गङ्गा कर्माचार्य पौडेल (२०११ भाद्र २०, स्याङ्जा, सुपुत्री : पूर्णलाल कर्माचार्य र कृष्णदेवी कर्माचार्य) नेपाली साहित्यमा बहुमुखी विधामा सक्रिय नारी हस्ताक्षर हुन् । उनले साहित्यिक पत्रकारिताका साथै साहित्यका कविता र आख्यान (कथा र उपन्यास) विधामा कलम चलाउँदै आएकी छन् । उनका गङ्गाका केही छाल (२०३३) र आँधीखोलाको सम्झना (२०६३) कवितासङ्ग्रह प्रकाशित छन् । उनका ओजु र डाँफे (बालकाव्य : २०६४), धौली आमा (बालकाव्य : २०६५), पञ्च बली (बाल पन्यास, २०६६), द ट्रिकी मिक्की (चाइल्ड्रेन सर्ट स्टोरी, २०६६), चारआँठे चुल्ठो (कथासङ्ग्रह, २०६७), सुरी र भौँ भौँ (बालकथासङ्ग्रह, २०६७), किम्मी र मिम्मी (बालकथासङ्ग्रह, २०६७), कागले किन काँ काँ भन्छ (बालकथासङ्ग्रह, २०६८), किताबको जिल्ला (बालकथासङ्ग्रह, २०६८), दशैँको दक्षिणा (बालउपन्यास, २०७०) चतुरेले चाल पायो (बालचित्रकथा, २०७०), तर्साउने केटो (बालचित्रकथा, २०७०), कागले लग्यो मेरो कान (बालकथासङ्ग्रह, २०७१), गुलाफको फूल (बालकथासङ्ग्रह, २०७१), अप्पुको साइकल (बालचित्रकथा, २०७२), भुइँचालो (बालकथासङ्ग्रह, २०७२), शिविरकी सुन्तली (बालउपन्यास, २०७२), छमछमी नाच्छु तीजमा (बालकथासङ्ग्रह,२०७२), सरस्वती (किशोरउपन्यास, २०७२), मौन प्रश्न (लघुकथा, २०७६), आहा घान्द्रुक ! (२०७५) का साथै स्याङ्जाको नेपाली बाल साहित्यको इतिहास (२०७२) समीक्षा र इतिहास जस्ता विविध कृतिहरू प्रकाशित भइसकेका छन् । उनले फुटकर रूपमा प्रशस्तै गजल पनि प्रकाशन गरिरहेकी छन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा पौडेलको एउटा गजल समेटिएको छ । यस गजलले नेपाली समाजमा भएका छुवाछुत प्रथाको विरोध गरेको छ । यस रचनाले सुदूर पश्चिममा भएको घटनालाई विषयवस्तु बनाई नेपाली रमाजमा रहेको अन्धविश्वास र कुप्रथाको विरोध गरेको छ ।-सम्पा. |
पुरातन सोचलाई फाल्दै जानुपर्छ
छुवाछुत प्रथालाई गाल्दै जानुपर्छ
अबदेखि मर्नुहुन्न बाँकी नवराजहरू
नव चेतनाको राँको बाल्दै जानुपर्छ
मान्छे ठूलो जातले कहाँ कर्मले पो हुन्छ
आपसमा फाटेको मन टाल्दै जानुपर्छ
कुसंस्कृति,कुसंस्कार परम्परा नाममा
ठडिएका पर्खालहरू ढाल्दै जानुपर्छ
एक्काइसौँ शताव्दीमा हामी मान्छेहरू
युग सचेत पाइलाहरू चाल्दै जानुपर्छ ।