धनराज गिरीका थुप्रै गजल एवम् लघुकथा रचनाहरू साहित्यसागरमा समेटिएका छन् । हाल उनी अमेरिकामा बसोबास गर्छन् । प्रस्तुत शृङ्खलामा उनको सलाम अनुवादका पितामह ! शीर्षकको कृष्णप्रकाश श्रेष्ठका विषयमा लेखिएको व्यक्तित्व र स्मृतिप्रधान लेख समेटिएको छ । यस लेखले कृष्णप्रकाश श्रेष्ठका बारेमा थाहा पाएदेखि रुसमा भेट भएर पुरस्कार थापेपछिका अनुभूतिका साथै श्रेष्ठको कृतित्वको चर्चा गरिएको छ। -सम्पा. |
शब्दप्रतिको मेरो लगाव र माता वाग्देवीको वरद् अनुकम्पाको कारणले मजस्तो एक अकिञ्चनले जीवनमा स्वनामधन्य ऋषिमुनिहरूको सङ्गत गर्न पायो । अक्षरखेतीमा आफू बालक नै भए पनि मलाई समयले साथ दियो र साहित्यप्रेमी, साहित्यसेवी भएकै नाताले म बर्मा मात्र होइन वुस्धिन, चेखव, टोल्सटोय जस्ता महारथीहरूको जन्मभूमिमा पनि पाइला टेक्न पुगेँ, २०७३ साल जेठ २८ गते, सहयात्री थिए प्रख्यात लेखक आश्विनी कोइराला ! जुकरवर्ग क्याफे र प्रेमालय जस्ता बेस्ट सेलर कृतिका लेखक कोइराला सफल पत्रकार पनि हुन् । उनको नाम नै उनको परिचय हो । छोटो समय हामी ‘विदुर र धर्मराज युधिष्ठिर’ भयौं । मलाई पनि प्रेमपूर्वक ‘बाबु’ भन्दछन् र रुस भ्रमणको सम्पूर्ण व्यवस्थापन मेरा प्रिय अनुजद्वय जीवा लामिछाने र खेम लामिछानेको थियो । मावली नामको माल्दा आँपको बुटामा फलेर पाकेका स्वादिला आँपहरू यो योगीले पनि चाख्न पाएको थियो । मेरो जीवनमा यी दुई अनुज दैवी वरदान बनेर आए, आदरणीय दाजी गोविन्दराज भट्टराईजस्तै ! मस्कोमा ७ दिन भ्रमण गर्ने क्रममा धेरै धेरै भला मानुषहरू भेट हुनुभयो । आदरणीय दाजी कृष्णप्रसाद श्रेष्ठसितको हार्दिक मिलन विशिष्ट रह्यो ।
कृष्णप्रसाद श्रेष्ठको नाम र कामसित म परिचित थिएँ तर साक्षात्कार हुन समयले साथ दिएको थिएन । जगदम्बाश्रीद्वारा विभूषित, अनुवादमा आफ्नै छुट्टै मुकाम तय गर्नुभएका श्री कृष्ण दाजीको जीवन कथा बडो रोचक लाग्यो । भतिज आश्विनी कोइरालाको छोटो लेखबाट धेरै कुरा थाहा पाएँ ।
आदरणीय निलाम्बर आचार्यज्यूसित मेरो पनि आत्मीय सम्बन्ध छ । उहाँहरू समवयी मित्रहरू हुनुहुँदो रहेछ । कृष्ण दाजुको पटनाबाट नेपाल फर्किएपछिको विकल्प नै विकल्पहरूमध्ये रुस विकल्प छान्नु पनि जीवनको एउटा नयाँ मोड जस्तो लाग्यो । सायद भावीश्री इरिना आफ्नो सपनाको राजकुमारको प्रतीक्षामा हुनुहुन्थ्यो । पत्रकारिताको अध्ययन र मस्को रेडियोको जागिरको कथा पनि मननीय लाग्यो । नेपाल र रुसबिचको भाषिक सेतु बनेर दाजुले दुई डेरालाई नै गुन लगाउनुभयो ।
कृष्णप्रकाश श्रेष्ठले १७० भन्दा बढी रुसी भाषाका किताबहरू नेपालीमा अनुवाद हुनु भनेको चानचुने कुरा होइन । रुसमा आएको परिवर्तनपछिका दिनहरू भने दाजी अनुकूल नभएको पाएँ । जगदम्बाश्री पुरस्कार लिन आउँदा उहाँले बेहोर्नुपरेको झन्झट थाहा पाउँदा मैले पनि अस्ट्रेलिया जाने भिसा प्रकरणको कागजी तानाबाना सम्झिएँ । मलाई पनि भिसा हो कि दशा हो ? जस्तो लागेको थियो । रुसमा ७ दिन बस्दा मैले साथीहरूसित भनेको थिएँ, ‘यदि म पनि पढ्न भनेर रुस आएको भए मेरो ससुराली नेपालमा हुने थिएन ।’ हैट, यति राम्रा कि रसियन युवतीहरू, हाम्रा पौराणिक कथाहरूमा वर्णन गरिएका अप्सराहरू यहींका रहेछन् जस्तो लाग्यो ।
पुरुष मन मात्र होइन मसित त गजलकारको मन पनि थियो । ‘दाइ, जोगिनुपर्छ है । यहाँ धेरै नेपाली युवाहरू प्रेमएम्बुसमा परेर सहिद भएका छन्, तपाईँको मित्र कृष्णप्रसाद रिजालको पनि उही हो कहानी !’ सरसर्ती संसार र देश देशावरका पिताले मलाई यो जानकारी दिए । धेरै नेपाली युवाहरू उतै ससुराली बनाएर बसेको पाएँ ।
कृष्णप्रकाश श्रेष्ठ दाजु पनि मदन बनेर आफ्नी मुनासित प्रेमको भोल्गा नदीमा स्नान गर्न पुग्नुभयो । यो लीला, यो उत्तरआधुनिक प्रेम, पूर्णरूपमा सफल भएको हो । आज २०७८ साल असार २३ गते म दाजुका बारेमा लेख्दै छु । मैले लेखेका कुराहरू उहाँले यो लौकिक संसारमा पढ्न पाउनुहुने छैन । ‘स्पासिभा धनराज गिरी’ सुन्न मेरो कानले पनि पाउने छैन् । यो हक पनि अनौठो साहित्यिक विडम्बना हो । भाउजूसित त नयन मेरो साक्षात्कार नै भएन । उहाँको आत्मालाई नमन ! हाम्रो नेपाली दाजुलाई मन पराउने उहाँको पवित्र मनलाई सलाम !
आश्विनिको र मेरो सौभाग्य भन्नुपर्छ, कायममुकायम राजदूत इन्दिरा अर्याललाई साक्षी राखेर हामी काका भतिजाले अन्तर्राष्ट्रिय साहित्य समाज रुस च्याप्टरद्वारा प्रदान गरिने ‘देवकोट इयानोय’ साहित्यिक पुरस्कार निष्पाप विद्वान् दाजु श्री कृष्णप्रकाश श्रेष्ठज्यूको हातबाट लिन पायौं । रुस भ्रमणको क्रममा मैले यात्रालाई कवितामा उतारेको थिएँ । लेख्दै थिएँ । पुरस्कार ग्रहणको समयमा मैले आफ्नो कविता सुनाएँ । दाजीले स्नेह प्रकट गर्दै भन्नुभयो, ‘धनराजजी ! यो मस्को यात्रा कवितामा आउनु पर्छ है !’ मस्कोमा मात्र भन्नुभएन, नेपाल आएपछि मुहार पुस्तिकामार्फत पनि आफू मन्त्री जाम्वबान बनेर मलाई पवनसुत बजरङ्गबली बनाइरहनुभयो ।
प्राविधिक कारण भन्नु त एक बहाना हुन्छ, मेरो अल्छीपनले गर्दा त्यो काम अधुरै छ । यतिखेर दाजु सम्झिएर लज्जित छु । जीवासित यस विषयमा उच्चारण पनि गर्न सकेको छैन । उहाँ मेरा लागि उत्प्रेरक पनि हुनुभयो, छोटो भेटमा दीर्घकालसम्म हृदयमा छाप पर्ने स्नेह दिनुभयो । सरलताका बिम्ब, भाषसेवी दाजुले ७० वर्षको उमेरमा रुसी नागरिकता लिनुपर्दाको मनोवैज्ञानिक पीडा अनुमान गर्न सक्दिन म ! तर यति कुरा ढुक्कसित भन्छु, नेपालमै बसेर नेपालका लागि केही गरेका छन् केही सपुतहरूले, त्योभन्दा कम गरेका छैनन् प्रबासिएकाले पनि ! म प्रत्यक्षदर्शी हुँ, भेटिया हुँ र साक्षी पनि विदेशमा रहँदा हृदयमा कति नेपाल दुख्छ भन्ने कुरा म आफैंले अनुभूत गरेको छु । यसैले रहर वा बाध्यता, जे जेले गर्दा राहदानी गोजीमा हालेर जेट चढे पनि हृदयभरि ‘नेपाल’ बोकेर गएका हुन्छन् । आप्रबासी नेपालीहरू भन्ने कुरा बुझ्न अप्रबासी नै हुनुपर्दैन र देशको सेवा गर्न चाहनेले विदेशमा रहेर पनि सेवा, टेवा र मेवा पु¥याउन सक्छ, पु¥याइरहेका छन् ।
यतिखेर त सङ्गठितरूपमा ‘एनआरएन’ पनि केही गर्दै छ, गरेको छ । दाजु श्री कृष्णप्रकाश श्रेष्ठ पनि नेपालमै रहनुभएको भए एउटा जागिर खानुहुन्थ्यो, दुईचार किताब प्रकाशन गर्नुहुन्थ्यो र औसत जीवन जिएर नै महायात्रामा जानुहुन्थ्यो होला । तर उहाँले रुसमा रहेर पनि जे जति काम नेपाली भाषा र साहित्यका लागि गर्नुभयो त्यसको उच्च मूल्याङ्कन समयले गर्ने छ । उहाँ एक अविज्ञान्त भाषासेवी हुनुहुन्थ्यो । उहाँको कामले सबै कुरा प्रमाणित गरेको छ । हृदयभरि नेपाल र नेपाली साहित्य बोकेर एउटा अनुकरणीय जीवन भोगेर दाजु यस संसारबाट बिदा हुनुभयो ।
दुई छोरीहरू (भतिजीहरू)लाई यो अपरिचित नेपाली काकाले आशीर्वाद दिन्छ । हुन त मेरो मनमा आएको कुरा अरू आफन्तहरूको मनमा पनि आएको होला, दाजुलाई सम्मानस्वरूप उहाँको सालिक रसियन कल्चर सेन्टर नेपालमा र मस्कोको नेपाली दूतावासमा पनि राख्न हार्दिक अनुरोध गर्दछु । उहाँको नामबाट एउटा साहित्यिक पुरस्कार स्थापना गर्न पाएमा सच्चा श्रद्धाञ्जली हुने थियो कि ? पहिलो भेट नै आत्मीय भएको इतिहास अरू पनि छ । अलविदा कृष्ण दाजु ! भाइ जीवा मैले न्याय गरेा ?