यो तस्बिर भाइ शिवले घरमा फ्रेम गरेर राखेका रहेछन् । म बालापनलाई माया गर्छु भनेको त भाइको बालापनको माया अझ गाढा रहेछ । यस तस्बिरमा तीन गुणका छ जना बालबच्चा देखिन्छन् । तिनीहरू क्रमशः जगत्, शिव, रमेश, सीता, गङ्गा र लक्ष्मी हुन् । यो तस्बिरसँगै बाल्यकालका अनेक स्मृति ताजा बनेर आए । फर्किएर उही परिवेश र घरमा अर्को फोटो खिच्ने रहर जागेर आयो ।
यो तस्बिर छ केटाकेटीको तस्बिर मात्र होइन । यससँग एउटा संयुक्त परिवारको जीवित इतिहाँस छ । हाम्रा बाहरू तीन भाइ क्रमशः कुवेरनाथ, सुर्यनाथ र पुण्यप्रसाद । यहाँ रहेका जगत् कान्छाका छोरा हुन् । रमेश अर्थात् म, सीता र गङ्गा माइलाका छोराछोरी, शिव र लक्ष्मी जेठाका छोराछोरी । त्यस बेलासम्म घरमा हामी सात जना केटाकेटी थियौँ । यहाँ सात जनामध्येकी कान्छी रधा बहिनी छुटेकी छन् । उनी सम्भवतः सानै थिइन् । कतै सुतेकी थिइन् र फोटोमा छुटिन् । यद्यपि राधा जगत् भन्दा थोरै मात्र कान्छी छन् ।
यो तस्बिर हामीले मतानका भित्तामा लिएका हौँ । हाम्रा घरका आँगनसँग मतानको माथ्लो तलो जोडिन्थ्यो । भित्तामा सेतो कमेरो र रातोम माटो अनि कालो गाजल पोतिएको हुन्थ्यो । सम्भवतः त्यस बेला त्यो भित्तो भन्दा त्यहाँ कपडा राख्नु राम्रो लाग्यो होला । यो फोटो हाम्रै बडाबाले ल्याएको नयाँ क्यामराले खिचेको । यो पृष्ठभूमिमा रहेको नागा च्यादर पनि बडाबाले नै भारतबाट ल्याएको । हाम्रा घरको विशेष वस्तु त्यही च्यादर थियो । त्यो संयुक्त परिवारमा त्यतिबेलासम्म कुप्रीआमा (प्रपितामही), बुढा मावल घरकी कुप्रीआमा (प्रमातामही), हजुरबा हजुरआमा पनि हुनुहुन्थ्यो । साँल्दिदी र कान्छी दिदी पनि हुनुहुन्थ्यो । साँल्दिदीको भर्खर मात्र विवाह भएको थियो । घरमा अठार उन्नाइस जनाको परिवार थियो । ठुला भड्डुमा भात पाक्थ्यो । म ठुली र माहिली बहिनीलाई डोर्याएर स्कुल जान थालेको थिएँ । अरू भाइबहिनीको स्कुल जाने बेलै भएको थिएन । सबै सबैका लागि उतिकै प्रिय थिए । घरको वातावरण सौहार्द थियो ।
यस तस्बिरसँग जोडिएको अर्को कुरा पनि छ । त्यस बेला पिताजीले बजारबाट ठुलो थानको एकै खालको कपडा ल्याएर सबैलाई एकै रङको लुगा सिलाइदिनुहुन्थ्यो । तिन चार दिनसम्म गोविन्द दर्जी र उनको परिवार हाम्रा घरमा लुगा सिउँथे । हामी सबैका सट र सुरुवाल एकै हुन्थे । बहिनीहरूका लुगा पनि एकै हुन्थे । बहिनीहरूलाई किनिदिने स्वेटर पनि एकै हुन्थे । त्यसको एउटा नमुना यहाँ देख्न सकिन्छ । यो तस्बिरमा म, सीता, गङ्गा र शिवले लगाएको सटको कपडा रङ एकै छ । लक्ष्मीले लगाएको जामा जस्ता जामा सीता र गङ्गाका पनि थिए तर उनीहरूले त्यस दिन अलग लुगा लगाएका रहेछन् । जगत्ले बजारे लुगा लगाएका रहेछन् । थानका कपडा सिलाउँदा हामी सबैलाई दौरा सुरुवाल नभए सट र सुरुवाल सिलाइदिने चलन थियो । मैले जबरजस्ती पाइन्ट सिलाउन लगाएको थिएँ । त्यसरी पाइन्ट सिलाउँदा उब्रिएको कपडाबाट अस्कोट (इस्तकोट) सिलाउन लगाएको थिएँ । त्यस बेला म तीन कक्षामा पढ्दै थिएँ ।
यस तस्बिरमा सीता र म मुडामा बसेका छौँ । अरू भाइबहिनीहरू उभिएका छन् । ती मुडा मृगको छालाबाट बनेका विशेष मुडा थिए । हाम्रा लागि आफ्नै घरमा आफ्नै बुबाले फोटो खिचिरहेको विशेष दिन थियो त्यो दिन । आज हाम्रा घर छेउको सुभाङ खोलामा थुप्रै पानी बगिसकेको छ । हामीलाई माया गर्ने मान्छेहरू हामी चाहेर पनि भेट्न सक्तैनौ । त्यो घर पनि हाम्रो छैन । त्यो परिवेश पनि हाम्रो छैन । हामी पनि त्यसरी एकै ठाउँ भेला भएर अर्को फोटो खिच्ने अवसर मिलाउन सकिरहेका छैनौँ । धन्य त्यो बालापन, धन्य त्यो परिवार र त्यहाँको खुसी । मनमा सम्झना भइरहेछ कहाँ आउँछ र घुमेर बालापनको उमेर ।