- तस्बिर साहित्य
म काठमाडौँ आएकै सालदेखि भानु प्रतिष्ठानको सदस्य बनेर यसका कार्यक्रमहरूमा सहभागी हुन थालेँ । मलाई दैवज्ञराज न्यौपाने गुरुले एम एको कक्षामा भेटेर कक्षामै अँगालो हालेर पाखुरामा समाएर बाहिर निकालेर यो प्रतिष्ठानको सदस्य बनाउनुभएको थियो । म २०६० सालदेखि हरेक कार्यक्रममा भानुप्रतिष्ठानसँगै छु । यो २०६० सालको भानुजयन्तीको रथयात्राको फोटो हो । यस फोटोमा धर्मराजथापा र म सँगसँगै हिँडिरहेका छौँ । धर्मराज थापापटि प्रष्ट चिनिने रूपमा नरेन्द्रबहादुर श्रेष्ठ र मेरो छेउमा एकेडेमीकै पुराना कर्मचारी हुनुहुन्छ । हामी सम्भवत: अघिल्लो व्यानरका पछाडि थियौँ । हाम्रा पछाडि अर्को व्यानर देखिन्छ । यस तस्बिरको सन्दर्भ पारेर धर्मराज थापाको स्मृति गर्न खोजिएको छ ।
धर्मराज थापा भन्ने वित्तिकै अनेक गीतहरू सम्झनामा आउँछन् । बाल्यकालदेखि सुनेका अनेक गीत मेरो मानसपटलमा आज पनि ताजा छन् । पहिलो भेटमा मैले तिनै रेडियोबाट सुनेका गीतका आधारमा उनको अनुहार निहालेको थिएँ । उनका गीतहरू :
‘हरियो डाँडामाथि, हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो तारे हो हो‘’
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा‘’,
‘धानको बाला झुल्यो हजुर देसै रमाइलो‘’,
‘आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन‘’
‘नेपालीले माया मार्यो बरिलै‘’
आदि अनेक छन् । असारमा धेरैपटक हरियोडाँडामाथि गीत गाइयो । उनको सबभन्दा चर्चित गीत यही होला ।
धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगीत संकलक, लोकवार्ताविद् गायक, कवि तथा प्राज्ञ थिए । उनलाई ‘जनकवि केशरी’का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट ‘जनकवि केशरी’ उपाधि पाएका थिए ।
थापाको हरियो डाँडामाथि हलो जोत्ने साथी गीत प्रख्यात छ । नेपालीले माया मार्यो बरीलै, आदि गीत उत्तिकै प्रख्यात छन् । उनी सिर्जनातर्फ गीतकार र कविका रूपमा प्रतिष्ठित प्रतिभा हुन् । उनले अनेक लोकसाग्रीको सङ्कलन र सम्पादन गरेका छन् । एम. एको पाठ्यक्रममा लोकसाहित्य पढ्दा उनको परिभाषा र उनका कृतिहरूलाई सन्दर्भ कृतिका रूपमा पढ्नुपथ्र्यो । सम्भवत: त्यस प्रभावले वा बाल्यकालदेखि रेडियोमा सुनेका गीततका प्रभावले म उनीसँग भेट हुँदा बढी नै आकर्षित भएको थिएँ ।
धर्मराज थापाका रत्न जुनेली, बनचरो, पहाडी सङ्गीत, कालीको लहर, . विलौना, कोसेली, तिलोत्तमाको भेल, बत्तीमुनी अँधेरो, रानी पोखरी, पृथ्वीको दिव्य अर्ती, निर्वाचन लहर, मेरो नेपाल भ्रमण, श्री ५ महेन्द्रको सवाई, भेटघाट (अभिनन्दनको सँगालो), गोल सिमल, गण्डकीका सुसेली, दिव्य चौतारी, मङ्गली कुसुम, हाम्रो लोकगीत, नेपाली लोकसाहित्यको विवेचना (सहलेखन), हिमालको आँसु (शोक काव्य), मिर्मिरेको रन्को, सगरमाथाको सेरोफेरो, लोक साहित्यको घेरामा लमजुङ, मुक्तिनाथ दर्शन, चितौन दर्पण, तनहुँ फूलबारी, नीलकण्ठयात्रा (गोसाइँकुण्ड) मेरो नेपाल भ्रमण जस्ता कृतिहरू प्रकाशित छन् । उनका यीमध्ये केही कृति रहरले पढेँ केही कृति पढाइका सन्दर्भ पुस्तकका रूपमा पढेँ । बढी त पछिल्लो समय एम. एका कक्षामा लोकसाहित्य पढाउने क्रममा पढेँ । आज यो तस्बिरका विषयमा केही लेख्न अभिप्रेरित गर्ने विविध पक्षमध्ये मेरो लोकसाहित्यसँगको अध्ययन अध्यापन सम्बन्ध पनि हो ।
थापाको व्यक्तित्व र सिर्जन सामथ्र्यको प्रभावका कारण मैले उनको एउटा गीतिरचना आफूले लेखेको विद्यालयको पाठ्यपुस्तक आधुनिक नेपाली मालाको कक्षा छ को पहिलो रचनाका रूपमा समेटेको थिएँ । त्यो रचना हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला हो ।
थापाले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा २०२५ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । मदन पुरस्कारको इतिहासमा उनको नाम पढ्नु पथ्र्यो । थापाले श्रव्य–पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरे । उनले यस्तो योगदान गरेवापत वि.सं. २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए । उनले यो पुरस्कार प्राप्त गर्दाको समारोहको पनि साक्षी बनेको थिएँ । आज एल्बम पल्टाउँदा थापासँगसँगै भानुजयन्तीका सन्दर्भमा सम्भवत पुतली सडकमा हिँडिरहेका बेलाको तस्बिर भेटेर थापाप्रति थप श्रद्धा जागेर अयो । यो तस्बिर मेरा सहपाठी मित्र विष्णु ज्ञवालीले खिचिदिएका रहेछन् । आज करिब दुई दशक अघिको तस्बिरमा आफू एक अग्लो प्रतिभासँग हिँडिरहेको पाउँदा मनदेखि धेरै खुसी लागेको छ । सम्भवत: त्यसै दिन थापाले आदिकवि भानुभक्त पुरस्कार पनि प्राप्त गरेका थिए ।
भानुजयन्ती लगत्तै अगाडि राष्ट्रिय कवितामहोत्सवमा भेटेर अँगालो मारेर बाबू पूर्वको खबर के छ भनेर सोधीखोजी गरेको प्रसङ्ग मेरालागि अभिप्रेरित थियो । उनी जहाँसुकै पुगिसकेका प्रतिभा रहेछन् । पाँचथर भन्दा कहाँ कुन गाउँसम्म सोधीखोजी गर्ने उनको बानी थियो ती भीमकाय शरीर र त्यस्तै उचाई भएका व्यक्तित्वको हार्दिक सम्झना । पछि धर्मराजथापाको मलाम पनि गइयो र एउटा थापाको जयन्ती समारोहको सञ्चालकको भूमिका पनि निर्वाह गरियो । त्यो पनि मलाई अँगालो मारेर थापाले दिएकै प्रताप होला । आगामी साउन एक गते उनको जन्म दिन पर्छ । थापालाई तस्बिरमा मात्र देख्दा पनि मेरो शिर आदरले झुकिरहेको छ । उनको समाज जागरणमा बितेको जीवनको उज्यालोको बोध हुन्छ ।
– रमेश शुभेच्छु