कुञ्जल शुभेच्छु लुइटेल नवप्रतिभा हुन् । उनी अहिले काठमाडौँको अक्षरा स्कुलको कक्षा ५ मा पढ्दैछन् । उनले कविता, कथा र बाल पुस्तकहरूको समीक्षा लेखेर कपन वानेश्वर पत्रिकाका तर्फबाट उत्कृष्ट बाल रचना पुरस्कार पनि पाएका छन् । उनको जन्म २०६७ साल चैत्र २६ गते भएको हो । उनी खेल्न, लेख्न, पढ्न, गाउन र चित्र बनाउन मन पराउँछन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा उनको माधव घिमिरेको कविता सङ्ग्रह बालालहरी शीर्षकको समीक्षा प्रकाशित छ । यस समीक्षामा उनले घिमिरेको किताबको पाठकीय प्रतिक्रिया दिएका छन् ।
-सम्पा. |
बालालहरी बालकविताको किताबहो । यसका लेखक माधवप्रसाद घिमिरे हुन् । उनको २०२ औँ जन्मजयन्ती यही भाद्र ७ गते पर्छ । उनी १०१ वर्षसम्म बाँच्ने कवि हुन् । उनका किताबमध्ये बाललहरी हामीलाई मनपर्ने किताब हो, यसमा २४ ओटा कविताहरू रहेका छन् । यस किताबका चित्र कलाकार टेकवीर मुखियाले बनाएका हुन् । यस कविताको किताबलाई साझा प्रकाशनले २०५२ सालमा छापेको हो । यसको संस्करण तेस्रो हो । यसमा ३९ पेज छन् । यस किताबको मूल्य रु २५ हो । यस किताबको सबैभन्दा राम्रो चित्र बाहिरी आवरणको चित्र नै हो ।
बाला–लहरी किताबमा बालालहरी, पुङभाङ, थैया थैया, चिर्विर च्याण्टे, कालीकुती ब्याइछ, पुतली खेल, सियो खोइ सियो, गाउँखाने गीत, बिजुली, सयपत्री, रडी, हा –इ हाइ !, छेपारोको आहान, चकचके, रिस, नानी, जूनकीरी, आमा, यति सानो नानी– बोले कस्तो हुन्थ्यो !, दगुर् दगुर् कुहिरा !, कुती कुइँया कुइँया, हुइँया हुइँया हुइँया, बाघको भाञ्जो बिरालो र खितखित् खित्का कविताहरू रहेका छन् ।
यस किताबमा रहेका कविताहरूमध्ये मलाई सियो खोइ सियो, आमा, रिस, रडी, पुतली खेल, हा–इ हाइ !, कुतीकुइँयाकुइँया, बाघको भाञ्जो बिरालो चाहिँ निक्कै मन पर्यो ।
सबै भन्दा बढी मलाई मन परेको कवितामध्ये टालाटुली बटुली हो । यो कविता पुतली खेलसँग सम्बन्धित कविता हो । यो कविताहामीलाई युकेजीमा पढ्दा पनि गुरुआमाले सिकाउनु भएको थियो । यसको शीर्षक पुतलीखेल ६ भनेर राखिएको छ । यसको अंश यस्तो छ :
टालाटुली बटुली
कत्ति राम्री पुतली
सानी पनि छैन रे
ठुली पनि हैन रे ।
जिउ सुत्त परेकी
पहँली र पातली
कति राम्रीपुतली
लाइदिउँकिबुलाकी । पृ. १३
यस कविताले पुतली कति राम्रो हुन्छ भन्दै सानी नानी वा फूलबारीको पुलतीको बारे बताएको छ । त्यस्तै अर्को कविता यस्तो छ :
सियो खोइ सियो
अहिले यहीँ थियो
ऐले पर्यो काँकाँ
खोज तिखा आँखा
सानु सानु सियो
काम ठूलो थियो
कता परिदियो
सियो खोइ सियो । पृ. १५
यस कवितामा सानो सियो हराएर खोजेको कुरालाई कविता बनाएको छ । यस कविताले हामीलाई साना साना कुरा जतन गरेर राख्नुपर्छ भन्ने सिकाएको छ ।
मलाई अर्को राम्रो लागेको कविता हो : रडी ।
यसमा सानो बालक हिँड्न नसकेर घिस्रिदै घिस्रिदै हिँडेको कुरालाई रडी शब्दले बुझाएको छ । यसको कविताको सानो अंश यस्तो छ :
रडी, रडी रडी
आयो रडी रडी
उठ् पनि हैन रे
बस् पनि हैन रे
उसो भए के त
भैमा लडीबडी
आयो रडी, रडी । पृ. १९
त्यस्तै मलाई मन परेको अर्को कविताहो : रिस । यस कवितामा मान्छेलाई रिस उठ्दा कस्तो बन्छ भन्नेबारेमा लेखेको छ । कविता यस्तो छ :
हेर्दै हाँसो उठ्छ
हाँसू भने कुट्छ ।
रिस उफ्र्यो बुर्लुक्क
आँखा गेडी पिर्लिक्क
बल्ठ्याङ्ग्राको बिर्लिक्क
मुखै काच्च कुच्च
हेर्दै हाँसो उठ्छ । पृ. २३
यो कविता पढ्दा चाहिँ मलाई साह्रै हाँसो उठेको थियो ।
बालालहरी किताबमा यस्ता धेरै कविताहरू छन् ।सबै कविता रमाइला छन् तर शब्दहरू चाहिँ कहीँ कहीँ अफ्ठ्यारा पनि छन् । जस्तै : बुर्लुक्क, पिर्लिक्क, बल्ठ्याङ्ग्रा, बिर्लिक्क, न्यूरो, तुलबुली, च्याण्टे, इन्साफ, सङ्ग्राम, हुइया, फुतुफुती, दुकुली, तित्रो आदि शब्दहरू चाहिँ पढ्न अलिक गाह्रो छ । यी शब्दको अर्थ बुझ्न पनि गाह्रो छ । तर कविता गीत जस्तै भाकाहालेर गाउँन मिल्ने छन् । कविता गाएर पढ्न निकै मज्जा आउँछ । कविताबुझ्न गाह्रो भए चित्र हेरेर पनि बुझ्न सकिन्छ ।
माधव घिमिरेलाई हाम्रा लागि राम्रो किताब लेखिदिएकामा धन्यवाद । अब माधव घिमिरे हाम्रा माझ नरहे पनि उनका कविता कृति सधै रहने छन् । धन्यवाद ।