रतिभा नै हो । झन्डै सात सय (६५० भन्दा बढी) फुटकर कविता, तीन दर्जनअधिक (३७ वटा) खण्डकाव्य, आधा दर्जन महाकाव्यसहितको उनको विपुल रचना परिमाणले उनलाई महाकवित्व प्रदान गर्नका साथै नेपाली साहित्य परम्पराले एकैपटक झन्डै समग्र इतिहासको तराजु हलौँ पार्ने गरी सङ्ख्यात्मक र गुणात्मक परिणाम प्राप्त ग¥यो । उनको यस्तो विराट उच्च कवित्व प्राप्ति र योगदानका हिसाबले उनी न भूतो न भविष्यति बनेर अहिलेसम्म रहिरहेका छन् । यस किसिमको उत्कृष्ट रचना परिमाण, तिनको युगचेतना र गुणस्तरले पनि देवकोटालाई अद्वितीय नेपाली कविका रूपमा स्थापित गरेको छ ।
देवकोटाले नेपाली लोकलयलाई टिपेर गीतिरचना, खण्डकाव्य र महाकाव्यसम्म पु¥्याए । उनका गीतिरचनामा छिपेको जादु अझै सङ्गीत मिसिएर र स्वराङ्कन भएर बाहिर आइसकेको छैन । बङ्गाली सङ्गीत परम्परामा विकसित रवीन्द्रसङ्गीत जस्तै देवकोटा सङ्गीतको विकास गर्न सकिने सम्भावना पनि त्यत्तिकै देखिन्छ । यी पाटाहरू अझै ओझेलमा छन् । उनका प्रकाशनमा आइसकेका एक एक कविता, काव्य र महाकाव्यले पूर्वीय र पाश्चात्य चिन्तनअनुरूपका विश्लेषण र देवकोटाको प्रतिभाको मूल्याङ्कन पर्खिइरहेका छन् । धेरै कृतिहरू अझै प्रकाशनको पर्खाइमा छन् ।
नेपाली समाजमा देवकोटाको निधन एउटा विश्व चियाउने धरहरा भत्किए जस्तै बनेर रह्यो । तत्कालीन प्रधानमन्त्री वी.पीको अभिव्यक्तिले त्यस पक्षलाई सङ्केत गरेको छ । देवकोटाको निधनलाई तत्कालीन सरकारले ठुलो क्षतिका रूपमा लिएको थियो । उनको पहिचान त्यसपछि निरन्तर नयाँ नयाँ कृतिबाट थपिँदो छ तर हामीले उनको सही मूल्याङ्कन गर्न सकिरहेका छैनौँ कि भन्ने चिन्ता बढिरहेको छ ।
होला, ठुलो परिणामा र सीमित समय सीमामा रचिएका हुँदा देवकोटाका सबै रचनाहरू गुणस्तरीय र त्रुटिरहित नहोलान् यद्यपि उनका उत्कृष्ट ठहरिएका रचनाहरू मात्र एउटा पल्लामा राखेर तुलना गर्ने हो भने देवकोटा बराबरको अर्को कवि नेपाली कविताका क्षेत्रमा उभ्याउन त्यति सजिलो छैन । देवकोटाको सिर्जन सामथ्र्यबाट स्वच्छन्दतावादी धारामा मात्र होइन, समग्र नेपाली कविता परम्परामै सर्वाधिक प्रतिभाशाली उचाइ प्राप्त गरेको छ । देवकोटालाई विविध कित्तामा राखेर व्याख्या विश्लेषण गरिए पनि उनका समग्र रचनाको केन्द्र मानवीय मूल्यको खोजी देखिन्छ ।
ड्ड भारतले आफ्नो विराट् प्रतिभा रवीन्द्रको राष्ट्रियगान बजाएर राष्ट्रिय सम्मान दियो । प्राय: विश्वका मुलुकहरूले पोएट लरेटका रूपमा विशिष्ट प्रतिभालाई राष्ट्रिय सम्मान दिइरहेका हुन्छन् । विश्वको शक्ति राष्ट्र मानिने अमेरिकामा जोसेफ आउस्लेन्डर (Joseph Auslander , 1937–1941) देखि रबर्ट पिन वारेन Robert Penn Warren, 1986–1987) हुँदै जोय हार्जो (present: Joy Harjo, 2019) सम्मका प्रतिभालाई पोयट लरेटको उपाधि दिएको इतिहास छ । देशको विशिष्ट कवि प्रतिभा त्यस युगको मूल प्रतिभा हो भनेर विश्वका धेरै मुलुकले स्वीकार गरेका छन् । इतिहास पल्टाउँदा यो परम्परा संसारमै सबभन्दा पहिले सन् १३१५ मा हालको इटालीको भूगोलमा पर्ने पाडुवाका अल्वर्टिनो मुस्साटो र अरेज्जोका फ्रान्सेस्को पेट्रार्कदेखि यस्तो विराट कवि प्रतिभालाई राज्यले सम्मान गर्ने परम्परा देखिन्छ । बेलायतमा सन् १६६८ मा जोन ड्राइडेनलाई राजकविमा नियुक्त गरेपछि यो परम्पराको थालनी भएको पाइन्छ । यो हेनरी पाँचौंको शासनकालको कुरा हो । सन् १९३७ मा बेलायतका राजकवि छनोटको मोडेलअनुसार अमेरिकामा पनि यो परम्पराको थालनी भयो । सुरु सुरुमा यस पदवी पाउने कविलाई ‘कन्सल्ट्यान्ट इन पोयट्री टु द लाइब्रेरी अफ कङ्ग्रेस’का रूपमा लिइन्थ्योे । यसको चयन संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसको पुस्तकालयाध्क्ष्यले गर्ने बौद्धिक परम्परालाई उनीहरूले लामो समयसम्म बचाएर राखे । सन् १९८५ मा पारित नयाँ कानुनअनुसार ‘पोयट लरेट कन्सल्ट्यान्ट इन पोयट्री’को रूपमा राजकविको पदको नाम परिवर्तन भयो । परिवर्तित नयाँ व्यवस्थाअनुसार नियुक्त हुने कविहरू दुई दर्जन पुगिसकेका छन् । अमेरिकाकी वर्तमान राजकवि जोय होर्जो हुन् । उनको वार्षिक तलब ३५ हजार डलर रहने कुरा अमेरिकी समाचारले उल्लेख गरेका थिए । नेपालमा माधवप्रसाद घिमिरेलाई त्यस उपाधिको एउटा परम्पराका रूपमा राष्ट्रकवि घोषणा गरियो तर घिमिरेको अवसानपछि त्यही परम्पराका बारेमा पनि नेपाली बौद्धिक एवम् राजनीतिक चेतनाले केही सोच्न सकिरहेको छैन । यो अवस्था भनेको देशमा बौद्धिक विमर्श र प्रवद्र्धनको अभाव छ भन्ने देखिनु हो ।
देवकोटालाई विश्वका उन्नत मुलुकका पोयट लरेटका रूपमा सम्मान गर्न अब देवकोटा छैनन् । उनलाई राज्यले राष्ट्रिय भिभूतिका रूपमा सम्मान गर्न सक्छ । उनको कुनै गीतिरचनालाई राष्ट्रियगीतका रूपमा आदर गर्न सक्छ । हाम्रा राष्ट्रिय विभूतिहरू चयनको इतिहास हेर्दा शासन सत्ता वरिपरि देखिन्छ । अंशुवर्मा, अमरसिंह थापा, अरनिको, गौतम बुद्ध, जनक, पासाङ ह्लामु शेर्पा, पृथ्वीनारायण शाह, बलभद्र कुँवर, भानुभक्त आचार्य, भीमसेन थापा, फाल्गुनन्द, मोतीराम भट्ट, राम शाह, शङ्खधर शाख्वा, श्री ५ त्रिभुवन आदिलाई हेर्दा देवकोटा जस्ता प्रतिभा छुट्नु हुँदैन भन्ने लाग्छ । राष्ट्रियताका मुद्धामा जग हसाउने गरी हामीले हिजोको विभूति चयनमा के भयो भनेर विवाद गरिरहन आवश्यक छैन तर मिथकीय र शासकीय पात्रका तुलनामा देवकोटा जस्ता राष्ट्रिय चेतनालाई जुरुक्क बोक्न सक्ने व्यक्तिहरू छनोटमा पर्न सकेनन् कि भन्ने पक्ष खड्किरहन्छ । होला, हिजो दरबारको प्रभावले राजाहरू बढी भए होलान्, राज्यका वरिपरिका मानिस नै चुनिए होलान्, प्रजातन्त्र र गणतन्त्र प्राप्तिपछि समावेशी चरित्र चाहिएला तर देवकोटा जस्ता प्रतिभा छुट्नु मुलुकको र समग्र नेपाली बौद्धिक जगत्को दुर्भाग्य हो । देवकोटालाई दिइएको महाकवि उपाधि पनि राज्यका तर्फबाट दिएको उपाधि नहुनु र अन्य कुनै उपाधिबाट देवकोटालाई सम्मान नगरिनु नेपाली चेतनाको रुग्ण अवस्थाबाहेक अरू केही होइन ।
विशिष्ट प्रतिभालाई विभूति वा विशेष पदवीबाट सम्मान गर्नुको अर्थ विदेशी अध्येतालाई आफ्ना प्रतिभा र चेतनातिर आकर्षित गर्नु हो । हामी विश्वका अन्य मुलुकका व्यक्तित्त्वहरूको चासो तब मात्र गर्छौ जब त्यस मुलुकले उसलाई चिनाउने प्रयत्न गरेको छ । देवकोटाले नेपाली समाजबाट केही लिएर गएका छैनन् । उनले निरन्तर दिने दिने र दिने मात्र काम गरेका छन् । यस्ता विशिष्ट प्रतिभालाई राष्ट्रिय विभूतिका रूपमा आदर गर्नु नेपाली चेतनालाई विश्वमा चिनाउनु र मिथकीय र शासकीय पात्रको विभूतिकरणको क्षतिपूर्ति पनि हुन सक्छ । देवकोटा नेपाली साहित्य मात्र होइन बिसौँ शताब्दीसम्मको नेपाली चेतनाका नौनी प्रतिभा हुन् । उनलाई चिनेर राष्ट्रलाई र विश्व समुदायलाई चिनाउन नसक्नु हाम्रो मुलुकको कमजोरी हो । यस कमजोरीलाई सच्याउन केही ढिला भए पनि अझै सच्याउनै नसकिने गरी म्याद गुज्रिइहालेको छैन ।
महान् प्रतिभा लक्ष्मीप्रसाद देवकोटाप्रति साहित्यसागरका तर्फबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्कको प्रकाशनसहित हार्दिक श्रद्धाञ्जली ।
-सम्पादक