![]() -सम्पा. |
![]() |
रात पर्नै आँटेको थियो । पृथ्वी धमिलो हुँदै गएको थियो । खेतको डिलमा बसेका ती दुईलाई उठ्ने इच्छा नै भएन । दिउँसो गिरधारी आए । उनका बाल्यकालका मित्र हुन् । लगभग तीस सालपछि भेट भएको छ । गिरधारी….गाउँमा धोती कुर्ता लगाउने गर्दथे….अब पैन्ट सर्ट अनि कोट लगाएका छन् ।…शहरले मानिसमा कति परिवर्तन ल्याइदिन्छ ।
गिरधारीले गाउँको सबै सम्पति बेचेर शहर गए अनि कारखाना खोले । उनी गाउँमै बसे अनि खेतमा पसिना बगाउँदैछन् जबकी शहरमा गिरधारीको कारखाना मज्जाले चलिरहेको छ ।
“हिँड्, तिमी पनि हिँड्,…..सबैकुरा बेचिदेऊ यहाँको । दुवै मिलेर काम गरौंला ।’’ गिरधारीले भने अनि आफ्नो हातको औंला चाट्न लागे । दिउँसोदेखि जिद्दी गरिरहेका छन् ।
उनी चुप रहे । जुनबेला गिरधारीले यो कुरा भने, त्यतिबेला उनी चुप लागे ।
“दिनभर सुर्यलाई बोकेर आफ्नो खुनपसिना बगाएका छौ…..आफ्नो पुरा जवानी लगाइदियौ ।’’ उनी अझ चुप नै रहे ।
“सोचिहाल…शहर जानेछौ…कारखाना चलाउने छौ….त्यसपछि जीवन बदलिने छ….भाग्य बदलिने छ । गिरधारीले उनलाई चुप देखेर भने ।
“यो गाउँ छोडेर कतै पनि जाँदैन् ।’’ उनले निर्णय भरिएको स्वरमा भने ।
“त्यसो भए तिमी आफ्ना अभाव र आफ्नो अभावको जीवनमा खुसी छौ ?” गिरधारीले आफ्नो दायाँ हात उठाएर खेतका तर्फ इशारा गरेर भने, “तिमी यस मरुभूमिलाई वृन्दावन बनाऊ ।”
उनको मुखमा हाँसो आयो र मसिनो आवाजमा भने “थाहा छ, यहाँ धर्तीको रंगीन दृश्य छ…. …सूर्य पनि छ अनि चन्द्र्रमा, तारा पनि….महकिरहेका फूल छन् त लहराइरहेको खेती पनि….चरिरहेको जनावर पनि छन त चहचह गर्ने पक्षी पनि… यहाँ आमाबुवाको वात्सल्य पनि छ भने दाजुभाइको स्नेह पनि….यहाँ मिलनको सुखदुख छ त विछोडको व्यथा पनि….”…उनी थोरै समयका लागि रोकिए अनि गिरधारीको जस्तै आफ्नो खेतलाई इशारा गरेर भने, “यो सब मेरो सपना हो र यी सपनालाई छोडेर सुख खोज्न शहर जाने काम मबाट हुँदैन ।’’
गिरधारीले उनको मुख अँध्यारोमा हेर्ने प्रयास गर्न थाले । गिरधारीलाई लाग्यो कि हावा धेरै नरमाइलो छ । शून्यता यस्तो कि को यस शून्यतासित लडोस् ? गहिरो हुँदै गएको रात पनि नरमाइलो छ र रुख पनि चुपचाप उभिएका छन् ।
..तर उनलाई यो सब लागिरहेको छैन….जो गिरधारीलाई लागिरहेको छ ।