पवन शर्मा (सन् १९६१ जुन ३० भारतको मध्य प्रदेश प्रान्तको रायसेन जिल्लाको साँचेत, सुपुत्रः विद्यादेवी शर्मा एवम् श्रीकृष्ण शर्मा) हिन्दीमा एमए शर्माका लघुकथा, कथा, कविता पत्रपत्रिकामा प्रकाशित हुनाका साथै पुरस्कृत समेत भएका छन् । उनका प्रकाशित लघुकथा कृतिमा अपने–अपने दायरे, जंग लगी किलेँ, हम जहाँ है एवम् मेरी चुनिंदा लघुकथाएँ रहेका छन् । यसबाहेक उनका कथा, कविताका कृतिसमेत प्रकाशित छन् ।
-सम्पा. |
डा. पुष्करराज भट्ट सिर्जना, समीक्षा र सङ्गठनका बहुआयामबाट साहित्यसेवा गरिरहेका प्रतिभा हुन् । उनको परिचय भानुका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ भने भट्टको अनुवादमा पवन शर्माको ‘सपना’ लघुकथाको नेपाली अनुवाद समेटिएको छ । |
रात पर्नै आँटेको थियो । पृथ्वी धमिलो हुँदै गएको थियो । खेतको डिलमा बसेका ती दुईलाई उठ्ने इच्छा नै भएन । दिउँसो गिरधारी आए । उनका बाल्यकालका मित्र हुन् । लगभग तीस सालपछि भेट भएको छ । गिरधारी….गाउँमा धोती कुर्ता लगाउने गर्दथे….अब पैन्ट सर्ट अनि कोट लगाएका छन् ।…शहरले मानिसमा कति परिवर्तन ल्याइदिन्छ ।
गिरधारीले गाउँको सबै सम्पति बेचेर शहर गए अनि कारखाना खोले । उनी गाउँमै बसे अनि खेतमा पसिना बगाउँदैछन् जबकी शहरमा गिरधारीको कारखाना मज्जाले चलिरहेको छ ।
“हिँड्, तिमी पनि हिँड्,…..सबैकुरा बेचिदेऊ यहाँको । दुवै मिलेर काम गरौंला ।’’ गिरधारीले भने अनि आफ्नो हातको औंला चाट्न लागे । दिउँसोदेखि जिद्दी गरिरहेका छन् ।
उनी चुप रहे । जुनबेला गिरधारीले यो कुरा भने, त्यतिबेला उनी चुप लागे ।
“दिनभर सुर्यलाई बोकेर आफ्नो खुनपसिना बगाएका छौ…..आफ्नो पुरा जवानी लगाइदियौ ।’’ उनी अझ चुप नै रहे ।
“सोचिहाल…शहर जानेछौ…कारखाना चलाउने छौ….त्यसपछि जीवन बदलिने छ….भाग्य बदलिने छ । गिरधारीले उनलाई चुप देखेर भने ।
“यो गाउँ छोडेर कतै पनि जाँदैन् ।’’ उनले निर्णय भरिएको स्वरमा भने ।
“त्यसो भए तिमी आफ्ना अभाव र आफ्नो अभावको जीवनमा खुसी छौ ?” गिरधारीले आफ्नो दायाँ हात उठाएर खेतका तर्फ इशारा गरेर भने, “तिमी यस मरुभूमिलाई वृन्दावन बनाऊ ।”
उनको मुखमा हाँसो आयो र मसिनो आवाजमा भने “थाहा छ, यहाँ धर्तीको रंगीन दृश्य छ…. …सूर्य पनि छ अनि चन्द्र्रमा, तारा पनि….महकिरहेका फूल छन् त लहराइरहेको खेती पनि….चरिरहेको जनावर पनि छन त चहचह गर्ने पक्षी पनि… यहाँ आमाबुवाको वात्सल्य पनि छ भने दाजुभाइको स्नेह पनि….यहाँ मिलनको सुखदुख छ त विछोडको व्यथा पनि….”…उनी थोरै समयका लागि रोकिए अनि गिरधारीको जस्तै आफ्नो खेतलाई इशारा गरेर भने, “यो सब मेरो सपना हो र यी सपनालाई छोडेर सुख खोज्न शहर जाने काम मबाट हुँदैन ।’’
गिरधारीले उनको मुख अँध्यारोमा हेर्ने प्रयास गर्न थाले । गिरधारीलाई लाग्यो कि हावा धेरै नरमाइलो छ । शून्यता यस्तो कि को यस शून्यतासित लडोस् ? गहिरो हुँदै गएको रात पनि नरमाइलो छ र रुख पनि चुपचाप उभिएका छन् ।
..तर उनलाई यो सब लागिरहेको छैन….जो गिरधारीलाई लागिरहेको छ ।