सुमित्रा बाङ्देल चेली (इलाम, सुपुत्री रामलक्ष्मी राई र रत्नमाया राई) नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । उनले सिर्जना, सञ्चार र सङगठनका माध्यमबाट साहित्य सेवा गरिरहेकी छन् । उनका चेलीभित्रको पहाड (२०५८) खण्डकाव्य, इलामेचेलीका रचनाहरु (संयुक्त कवितासङ्ग्रह, २०५९), गंगाजल (२०६०), नेपाली गजलमा नारीहस्ताक्षर (२०६२, संयुक्त), उही धर्ती उही आकाश (२०७५) जस्ता गजलसङ्ग्रह प्रकाशित छन् । उनको नानीहरुलाई कोसेली (संयुक्त) बाकथासङ्ग्रह पनि प्रकाशित छ । काव्य, जगल र बालसाहित्यका कृतिहरु प्रकाशित चेली राम्रा कविता सिर्जना गर्छिन् । उनको एउटा कवितासङ्ग्रह पनि प्रकाशनको तयारीमा रहेको बुझिएको छ । उनले साङ्गठानिक जिममेवारी र सम्पादन संलग्नताबाट पनि नेपाली साहित्यमा योगदान पुर्याइरहेही छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा समयको गति बोलको गीत रचना समेटिएको छ । यस गीतिरचनाले नेपालको वर्गीय विभेदको पाटोलाई उजागर गरेको छ ।
– सम्पा. |
समयको गति बग्छ अक्षरसँग खेल्दा खेल्दै ।
थोत्रो छाता भयो जीवन घामपानी झेल्दा झेल्दै ।
डाँडा, भिरमा टाक्सिएर, गहिरामा सेपमा परि
गमलामा कुजिँएर निमुखाझैँ कठैबरि !
जिन्दगीलाई पिठो पारी बेलानाले बेल्दा बेल्दै
थोत्रो छाता भयो जीवन घामपानी झेल्दा झेल्दै ।
नम्र भई झक्यो भने निरीह हो ठानिदिन्छ
स्वाभिमान देख्यो भन अहङ्कारी मानिदिन्छ
हतभरि ठेला उठे ठालुलाई ठेल्दा ठेल्दै
थोत्रो छाता भयो जीवन घामपानी झेल्दा झेल्दै ।
केही गरी धर छैन गाई छ दूध तर छैन
पिठबाट छुरा घोप्छन् कसैमाथि भर छैन
निस्केला कि तेल भनी वालुवालाई पेल्दा पेल्दै
थोत्रो छाता भयो जीवन घामपानी झेल्दा झेल्दै ।