स्वप्निल स्मृति (२०३८, स्वाबरुम्बा ४ पाँचथर, सुपुत्र दिलमाया चेम्जोङ र आशबहादुर चेम्जोङ) समकालीन पुस्ताका सशक्त कवि प्रीतिभा हु्न् । २०५७ सालमा साहित्य सन्ध्या मासिक पत्रिकामा अक्षरहरू शीर्षकको कविता प्रकाशन गरी सार्वजनिक भएका स्मृतिका रङ्गैरङ्गको भीर (२०६२) र बाडुली र सुदूर सम्झना (२०६८) जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । उनको सम्पादनमा नेपाल एकेडेमीबाट प्रकाशन हुने लिम्बू भषाको पत्रिका फोक्ताङलुङ प्रकाशन भइराखेको छ । कविता र गीत रचनामा सफल स्मृतिको यहाँ एउटा गीतिरचना समेटिएको छ । यस रचनाले जीवनका आरोहअवरोहलाई समेटेको छ ।
सम्पा. |
चारै कुना सोह्रै आना मिलेको खुसी कहाँ छ ?
सङ्घर्ष छ र पो जीवन छ साथी, सङ्घर्षलाई सलाम छ
सजिलो सधैँ हुँदैन साथी, अफ्ठेरो बाटो नि आराम छ ।
के हो साँचो के हो झुटो हामीलाई पनि थाहा छ
चेतना छ र पो जीवन छ साथी चेतनालाई सलाम छ
सजिलो सधैँ हुँदैन साथी अफ्ठेरो बाटो नि आराम छ ।
चिसो घाम छ हिउँ तातो, यो कस्तो उल्टो याम आयो ?
मृत्युसँग, जीवनसँग, सँगसँगै खेल्ने काम आयो
सपना छ र पो जीवन छ साथी, सपनालाई सलाम छ
सजिलो सधैँ हुँदैन साथी अफ्ठेरो बाटो नि आराम छ ।