यो तस्बिर मलाई मेरा हजुरबाले २०६३ सालको दशैँको टीका लगाइदिँदै गरेको तस्बिर हो । यस तस्बिरमा मेरो बुबा, अन्तरे काकाको टोपी, हजुरबा र म देखिन्छौँ । यो तस्बिर भाइ जीवनले लिएका थिए । तस्बिरमा हजुरबाले टीका लगाइदिँदै हुनुहुन्छ र उहाँको हात गलेकाले मैले एउटा हातले उहाँको हातलाई आड दिइरहेकी र अर्को हातमा टीका थापिरहेकी छु । बुबाले अक्षताको थाली उचाल्नु भएको छ ।
हाम्रा हजुरबा, हाम्रा मात्र होइन सबैका आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ ज्योषित, भागवत दर्शनलागयत पूर्वीय दर्शनका बहुविध पक्षका जानकार हुनुहुन्थ्यो । आमाले भनेअनुसार चालिस वर्षकै उमेरमा घर छोडेर धार्मिक क्षेत्रमा समर्पित हुनुभएको थियो । उहाँ सिलिगुढी, दार्जिलिङलगायत भारतका विभिन्न ठाउँका प्रणामी मन्दिरमा बस्नु भएको थियो । इटहरीको प्रणाली मन्दिरमा पनि उहाँ लामो समयसम्म बस्नुभयो ।
२०६० सालमा काठमाडौँबाट दशैँ विदामा घर गएको बेला म हजुरबालाई भेट्न इटहरी मन्दिरमा गएकी थिएँ । त्यहाँ पुग्दा निकै साँझ परिसकेको थियो । भवानीशङ्कर गुरु यहाँ हुनुहुन्छ ? भन्दै मैले मन्दिरको बाहिरपट्टिबाटै एक जना साधुलाई सोधेँ । उहाँले बढो प्रशन्न भएर भन्नुभयो ‘ए महाराजजी ! उहाँ हुनुहुनुहुन्छ नि ।’ उहाँले महाराजजी भनेको सुनेर म गर्वले फुलेँ । मेरा हजुरबा हाम्रा मात्र होइन धेरैका आदरणीय व्यक्तित्व हुनुहुँदो रहेछ । म उहाँकै नातिनी हुँ । आज म हजुरबासँगै बसौँ भनेर निस्किएको । मैले उहाँलाई भनेँ । त्यहाँ मैले पनि हजुरबाको नाताले निकै सम्मान पाएकी थिएँ । उहाँले मलाई निकै आदरसाथ भित्र हजुरबाको कोठामा लैजानुभयो । मैले झोला बिसाएर प्रणाम गरेँ । हजुरबा पाको पनि भइसक्नु भएको थियो । उहाँका आँखा कमजोर भइसकेका थिए । लगभग चालिस वर्षकै उमेरदेखि चिनी रोग लागेको कुरा मैले सानैमा सुनेकी थिएँ । त्यसैले साँझका बेला मलाई एक्कासी भेट्दा हजुरबाले नचिन्नु स्वाभाविकै थियो ।
मैले हजुरबालाई चिनाएँ । त्यसपछि उहाँ अन्यन्त खुसी हुँदै मेरो पढाइबारे सोध्नुभयो । केही समयअगाडि बुबाले भेट्न आउँदा म पढ्न काठमाडौँ गएको कुरा सुनाउनु भएको रहेछ । उहाँसँग त्यस रात निकैबेर भलाकुसारी गरेँ । नौरथा लागिसकेको थियो । हजुरबाले बिहान पूजा गरेको चन्दन लगाएर आर्शीवाद दिनुभयो । त्यसपछि म इलाम गएँ । बाटाभरि मेरा मनमा हजुरबाकै बारे धेरै कुरा खेले । घरमा गएर हजुरबासँग भेटेको कुरा परिवारसँग गरेँ । उहाँ निकै पाको हुनुभएको कुरा गरेँ । बुवा र काकाबुवाहरुले अब फकाएर घरैमा ल्याएर राख्नुपर्छ भन्ने कुरा चलिरहेको रहेछ । त्यसैले मैले त्यसबारेमा केही बोलिनँ ।
मेरा हजुरबालाई साठी सालकै मङ्सिर महिनामा बुवा र काका बुवाहरुले इलाम लगेर राख्नुभयो । हजुरबाकै रोजाइमा अन्तरे काकाकहाँ उहाँ बस्नुभयो । म ०६३ सालको दशैँमा घर गएँ । इटहरी पुग्दा अघिल्लो साल हजुरबालाई भेट्न गएको मन्दिर पनि सम्झिएँ । अहिले घरैमा हुनुहुन्छ भन्ने लागेपछि आनन्दले फुलेँ ।
२०६३ सालको दशैँ हामी सबैको मूल घरमा भयो । जहाँ हाम्रा ९० वर्षका हजुरबा हुनुहुन्थ्यो । धार्मिक चिन्तक, मधुर बोली, मायालु स्वभावले हजुरबा सबैको श्रद्धेय हुनुहुन्थ्यो । उहाँसँग ज्ञानगुनका कुरा गर्न गाउँभरिका मान्छे आउने गर्थेँ । टीकाको दिन पनि धेरै छिमेकी बुबाआमाहरु हजुरबाको हातबाट टीका थाप्न आउनुभयो । यस पटक हजुरबा चिनीको बिराम र बुढ्यौलीले निकै गलिसक्नु भएको रहेछ । भित्र–बाहिर गर्न पनि निकै मुस्किल पर्ने भएकाले काकाले प्राय: छोड्नुहुन्न रहेछ । हामी गएपछि उहाँ निकै खुसी हुनुभयो । मधुर स्वरले आशीर्वाद दिँदै टीका लगाइदिनुभयो । मोतीबिन्दु भएका कारण उहाँले आँखा देख्नुहुन्न थियो । आँखाको अपे्रसन गरेर लामो समयसम्म आँखा देखे पनि चिनी रोग बढेकाले र बुढो भएका कारण दुवै आँखा ठप्प भएछन् । मलाई हजुरबा देखेर भक्कानिएर रुन मन लाग्यो ।
दशमीका दिन बुबादेखि टीका लगाउने क्रम सुरु भयो । सबैले टीका लगाउँदा हजुरबाको हात फतक्क लगिसकेको हुन्थ्यो । गलेर हात निधारमा मात्र अडिन नसक्दा आफ्ना निधारमा आफैँ लगिदिनु पथ्र्यो । मेरो पालो आयो, मैले पनि उसरी नै हजुरबाको हात समातेर आफ्नो निधारमा राखेँ । टीका लगाइदिनुभयो । मलाई धेरै पढ्ने आशीर्वाद दिनुभयो । छोरीले पनि धेरै पढ्नुपर्छ भन्ने उहाँको मान्यता थियो । सबैलाई टीका लगाइसकेपछि हजुरबा निकै थाक्नु भयो । उहाँलाई आमा र काकीआमाहरुले खाना खुवाउनु भयो । त्यसपछि काकाले ओछ्यानमा लगेर हजुरबालाई सुताउनुभयो । हामी सबैले खायौँ । करिब दुई घन्टापछि हजुरबा बिउँझनु भयो । सबैजनालाई वरिपरि राखेर केही भागवत् गीतासम्बन्धी र केही उपदेश र अरु सन्देश सुनाउनु भयो । त्यसपछि यसपालि सबै भेला भयौँ, भएनौँ । अझै आउन कोही बाँकी छ भने सबैलाई भन्नू । यस्तै कुरा गर्नुभयो ।
उहाँले स्वर कमाउँदै भन्नुभएको थियो : मसँग लगाएको दशैँको अन्तिम टीका यही हो । अब गुनासो नगर्नू । उहाँको कुरा सुन्दा परिवारका सबै सदस्यका आँखामा आँसु देखिएका थिए । नभन्दै हजुरबा त्यसै सालको हिउँदमा स्वर्गवास हुनुभयो । उहाँको छत्रछायामा बाल्यकालमा धेरै बस्न नपाए पनि जेजति समय बसियो, असल व्यक्ति बन्ने सन्देश सधैँ पाइरहियो । आज पनि मेरा हजुरबाका दिव्यवाणीहरुले मलाई असल बाटो हिँड्न प्रेरित गरिरहन्छन् । उहाँको भौतिक शरीर शेष भयो भन्ने अझै लाग्दैन । हरेक दशैँमा म यही तस्बिर हेरेर हजुरबासँग आशीर्वाद लिइरहन्छु । आज पनि हजुरबा हुनुहुन्न भन्दा विश्वासै लाग्दैन ।
गीता सापकोटा
इलाम, नपा ७, महभीर