मुकुन्द शर्माका थुप्रै रचना साहित्यसागरमा छापिइसकेका छन् । उनले सिर्जना र अनुवादलाई उत्तिकै महत्व दिँदै आएका छन् । प्रस्तुत शृङ्खलामा उनको सामवेदको ४६ औँ श्लोकपछिका केही श्लोकको तोटक छन्दमा गरिएको नेपाली अनुवादलाई समेटिएको छ । यी अनुदित श्लोकलाई ‘यज्ञ बनोस् सफल’ शीर्षक दिइएको छ । -सम्पा. |
भारद्वाज आदि सप्तर्षि —परितो……..।४६।
सब निर्जरका हवि उत्तम हुन् हितकारक छन् रससार यिनी
जब पत्थरले पिसिए मिचिए गगनान्तर जान तयार यिनी ।
अतएव पुरोहित हो ! यिनको अझ शोधन गर्न हतार गर
सब कर्म सकेपछि याजनमा यिनको घटमा जलधार छर ।
भरद्वाज आदि सप्तर्षि —आसोम…….।४७।
पयसाथ मिलेर उँधोतिरको अब सोम यिनी घटमा भरिए
दुहिएर समान समुद्र सरि मुदिता दिन याजनमा छरिए ।
पुरमा नर झैँ चल शीघ्र तिमी पिसिएर गएपछि छान्नुतिर
पसिहाल चमूघटमा रस हे ! हरियो रँग ली जलमाथि सर ।
विश्वामित्र ऋषि —प्रसोम……..।४८।
जलले परिपूरित सागर झैँ रस सोम ! तिमी जलमग्न बन
मदकारक जागृतिशील बनी अब द्रोण घडाभरि पूर्ण बन ।
प्रिय पुत्र समान सफा गरिने रस हे ! पस उज्ज्वल छान्नुतिर
रणमा हय झैँ द्रुत अङ्गुलिले निचेर बगाइदिऊन् ससर ।
सोमउषुवाणः…….।४९।
ऋषिको पथको पनि विज्ञ तिमी जुन उत्तम दर्शक सेचक हौ
गगनान्तरमा रविदेव लगी गतिशील बनाउन सक्षम छौ ।
छर सोम तिमी अब छान्नुतिरै हरियो रँगको मदपूर्ण रस
सललल्ल बगी यजनालयमा सुपुनीत भई भरियोस् कलश ।
तवाहम्……..।५०।
स्तुतिमा रत छन् सब देवहरू अतएव उनैतिर सोम गए
पिसिएर ठुटा दुइमा पहिले जलमा बहँदै पयले भरिए ।
हर रोज तिमीसित मित्र बनूँ रमणीय र पिङ्गलवर्ण बन
रससोम ! भयङ्कर राक्षस छन् सबका सबको अब कण्ठ छिन ।
मृज्यमानः……..।५१।
अति सुन्दर हात हुने रस हे ! पस अम्बरमा कि त पात्रभरि
कनकादि दिने सबले पुजिने बग कल्कल कल्कल नाद छरी ।
बग छान्नु भएतिर शुद्ध बन जलभित्र पसी स्वर चारु छर
सुरभी पयले सजिएर तिमी घटमा भरिएर उमङ्ग भर ।
विश्वामित्र ऋषि —अभिसोमासः……..।५२।
गतिशील भएर सबैतिर यी बहने मदकारक सोमलता
बुध यी गगनान्तरबाट मिठो रस झारिदिने सुपवित्र यता ।
कति छाल लगेर महोदधि नै अब पार गरे रसराज यिनी
जुन मित्र जलेश्वरका कृतिका दृढ सत्य बने शिरताज यिनी ।
काश्यप ऋषि —पुनानःसोम……..।५।
प्रिय जागृतिशील रसामृत हे ! बन शोधित छान्नु मिलेर तिमी
यजनालय सिञ्चित बन्न पुगोस् मधुरो गुणले भरिएर तिमी ।
पितृका पनि नायक धीर तिमी सबतर्फ पवित्र भएर चल
यसरी सबतर्फ गएर तिमी यस सौमिक यज्ञ बनोस् सफल ।
जमदग्नि ऋषि —इन्द्रायः……..।५४।
कृतिनिष्ठ यिनै कमनीय यिनै सबका मनले अनुमोदित छन्
अमरेश्वरनिम्ति तयार यिनै गगनान्तरमाथि विराजित छन् ।
अमराधिपनिम्ति बगेर यिनी मदकारक धार लिएर बगे
बरु शोधननिम्ति पुरोहितले पहिले अब छान्नुनजीक लगे ।
वसिष्ठ ऋषि —पवस्व…….।५५।
स्तुतिमन्त्र सुनी रस ! याजकका पस यो घटमा कि त अम्बरमा
बन मादक देवनिमित्त तिमी घरभित्र दिएर अनाज ममा ।
शुभदर्शक सोम ! तिमीकन यी बुधले स्तुतिले अनि अङ्गुलिले
धवलाकृति छौ तर फेरि पनि रमणीय बनाउन लागिपरे ।