अमिरा अधिकारी नवोदिन प्रतिभा हुन् । उनी २०४९ मङ्सिर ५ गते हिलिहाङ पाँच पाँचथरमा पिता नन्दलाल अधिकारी र माता शान्ता अधिकारीकी सुपुत्रीका रूपमा जन्मिएकी हुन् । हाल हिलिहाङकै निलगिरि उच्च माविमा अभ्यापनरत अधिकारी साहित्य सिर्जनामा विशेष रुचि राख्छिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा अधिकारीको एउटा गजल रचना समेटिएको छ । यस रचनाले जीवनबोधलाई र मानवीय सम्बन्धलाई केन्द्रमा राखेको छ ।
सम्पा. |
रहरसँग यो रहर जोडियो
अनि यो जिन्दगीको बाटो मोडियो ।
सोचेको जस्तो कहाँ पुग्छ र सबै ?
थाहा छैन कति सपना तोडियो ।
जीवन यो घामपानी जस्तै रै’छ
कहीँ दोस्ती, कहीँ दुस्मनी गोडियो ।
जीन्दगी त तब सुन्दर देखियो
जब पाउनु र गुम्नुको हिसाब छोडियो ।